नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ दिनहुँ ‘ग्रिन टी’ पिउँछन्। बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यकक्षमा आफूलाई भेट्न आएका पत्रकारलाई मुस्कुराउँदै उनले ‘ग्रिन टीֹ प्रस्ताव गरे।
उनले संसदको क्यान्टिनबाट ‘ग्रिन टी’ मगाउँदै भने, ‘थाहा पाउनुभो, यहाँ यसको मूल्य आधा घट्यो नि?’
संघीय सांसदहरूले दिनहुँ प्रयोग गर्ने क्यान्टिनमा अधिकांश खानेकुराको मूल्य आधा घटेको छ। क्यान्टिन सञ्चालक परिवर्तनसँगै दाम कम भएको हो। ग्रिन टीको मूल्य पहिले प्रतिकप ४० रुपैयाँ थियो। अहिले २० पर्छ।
त्यस्तै, यसअघि 'ननभेज' खानालाई २ सय ७० रुपैयाँ तिर्दै आएका सांसदहरूले अब १ सय ३० मात्र तिरे पुग्छ। उनीहरूले यति मूल्यमा दुई सय ग्राम खसीको मासु वा माछाको मासुसहितको खाना पाउनेछन्। क्यान्टिनमा खसी/कुखुरा र माछाको मासु आलोपालो पाक्छ।
यसअघि संसदको क्यान्टिन रिजेन्सी ब्यांक्वेटले चलाउँदै आएको थियो। राजधानीमा गनगोर मिठाई पसलसमेत सञ्चालन गर्दै आएका गोपाल जोगाईले संसदको क्यान्टिन चलाउँथे। अहिले अर्याल इन्टरनेसनल नेपालका योगेन्द्र राईले क्यान्टिन चलाउने नयाँ ठेक्का पाएका छन्। उनले चिया र खाजाको मूल्य घटाएर क्यान्टिन चलाउने ठेक्का पाएका हुन्।
यसअघि यहाँ कालो चियाको मूल्य १० रुपैयाँ थियो। नयाँ मूल्य ६ रुपैयाँमा झरेको छ। त्यस्तै, १५ रुपैयाँ पर्ने कालो कफी ८ मै पाइन्छ। दूध चिया र दूध कफीको दाम भने यथावत् छ। संसदको क्यान्टिनमा दूध चिया १५ र दूध कफी २० रुपैयाँ पर्छ।
सुख्खा रोटीको मूल्य पनि कम भएको छ। यसअघि एउटा सुख्खा रोटीलाई १५ रुपैयाँ पर्थ्यो भने अब यही मूल्यमा दुइटा रोटी पाइन्छ।
संघीय संसदका शाखा अधिकृत शिवदत्त बरालले नयाँ ठेकेदार आएसँगै क्यान्टिनमा धेरै खानेकुराको मूल्य घटेको बताए। ‘एक सय ३० रुपैयाँमा मासुसहितको खाना कर्मचारीहरूका लागि ठिकै देखिन्छ,’ बरालले भने।
अघिल्ला सञ्चालक जोगाईमाथि श्रम शोषण गरेर कर्मचारी राखेको आरोप लागेको थियो। क्यान्टिनमा काम गर्ने झन्डै ५० जना कर्मचारीमध्ये आधालाई उनले सात हजार हाराहारी मात्र तलब दिएका थिए। अहिले कर्मचारीको न्यूनतम तलब १३ हजार ४ सय ५० छ।
सांसदहरूले क्यान्टिनमा बस्ने कुर्सी पर्याप्त नभएको, खानाको गुणस्तर कम भएको गुनासो पनि गर्ने गरेका थिए। संसद सचिवालयले खानाको गुणस्तर नियमित अनुगमन गर्ने जनाएको छ।
संसद सचिवालयले खाना र खाजामा ठूलो रकम खर्च गर्दै आएको छ।
आर्थिक वर्ष २०७०/७१ देखि २०७२/७३ सम्मको तीन वर्ष अवधिमा १० करोड ७८ लाख १९ हजार रुपैयाँ खर्च गरेको थियो। ओनसरी घर्तीले सभामुख भएपछि संसदमा खाना खान कुपन प्रणाली हटाएकी थिइन्।
संसदमा कुपनमार्फत् खाजा र खानामा ठूलो रकम खर्च भएको भन्दै उनले उक्त प्रणाली हटाएकी हुन्। एकैदिन ३ हजार ७ सयसम्म कुपन वितरण भएको विवरण उनले सार्वजनिक गरेकी थिइन्।
हेर्नुहोस् यस्तो छ मूल्य सूची