अबको एक वर्षपछि व्यावसायिकरुपमा संचालन हुने भनिएको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको संचालन मोडालिटी तय हुन सकेको छैन। लामो समयदेखि मोडालिटीकै बारेमा छलफल गरेपनि अहिलेसम्म उक्त विषय छलफलमै सिमित रहेको छ।
२०७६ सालको साउनदेखि व्यावसायिकरुपमै संचालन गर्ने घोषणा गरिसकेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारेमा कात्तिकसम्म निर्णय गरिसक्ने बताएको छ।
नागरिक उड्डयन प्राधिकरणले घुमाउरो तरीकाले आफैले चलाउने प्रस्ताव ल्याएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्री रविन्द्र अधिकारीले निजी क्षेत्रलाई समेटेर संचालन गर्न निर्देशन दिएका छन्।
संचालन मोडालिटीका विभिन्न विकल्पसहित राष्ट्रिय योजना आयोगसँगको परामर्शमा प्राधिकरणका अधिकारीहरुले आफैमात्र विमानस्थल संचालन गर्न योग्य रहेको बताएका थिए।
उनीहरुको उक्त आसय पछि आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनको पुनरावृत्ति नहुने शर्तमा प्राधिकरणले चलाउनसक्ने सुझाव दिएको थियो। मोडालिटीको बारेमा छलफलमात्र गरी अड्काएर अन्ततः आफै चलाउने रणनीतिमा प्राधिकरण लागेपछि मन्त्री अधिकारीले निजी क्षेत्रलाई समेटेर चलाउने मोडालिटी बनाउन निर्देशन दिएको मन्त्रि निकट स्रोतले जानकारी दियो।
प्राधिकरण संचालक समितिको बैठकमै मन्त्रिले पटकपटक आफूले निजी क्षेत्रलाई समेटेर संचालन गर्न भनेपनि त्यसतर्फ तयारी नगरेर आफै चलाउन पाइन्छ कि भनेर नलाग्न उनले चेतावनी दिएको बैठकमा सहभागी अधिकारीले जानकारी दिए।
मन्त्रीको निर्देशन पछि प्राधिकरणले संचालन गर्नका लागि मोडालिटीदेखि जनशक्ती र पूर्वाधारसम्मको अध्ययन गर्न अन्तर्राष्ट्रिय वित्त निगम(आइएफसी)को निशुल्क परामर्श सेवा स्वीकार गर्ने प्रस्ताव मन्त्रालयमा पठाएको छ।
आइएफसीको निशुलक परामर्श लिने सम्बन्धको प्रस्ताव मन्त्रालयमा आएको मन्त्रालयका सचिव कृष्ण देवकोटाले जानकारी दिए। विमानस्थल संचालनमा आवस्यक हुने जनशक्ती, संचालन मोडालिटी भविष्यको आयोजना विस्तारजस्ता विषयमा केकस्तो नीति बनाउने भनेर उसले परामर्श दिने र त्यही आधारमा निर्णय गर्ने उनले बताए।
सरकारी निकायलेमात्र चलाएका विमानस्थल पछिल्लो समय असफल हुँदै गएको र निजी क्षेत्रसहितको संचालन मोडालिटी संसारभर प्रचलित रहेकोले भैरहवाको बारेमा पनि त्यहीअनुसारको निर्णय हुने सचिव देवकोटाले जानकारी दिए।
‘हाम्रो छलफल त्यतै केन्द्रित छ सकेसम्म हामी फाइदा हुनेगरी मोडालिटी तय गर्छौ’ उनले सेतोपाटीसँग भने।
विमानस्थल निर्माणको भोतिक काम सक्ने समयसीमा २०७६ को जेठसम्म रहेको छ। चिनियाँ ठेकेदार कम्पनीले उक्त समयसम्म विमानस्थलको धावनमार्ग, टर्मिनल भवन, पार्किङ र एप्रोन बनाइसक्नुपर्ने छ।
अहिले आयोजनाको धावनमार्गमा अन्तिम पिच गर्ने र टर्मिनल भवनको छाना हाल्ने काममात्र बाँकी रहेको छ। त्यस्तै कन्ट्रोल टावर र अन्य भौतिक काम बाँकी रहेको छ।
प्राधिकरणले गर्नुपर्ने सर्भिलेन्स र कम्यूनिकेशनको काम भने टेन्डर हुनै बाँकी रहेको छ। विमानस्थलको भौतिक कामसँगै ति बाँकी काम पनि सम्पन्न हुने प्राधिकरणका महानिर्देशक संजिव गौतमले जानकारी दिए।