आन्तरिक उडानमा जहाज थप्ने योजना बनाएको नेपाल एयरलाइन्सको योजना तत्कालका लागि रोकिएको छ। जहाज किन्नको लागि पाँच अर्ब रुपैयाँ सरकारको तर्फबाट इक्वीटी लगानी गर्न माग गरेको एयरलाइन्सलाई अर्थतन्त्रालयले अस्वीकार गरिदिएपछि उक्त योजना बीचमै रोकिएको हो।
६ वटा चिनियाँ जहाज फुल पूर्ण क्षमतामा चलाउन नसकेको तर उल्टै फेरि नयाँ छ वटा जहाज किन्नलाई बजेट माग गरेपछि अर्थमन्त्रीले नेपाल एयरलाइन्सको उक्त प्रस्ताव अस्वीकृत गरिदिएका छन्।
त्यस्तै अन्तर्राष्ट्रिय उडानका लागि थप २ न्यारोबडी र नेपालकै सुगममा उडान गर्न एटिआर वा बम्बार्डियरका जहाज किन्ने योजना अघि सारेको एयरलाइन्सले सरकारसँग थप स्रोतका लागि आग्रह गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमार्फत् अर्थमन्त्री समक्ष लिइएको उक्त प्रस्तावमा अर्थमन्त्रीले तत्काल बजेटको व्यवस्था गर्न नसकिने जवाफ दिएको पर्यटन मन्त्रालय सम्बद्ध स्रोतले जानकारी दियो।
बजेट आइसकेको अवस्थामा बीचमा त्यत्रो रकमको जोहो गर्न नसकिने पछि कतैबाट बचेपछि दिन सकिने जवाफ अर्थमन्त्री डा युवराज खतिवडाले दिएका थिए।
पछि दिने भएपछि अहिले सैद्धान्तिक सहमति दिन अनुरोध गरिएपनि अर्थमन्त्रीले जहिले बजेट उपलब्ध हुन्छ त्यतिबेलै सहमति दिउला भनेर नेपाल एयरलाइन्सका लागि नयाँ जहाज किन्ने ढोका बन्द भएको हो।
यो पनि पढ्नुस् :
चीनबाट ल्याएका जहाजले उडान गर्न नसकेपछि सरकारी स्वामित्वको एयरलाइन्सले दुर्गम क्षेत्रमा उडान गर्न भन्दै क्यानेडियन कम्पनी भाइकिङ एयरले बनाएका ट्विनअटर जहाज खरिद गर्ने व्यावसायिक योजना बनाइसकेको छ।
अर्थमन्त्रीले अस्वीकृत गरेसँगै तत्काल नयाँ जहाज किन्ने योजना रोकिएको नेपाल एयरलाइन्सका अधिकारीहरुको भनाइ छ।
दुर्गममै उडान गर्ने प्रायोजनका लागि वाइ १२ सिरिजका ४ र सुगम क्षेत्रमा उडान गर्न एमए १६ सिरिजका २ विमान चीनबाट एयरलाइन्सले ल्याइसकेको छ।
तर तोकिएको क्षमतामा उडान गर्ननसक्ने, पाइलट अभाव र पार्टसको अभावले नियमित उडानै नसकी आन्तरिक उडानमा बिलाएको एयरलाइन्स ट्विनअटर ल्याएर आन्तरिक उडानमा आक्रमक हुने योजनामा रहेको थियो। चीनबाट ल्याएका जहाज भाडामा दिएर नयाँ जहाज ल्याउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी पनि सहमत भइसकेका छन्।
यसअघि सन् १९७१ मै पहिलोपटक ट्विनअटर विमान ल्याएको एयरलाइन्सले नेपालका प्राय सबै दुर्गम क्षेत्रमा उडान गरेको थियो। हाल पनि तीनवटा ट्विनअटर भएको एयरलाइन्सले २ वटामात्र उडाइरहेको छ।