जिल्ला अनुगमन समिति रूपन्देहीले बुटवलको कुरैशी मासु पसलमा सिलवन्दी गरेको छ।
अनुगमनको क्रममा करिब ६ महिनादेखि काटेका खसीबोकाका खुट्टा र टाउका (मासु) डिप फ्रिजमा स्टोरेज गरेर राखेको भेटिएपछि समितिले पसल सिलबन्दी गरेको हो।
बुटवलको नयाँ बसपार्क पछाडि इट्टाभट्टी लाईनको कुरैशी मासु पसलमा अनुगमन गर्दा जिल्ला अनुगमन समितिले सडेको अवस्थामा ३ सय १० केजी टाउका र खुट्टा फेला पारेको हो।
उक्त पसलले सर्वसाधारणसँगै रूपन्देहीका अधिकांश नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीका कार्यालय तथा व्यारेकहरुमा नियमित मासु उपलब्ध गराउँदै आएको छ। उक्त पसलले दैनिक १५ देखि २० वटासम्म खसीबोका काट्दै आएको समितिले जनाएको छ।
जाडो मौसममा बढी माग हुने खुट्टा र टाउकोलाई करिब ६ महिनादेखि नै संकलन गरी बेच्ने तयारीमा राखेको अवस्थामा भेटिएको थियो। मासु पसलमा काम गर्ने कामदार सुत्ने र खाना पकाउने कोठामा खुट्टा र टाउका फ्रिजिङ गरिएको अवस्थामा फेला पारिएको अनुगमन समितिका संयोजक तथा रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए।
पाँच सय लिटरका दुई वटा डीप फ्रिजमा लुकाएर राखेको अवस्थामा अनुगमन समितिले भित्री कोठाबाट उक्त परिमाणको टाउका र खुट्टा बरामद गरेको थियो। बरामद गरिएको मासुलाई डम्पिङ साईडमा लगी खाडल खनेर पुरिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।
पाण्डेले उपभोक्ता हित संरक्षण ऐन अन्तर्गत मासु पसल सञ्चालकलाई कारबाही गरिने बताए। समितिका अनुसार अनुगमनको क्रममा यति ठूलो परिमाणको सडेको मासु फेला परेको यो पहिलो हो।
अनुगमनमा जिल्ला प्रशासन कार्यालयसँगै बाणिज्य कार्यालय, बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल पत्रकार महासंघ रुपन्देही, मासु व्यवसायी संघ रुपन्देही लगायतका प्रतिनिधिको सहभागिता थियो।
मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलले व्यवसायीले उपभोक्तालाई राम्रो र गुणस्तरीय मासु खुवाउनको लागि मासु जाँच ऐन र मासु नियमावली लागू हुन अति आवश्यक रहेको बताए।
बुटवलमा पशु बधशाला निर्माण भएर पनि सञ्चालनमा नआउँदा व्यवसायीलाई सुधार्न नसकिएको उनले बताए। खोलाको किनार, गाउँघर, सडकका गल्ली, चोक, हाटबजार लगायतका क्षेत्रमा छरिएर रहेका व्यवसायीलाई नियन्त्रण गर्न बधशाला सञ्चालन नगरी अनुगमन र कारवाही गरेर मात्र सम्भव नहुने उनले बताए।
‘जबसम्म बधशाला सञ्चालन हुँदैन तबसम्म खोलाको छेउ, गल्ली, हाटबजार जहाँतही खसीबोका काट्न रोकिदैन्,’ उनले भने, ‘अनुगमन विगतमा पनि हुन्थे, कारवाही पनि हुन्थे तर अहिलेसम्म सुधार गर्न सकिएको छैन, अनुगमन टोली फर्किएपछि फेरि व्यवसायीले पुरानै कार्य दोहोर्याउने गरेका छन्।’
पौडेलले मासु निर्देशिका जारी गर्न बुटवल उपमहानगरपालिकालाई पटकपटक आग्रह गरे पनि त्यो जारी गर्न नसकिएको भन्दै तत्काल बधशाला सञ्चालन गर्न नसकिए पनि निर्देशिका जारी गर्न आग्रह गरे।