हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार आउन अब एक सातामात्रै बाँकी छ । तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याई छ ।
बोलाछें, ठीमि, ब्यासी, पोटरी स्क्वायरलगातका स्थानमा तिहारको लागि आवश्यक पर्ने माटाका भाँडा बनाइँदै गरेको देख्न सकिन्छ ।
तिहार सुरू भएसँगै काठमाडौं उपत्यकामा माटोको सामानको लागि प्रख्यात भक्तपुरको पोट्री स्क्वाएरका कुमालेहरुलाई भ्याई नभ्याई हुन थालेको छ।
पालाको ब्यापार तिहारमा अत्याधिक हुने र तिहारपछि अत्यन्त न्यून हुने भएकोले पोट्री स्क्वाएरका प्राय सबै कुमालेहरु भाडा बनाउनै व्यस्त छन्।
एक जनाले राम्रोसँग काम गर्यो भने दिनमा १ हजार वटा पाला बनाउन सक्ने एक कुमालेले सेतोपाटीलाई बताए।
तिहारमा मात्र एकजनाले राम्रोसँग पाला बनाएर बेच्नेले ५०–६० हजार सम्म कमाउने गरेको ब्यवसायीहरुको अनुभव छ। तिहारमा पाला मात्र नभई कलश, धुपौरो आदि पनि राम्रै बिक्री हुने गरेको छ।
साधारणतया पाला ४ प्रकारको हुन्छ। सबैभन्दा सानो पालाको १ सय वटाको २ सय रुपैंया पर्छ। त्यस्तै त्योभन्दा ठूलाको प्रतिगोटा क्रमश १०, १५ र २० रुपैयाँ पर्दछ।
त्यस्तै कतिपयले आगोमा नपोलेको पाला लैजाने गरेको र त्यसको ३ वटाको ५ रुपैयाँ पर्छ। उनीहरुले काचो पालालाई चोखो मान्ने ब्यवसायी बताउँछन्।
पाला बनाउन झ्याउ हुने र पैसा कम आउने भएकोले धेरै कुमालेहरुले पाला भन्दा अरु चिज बनाउन तर्फ लागिसकेका छन्।
माटोको भाडो बनाउन झन्झटीलो हुने भएकोले पछिल्ला पुस्ताले बिस्तारै यो पेसा छोड्दै गएको बिगत ५४ वर्षदेखि माटोको भाडा बनाउदै आएका ७४ बर्षीय गणेश भक्त प्रजापती बताउँछन्।
‘गर्दिनँ भन्नेलाई कर लगाउन मिलेन, यस्तै पारा हुने हो भने हाम्रो पुख्र्यौली पेसा नै लोप हुन्छ’ उनले भने।
माटोको भाडा बनाउन अहिले प्रबिधिको सहयोगले अहिले धेरै सहज भएको गणेश भक्तको अनुभव छ।
‘पहिले–पहिले हामीले सुरुमा माटोलाई खुट्टाले फुटाउथ्यौ अहिले त्यसको लागि मेसिन प्रयोग गर्छौ त्यसपछि भाडा बनाउन चक्र हातले घुमाउन पथ्र्यो अहिले मोटर प्रयोग गर्छौ र अन्तिममा सामान्य तरिकाले पोल्थ्यौ अहिले त्यसको लागि पनि आधुनिक भट्टी प्रयोग गर्छौ’उनले भने।
सबै चिज सहज भए पनि यो पेसामा भविष्य नदेखेर युवाहरुले अन्य काम गरेकोमा भने गणेशभक्त चिन्तित छन्।
व्यवसायीहरुका अनुसार तिहारको समयमा माटोको पालाको माग अत्याधिक हुने गरेको छ ।
दिपावलीको अवसरमा मैन बाल्ने प्रचलन व्यापक भए पनि विगतका केहि वर्ष यता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रममा बढेको छ ।
सुरक्षाको दृष्टीकोणले समेत पाला उक्तम मानिने गरिन्छ आगलागी नहुने भएकाले माग बढेको जानकारहरु बताउँछन्।
तिहारका लागि माटोको पाला, भिउँटे, ठेकी, धुपौरो लगायतका माटोका सामाग्रीहरको माग उच्च हुने गरेको छ ।
माटाको भाँडा बनाउन व्यस्त भक्तपुरका व्यवसायीको व्यस्ततालाई सेतोपाटीका लागि नारायण महर्जनले आफ्नो क्यामेरामा यसरी कैद गरेका छन्ः