उद्योग-कलकारखाना, त्यसमा पनि सिमेन्ट उत्पादन गर्ने उद्योग भन्नेबित्तिकै हाम्रो मानसपटलमा एउटा बनिबनाउ चित्र आउँछ- उद्योग वरिपरि धूलो, वायुमण्डलमा धुवाँ, चारैतिर फुस्रा बोटबिरूवा।
मनमा त्यस्तै चित्र बनाउँदै हामी नवलपरासीमा चिनियाँ लगानीमा बनेको आधुनिक होंग्सी शिवम् सिमेन्ट उद्योग पुग्यौं।
करिब ३६ अर्ब लगानीमा खुलेको यो कम्पनीमा पुगेपछि हाम्रो दिमागको नक्सा पूरै उत्रियो। उद्योगको गेटभित्र छिर्नेबित्तिकै यसले कुनै सिमेन्ट फ्याक्ट्री होइन योजनाबद्ध सहरभित्र पसेजस्तो अनुभूति दियो। त्यहाँ धुवाँधूलोको कुनै नामोनिसान थिएन। चारैतिर हरियाली थियो। रूखका पात टलक्क।
७६ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा प्रदुषण न्यून गर्न अधिकतम प्रविधिको प्रयोग गरिएको कम्पनीका प्रबन्ध निर्देशक वेइपेङ लाईले जानकारी दिए।
‘हामीले वर्तमानमा उपलब्ध सबै अत्याधुनिक प्रविधि प्रयोग गरेका छौं’ उनले भने,‘वातावरण प्रदुषण सकेसम्म कम गर्ने हाम्रो नीति नै हो, त्यहीअनुसार यो उद्योगमा धेरै प्रयोग गरेका छौं।’
३६ अर्ब लगानी हुने भनिएको यो उद्योगले ग्रिन बजेट करिब ३ अर्ब रूपैयाँ विनियोजन गरेको लाईले जानकारी दिए। उनका अनुसार वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार प्रदुषण न्यूनीकरणका लागि यो बजेट खर्च गरिनेछ।
चीनको होंग्सी होल्डिङको ७० र नेपालको शिवम् सिमेन्टको ३० प्रतिशत लगानी रहेको होंग्सी शिवम् वैदेशिक लगानीको ठूलो उद्योग हो। दिनमा १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित स्थापना भएको उद्योगले हाल ६ हजार मेट्रिक टनमात्र उत्पादन गरिरहेको छ।
यो उद्योगको एउटा रोचक पक्ष के छ भने यहाँ उत्पादन हुने फोहर(धुलोजन्य) बाट बिजुली उत्पादन गरिरहेको छ। उद्योगले आफूलाई चाहिने बिजुलीको एक तिहाई आफैं उत्पादन गर्ने छ।
‘हामी सम्भावित प्रदुषण हुने ठाउँमा प्रविधिले नियन्त्रण गर्ने प्रयास गरेका छौं, सकेसम्म उद्योगलाई हरियालीमैत्री बनाउने हाम्रो उद्योगको नीति हो’ उनले भने।
पूरा क्षमतामा सञ्चालन हुँदा उद्योगलाई ४० मेगावाट बिजुली चाहिनेछ। जसमध्ये करिब १२ मेगावाट उद्योगले आंफैंले उत्पादन गर्दैछ। हाल उद्योगले ६ मेगावाट उत्पादन गरिरहेको छ।
यस्तो उर्जा उत्पादन गर्न अरू कुनै पनि उर्जा आवश्यक नपर्ने कम्पनीले जनाएको छ। यसले १० हजार टन कोइला खतप घटाउने कम्पनीको दाबी छ। यति कोइला बचत हुँदा २८ हजार टन कार्बनडाइक्साइडको उत्सर्जन कम हुन्छ।
उद्योगले पानीको पुनः प्रयोग गरेर जिरो वाटर वेस्ट हुने बताएको छ।
‘यी सबै प्रयासबाट हामीले ग्रिनरी फ्याक्ट्रीको अवधारणालाई यहाँ प्रयोग गर्न खोजेका छौं’ कम्पनीका प्रबन्ध निर्देशक लाईले भने,‘यसबाट अरू नेपाली उद्योगले पनि सिक्न सक्छन्।’
सरकारले पूरा गरेन वाचा
सन् २०१५ मा वैदेशिक लगानी स्वीकृत भएको यो उद्योग स्थापनाको काम सकिइसक्यो। तर उद्योग स्थापनाका लागि सरकारले गरिदिनुपर्ने भौतिक पूर्वाधरको काम भने अझै सकिएको छैन।
उत्पादन सुरू भैसक्दा पनि सरकारले बनाइदिने भनेका आधारभूत पूर्वाधार नबन्दा उद्योगलाई अतिरिक्त लागत भार थपिएको छ।
उद्योगले अहिलेसम्म बिजुली पाएको छैन। प्रसारण लाइन नबन्दा उद्योगले आफैं उत्पादन गरेको ६ मेगावाट र डिजेल प्लान्टबाट बिजुली आपूर्ति गरिरहेको छ।
दैनिक ६ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्न २० मेगावाट बिजुली चाहिने उद्योगका सहायक प्रबन्ध निर्देशक गौरव गोयलले जानकारी दिए।
डिजेल प्लान्ट लगाउँदा उत्पादन लागत बढेको उनको भनाइ छ।
सरकारले २४ महिनामै प्रसारण लाइन बनाइदिने वाचा गरेको थियो। २७ महिना बितिसक्दा पनि प्रसारण लाइन बनेको छैन।
‘अहिलेकै गतिमा काम भए अझै आठ महिना लाग्ने अवस्था छ’ उनले भने।
नेपालमा वैदेशिक लगानीको नमूना उद्योग स्थापना भएको र अरूलाई पनि आकर्षित गर्न सरकार न्यूनतम पूर्वाधार समयमै निर्माण गरिदिनु पर्ने गोयलको भनाइ छ।
सरकारले चुनढुंगा खानी र उद्योगसम्मको पहुँच मार्ग बनाउन पनि ढिला गरेको छ। अहिले कम्पनी आफैंले कच्ची बाटो बनाएको भए पनि पक्की बाटो बनाइदिनु पर्ने सरकारी दायित्व ओझेलमा परेको छ।
‘हामीले आफ्नै बजेटबाट उद्योगसम्मको १२ किलोमिटर यहाँबाट खानीसम्मको २८ किलोमिटर ट्रयाक खोलेका छौं’ गोयलले भने,‘लागत घटाउनको लागि चाहिने स्मुथ रोड पहुँच आवश्यक पर्छ।’
पूर्वपश्चिम राजमार्गको नवलपरासीको दुम्कीबासबाट उद्योगसम्म १२ पुग्न १२ किलोमिटरको दूरी पार गर्नुपर्छ।
उद्योगदेखि खानी रहेको पाल्पाको भुकेटसम्म सुरूङ बनाएर कन्भेयर बेल्टबाट चुन ल्याउने तयारी गरेको छ। २८ किलोटिरको उक्त दूरीमा कन्भेयर राखी वरिपरिबाट छोपेर उद्योगसम्म ल्याउने कम्पनीको योजना रहेको छ।
ठूलो उद्योग खुल्यो तर उपभोक्ताले के फाइदा?
होंग्सी शिवम् सिमेन्ट बजारमा जान थालिसकेको छ। एकैपटक ठूलोमात्र उत्पादन गर्ने उक्त उद्योगको उत्पादन बजारमा जाँदासमेत उपभोक्ताले भने राहत पाउन सकेका छैनन्।
सामन्यतया एकैपटक एकैठाउँबाट धेरै उत्पादन हुँदा उत्पादन लागत कम हुने र त्यसको लाभ उपभोक्ताले कम मूल्यमा वस्तु पाउँछन् भन्ने मान्यता रहेको छ।
तर शिवमले नेपालकै ठूलो क्षमतामा सञ्चालन हुँदा पनि बजार मूल्य भने फरक परेको छैन।
किन?
कम्पनीका प्रबन्ध निर्देशक लाईले अहिले पनि डिजेल उर्जामा भर पर्नु परेको, अविच्छिन्न यातायातको व्यवस्था नहुँदा पनि लागत झनै थपिएको जस्ता कारणबाट तत्काल बजार भाउमा फरक नपरेको बताउँछन्।
भविष्यमा भने लागतअनुसार मूल्य तलमाथि हुने उनको भनाइ छ।