पाल्पा छहरा ४ रैनादेवीकी लक्ष्मी रायमाझीलाई पछिल्लो तीन दिनयता फूल विक्री गर्न भ्याइनभ्याइ छ।
वर्षैभरि तरकारी विक्री गर्ने लक्ष्मीले तिहारको पाँच दिन तरकारीसँगै फूल समेत विक्री गर्दै आएकी छन्।
बुटवल ट्राफिक चोकमा सडकपेटीमा सयपत्री र बुकी फूलका मूठा कस्दै गरेकी लक्ष्मीले यसवर्ष ७० देखि ८० हजारसम्मको फूल विक्री गर्ने योजना बनाएको बताइन्।
पाल्पादेखि बुटवलमा दैनिकरूपमा तरकारी ल्याएर विक्री गर्न थालेको ४/५ वर्ष भए पनि तिहारको लागि फूलमाला भने गत वर्षदेखि विक्री गर्न थालेको उनले बताइन्।
आफ्नो बारीको कान्ला, ढिकामा लगाएको फूलसँगै छिमेकी किसानहरूले लगाएको फूल खरिद गरेर बुटवलसम्म ल्याइ विक्री गर्न लक्ष्मीलाई श्रीमान् रामबहादुर रायमाझीले सघाउँदै आएका छन्।
‘पोहोर पहिलो पटक तरकारीसँगै फूलमाला विक्री गरेको पाँच दिनमा ३५ हजार जति नाफा भयो अहिले पनि त्यति नै नाफा होला भन्ने सोचेका छौं,’ उनले भनिन् ।
सयपत्री फूलसँगै तिहारको लागि चाहिने चिउरीको पात, विमिरो, ओखर लगायत वस्तु किनबेच गर्नेहरूको अहिले बजारका चोक, सडकपेटी तथा गल्लीहरूमा भीड लाग्ने गरेको छ ।
किसानसँग २० रुपैयाँमा खरिद गरेको फूल, चिउरीको पात र विमिरो बुटवलसम्म आइपुग्दा ४० देखि ५० रुपैयाँसम्ममा विक्री हुने गरेको छ। तिहारमा दाजुभाइलाई टीका लगाइदिएपछि सयपत्रीको माला लगाइदिने र चिउरीको पात गाँसेर बनाएको टपरीमा विभिन्न परिकारहरू राखेर दिने प्रचलन रहेको छ।
लक्ष्मीपूजाको लागि पनि सयपत्रीसँग बुकी फूलको मागसमेत अत्यधिक हुने गरेको छ। विगतका वर्षहरूमा बजारमा उत्पादित प्लाष्टिकका फुल र मालाको बढी मात्रामा प्रयोग हुने गरेकोमा पछिल्ला वर्षहरूमा किसानहरू व्यवसायिक फूलखेतीमा लाग्न थालेपछि फूलको प्रयोग बढेको छ ।
यसक्षेत्रका पाल्पा, गुल्मी, अर्घाखाँची लगायतका जिल्लाहरूको हावापानी फूलखेतीको लागि उपयुक्त मानिने भएकोले हरेक वर्ष फुल उत्पादन बढ्दै जान थालेको छ ।
तर पनि रुपन्देहीमा वर्षेनी करोडौं मूल्यको सयपत्री फूलको माला भारतबाट आयात गर्ने गरिएको छ। नेपालमा उत्पादित फूल ताजा हुने भए पनि भारतीय फूलको माला खदिलो हुने माला खरिद गर्दै गरेकी दिपनगरकी सिता रानाले बताईन् ।
रुपन्देहीमा लामो समयदेखि पुष्प व्यवसाय सञ्चालन गर्दै आएका रमेश पाण्डेले जिल्लामा उत्पादन हुने सयपत्री लगायत अन्य फूलहरूले यहाँको माग धान्न सक्ने अवस्था नभएकोले भारतबाट ल्याउनुर्ने बाध्यता रहेको बताउँछन्।
यस वर्ष तिहार पर्व केही ढिलो भएकोले नेपाली फूलको उत्पादन पनि राम्रो भएको रामबहादुर रायमाझीले बताए।
‘अघिल्लो वर्ष कात्तिक सुरू हुने बित्तिकै तिहार परेकोले गाउँघरमा फूल फुलेका थिएनन् अहिले ढिलो तिहार परेकोले फूलको उत्पादनसँगै व्यापारीहरू पनि बढेका छन्,’ उनले भने ।