नेपाल सरकारले झापाका मदन खरेललाई नेपाल वायुसेवा निगम संचालक समितिको कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले खरेललाई निगमको कार्यकारी अधिकार प्रयोग गर्नेगरी अध्यक्षमा नियुक्त गरेको छ।
नेपाल वायुसेवा निगम ऐन दफा ४ को ५ मा भएको व्यवस्थाअनुसार खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता गाेकुल बास्काेटाले जानकारी दिए।
‘नेपाल सरकारले चाहेमा समितिको अध्यक्ष, उपाध्यक्ष वा कुनै संचालकलाई यो ऐन बमोजिम महाप्रबन्धकको काम, कर्तव्य समेत सुम्पी कार्यकारी अध्यक्ष, कार्यकारी उपाध्यक्ष वा कार्यकारी सञ्चालकको रूपमा नियुक्त गर्न सक्नेछ । यसरी नियुक्त भएको कार्यकारी अध्यक्ष, कार्यकारी उपाध्यक्ष वा कार्यकारी सञ्चालकको तलव, भत्ता र सेवाका अन्य शर्तहरू नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ।’ ऐनमा लेखिएको छ।
महाप्रबन्धक सुगतरत्न कंसाकार कार्यरत रहेकै अवस्थामा नियुक्त भएका खरेलको काम कर्तव्य र अधिकार सरकारले तोके बमोजिम हुने छ। सबै कार्यकारी अधिकार अध्यक्षमा र प्रशासनिक संचालनको अधिकारमात्र महाप्रबन्धकमा हुनसक्छ।
खरेललाई सरकारले शुक्रबार संचालक समितिको सदस्य नियुक्त गरेको थियो।
यसअघि नेपाल एयरलाइन्सको महाप्रबन्धक पदबाट राजिनामा दिएर बाहिरिएका मदन खरेललाई फेरि संचालन बोर्ड सदस्य हुँदै फेरि कार्यकारी पदमा पुगेका छन्।
यसअघि २०७० जेठ १४ गते चार वर्षका महाप्रबन्धक भएका खरेलले एक वर्षभित्रै राजिनामा दिएका थिए। कर्मचारी युनियनको कारण काम गर्न नसकेको भन्दै उनले राजिनामा दिएका थिए।
दुईवटा एयरबस ए ३२० जहाज र चिनियाँ जहाज ल्याएपछि राजिनामा दिएर बाहिरिएका खरेल फेरि एयरलाइन्सको कार्यकारी पदमा फर्किएपछि द्वैध शक्तीको अभ्यास हुने आशंका गरिएको छ।
अहिले संचालक समितिमा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल रहेका छन्। त्यस्तै बाह्य व्यावसायिक क्षेत्रबाट मुक्तीराम पाण्डे, निमु नुरु शेर्पा र अच्युतराज पहाडी रहेका छन्।