देशभित्र उडान गरिरहेका एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानको अनुमति पाउन सहज भएको छ।
पाँच वर्ष आन्तरिक उडान गरिसकेका एयरलाइन्सले खुला प्रतिस्पर्धामा सहभागी हुन योग्य हुने अहिलेको व्यवस्थालाई परिवर्तन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक एयरलाइन्सलाई विदेश उडान गर्ने अनुमति माग्नसक्ने व्यवस्था गरेको छ।
पाँच वर्ष देशिभित्र उडान गरिरहेका एयरलाइन्सले तोकिएको चुक्ता पुँजी र जहाजको संख्या पु¥याएपछि अन्तर्राष्ट्रिय उडान अनुमति पाउने छन्। अन्तर्राष्ट्रिय हवाई उडान इजाजत सम्बन्धि व्यवस्था गर्न वनेको कार्यविधिले यस्तो व्यवस्था गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए।
जहाज नभएका तर लाइसेन्स झोलामा राखेर बस्ने प्रवृति रोक्नको लागि जहाज भएका र उडानसक्ने कम्पनीलाई लाइसेन्स दिने उद्देश्यले नयाँ कार्याविधि तयार पारिएको पर्यटन मन्त्रालयले जानकारी दिएको थियो।
अन्तर्राष्ट्रिय उडानमा विदेशी एयरलाइन्सको व्यापार हिस्सा बढ्दै गएको तर नेपाली एयरलाइन्सको उपस्थिति कमजोर रहेको छ। यस्तोमा ९० प्रतिशतभन्दा बढी व्यापार विदेशीको रहेको छ। अबको पाँच वर्षभित्र यस्तो व्यापार हिस्सा नेपाली एयरलाइन्सको ६० प्रतिशत पुर्याउने सरकारले लक्ष्य लिएको छ।
यही लक्ष्य पूरा गर्न सक्षम एयरलाइन्सले उडान अनुमति पाउने व्यवस्था गर्न लागिएको मन्त्रालयका सचिव कृष्ण देवकोटाको भनाइ छ।
पुरानो कार्यविधिमा सरकारले अन्तर्राष्ट्रिय उडान अनुमति दिन चाहेको खण्डमा खुला प्रतिस्पर्धाबाट अनुमति दिने व्यवस्था थियो। त्यसमा आन्तरिक उडान गरिरहेका एयरलाइन्स र अन्य कम्पनी सहभागी हुन पाउने व्यवस्था थियो।
नयाँ व्यवस्थाले आन्तरिकमा पाँच वर्ष उडान गरिरहेकाले अन्तर्राष्ट्रिय अनुमतिको लागि आवेदन दिनसक्ने छन्। त्यसमा मन्त्रालयले अध्ययन गरी सक्षम ठहर गरेमा अनुमति दिनसक्ने छ। सक्षमता मापन गर्नका लागि व्यावसायिक योजनादेखि हवाईजहाजको संख्यासम्मका निर्धारित मापदण्ड रहेका छन्।
कार्यविधि स्वीकृत भएसँगै मन्त्रालयले पहिलोपटक २ यात्रु बोक्ने र १ कार्गो एयरलाइन्सका लागि खुला प्रस्ताव आह्वान गर्ने छ। जसमा इच्छुक कम्पनीहरू सहभागी हुने छन्। आएका प्रस्तावलाई मन्त्रालयले गठन गरेको समितिले अध्ययन गरेपछि २ अन्तर्राष्ट्रिय एयरलाइन्स थप हुने छन् भने एउटा कार्गो एयरलाइन्स पनि थप हुने छ। त्यसरी पाएको लाइसेन्सवको अवधि ३ वर्षको हुने छ।
अन्तर्राष्ट्रिय उडानको लाइसेन्स पाउने दुई वटा बाटो हुने छन्। सरकारले खुला प्रतिस्पर्धाबाट दिने र अर्को पाँच वर्ष आन्तरिक उडान गरेपछि स्तरोन्नति हुने छ।
चुक्ता पूँजी बढ्यो, लाइसेन्सको वर्गिकरण
पाँच वर्ष आन्तरिक उडान गरिरहेका एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको लाइसेन्सको लागि आवेदन दिनसक्ने भए पनि त्यस्ता कम्पनीले चुक्ता पूँजी भने बढाउनुपर्ने भएको छ। कार्यविधिअनुसार लाइसेन्सको वर्गअनुसार ५० करोडदेखि १ अर्बसम्म पूँजी जम्मा गर्नुपर्ने छ।
मन्त्रालयका अनुसार ए, बी र सी वर्गको लाइसेन्स हुने छ जसमा क्रमशः १ अर्ब, ७५ करोड र ५० करोड रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने छ। वर्गअनुसार जहाजको उडान तौल र संख्या पनि तोकिएको छ।
मन्त्रालयका अनुसार ए वर्गको लाइसेन्स पाउनको लागि १ लाख २५ हजार टन माथिको टेक अफ वेट भएका ३ वटा जहाज हुनुपर्छ। बी वर्गका लागि ४० हजारदेखि १ लाख २५ हजार टन र सीको लागि ४० हजार टनसम्मको टेक अफ वेटका जहाज हुनुपर्छ।
यो व्यवस्थासँगै अब अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली एयरलाइन्सको संख्या पनि बढ्ने विश्वास गरिएको छ। तत्काल सीता र समिट एयरले यसरी स्तरोन्नति हुन पाउनेछन्।
हाल तीनवटा नेपाली एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्। नेपाल एयरलाइन्स, हिमालय र बुद्ध एयरलेमात्र उडान गरिरहेकाछन्। बीबी एयरवेजको लाइसेन्स भएपनि जहाज उडाएको छैन। निलम्बनमा परेको अल्पाइन एयरले लाइसेन्स नविकरणका लागि मन्त्रालयमा निवेदन दिएको छ।