अर्थमन्त्री डा. युवराज खतिवडाले चाडपर्वको बेला सीमा नाकामा हुने चिनी तस्करी रोक्न निर्देशन दिएका छन्।
सोमबार भैरहवा भन्सार कार्यालयको अनुगमनपछि आयोजित छलफलमा बोल्दै उनले सरकारले चिनी आयात पूर्णरुपमा प्रतिबन्ध लगाए पनि सीमा क्षेत्रमा चिनी तस्करी हुने गरेको बताउँदै त्यसलाई रोक्न भन्सार कार्यालयलाई निर्देशन दिएका हुन्।
नेपाली चिनी उद्योग र उखु किसानलाई प्रोत्साहन गर्न भन्दै सरकारले चिनी आयातमा नियन्त्रण गरेको उनले बताए।
उनले सिमाक्षेत्रका प्रहरी प्रशासन र भन्सार कर्मचारीहरुलाई भारतीय चिनी आयात र तस्करी रोक्ने निर्देशन दिँदै भने –‘अन्तराष्र्टि«य बजारमा चिनी सस्तो छ, सस्तो चिनी खुल्ला सिमानाको कारण कुनै कुनै माध्यमबाट आएको हुनसक्छ त्यसकारण सिमा क्षेत्रबाट हुने चोरी तस्करीप्रति ध्यान दिनुहोला।’
अर्थमन्त्री डा. खतिवडाले भैरहवा क्षेत्रबाट कपडा, खाद्यान्न लगायतका सामानहरु पनि चोरी तस्करी बढी हुने गरेको र त्यसलाई नियन्त्रण गर्न नकसेकोप्रति भन्सार कर्मचारीप्रति आक्रोश पोखे। उनले कुनै बहानामा चोरी तस्करी र राजश्व छली गर्न नहुने बताउँदै त्यसतर्फ मन्त्रालय सचेत रहेको बताए।
‘यो क्षेत्रमा अलि बढी कपडा, ड्राईफुड्स लगायतका सामानहरु भन्सार विन्दु भन्दा अन्य बाटोबाट र अण्डर विलिङबाट आयात भईरहेको भन्ने सुनिन्छ, कम मूल्य देखाएर सामानहरु आयात गर्न दियौँ भने तलका साना खुद्रा व्यापारीले कालोबजारी गरेको आरोपको मारमा पर्छन्’ उनले भने।
अर्थमन्त्री खतिवडाले भन्सार व्यवस्थापनलाई चुस्त, पारदर्शी र विवादरहित राख्न समेत निर्देशन दिए। छलफलमा भैरहवा भन्सार कार्यालय प्रमुख भुपालराज शाक्यले आयातमा केही समस्या देखिएको बताए।
उनले भारतीय पक्षबाट अवरोध हुँदा कुनैकुनै सामान आयात गर्न १०/१२ दिनसम्म लाग्ने गरेको तथा सिमाक्षेत्रमा गाडीहरुको जाम थपिँदै गएको बताए। भन्सार नाकामा सयौं मालवाहक गाडीहरुको जाम हुने गरेको र आफूहरुले भारतीय पक्षसँग छलफल गरिरहेकाले तिहारपछि समस्या हट्ने उनले बताए।
अर्थमन्त्री खतिवडासँगै अनुगमनमा भन्सार विभागका डिजी तोयम रायमाझी सहित राजश्व विभागका महानिर्देशक सहित आएका थिए।