ऋणको दायित्व बढेको भन्दै नेपाल एयरलाइन्सले सरकारसँग थप पुँजी माग गरेको छ।
पछिल्लो समय थप गरिएका वाइडबडीका कारण ऋण भार थपिएको र त्योसँगै तिर्नुपर्ने ब्याज दायित्वले दैनिक संचालनको लागि रकम अभाव हुने भन्दै सरकारसँग पुँजी माग गरेको हो।
कूल ४८ अर्ब सम्पत्ति भएको संस्थाको लागि ३९ अर्ब ऋणको भार धेरै ठूलो नभए पनि रकम अभाव हुने भन्दै सरकारसँग २० अर्ब रुपैयाँ पुँजी माग गरिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए।
नेपाल एयरलाइन्ससँग दीर्घकालीन प्रकृतिको ऋण ३७ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। जसको संस्थाले वर्षेनि ३ अर्ब ६६ करोड ब्याज तिर्नुपर्ने छ। त्यस्तै १ अर्ब ८० करोड रुपैयाँ बराबरको छोटो अवधिको ऋण छ। जसको १८ करोड वार्षिक ब्याज तिर्नुपर्छ।
पछिल्लो समय वाइडबडी जहाज किन्दा लिएको २४ अर्ब ऋणले निगमको भार ह्वात्तै बढाएको अध्यक्ष खरेलको भनाइ छ। संस्थाको क्षमतामा सुधार नभई एकैपटक ठूलो व्यापार आउँदा त्यसले तरलतामै प्रभावित पारेकोले सरकारसँग तत्काल केही रकमको आश गरिएको जानकारी दिए।
‘हामीले माग गरेको २० अर्ब रुपैयाँ एकैपटक आउछ भन्ने पनि होइन तत्काल केही रकम पाएपछि हामी त्यसलाई पुँजी वृद्धि गरेर संस्थाको क्षमता वृद्धिमा प्रयोग गर्छौं,’ अध्यक्ष भएपछि संस्थाको अवस्थाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खरेलले भने।
दुइटा एयरबस ए ३२० सिरिजका जहाज, एउटा बोइङ र २ वटा एयरबस ए३३० जहाज भएको एयरलाइन्सले अहिले आठवटा गन्तव्यमा उडान गरिरहेको छ। न्यारोबडी जहाजबाटै सन्तोषजनक व्यापार गर्न नसकिरहेको एयरलाइन्सले वाइडबडी जहाज ल्याएपछि त्यसले झनै संचालन नोक्सानी नै बढाएको छ। यसले गर्दा संस्थाको वित्तीय जोखिम बढ्दै गएको छ।
बजारीकरणको अभाव, चुस्त व्यवस्थाको कमी जस्ता कारणले संस्थाले राम्रो उपस्थिति जनाउन सकेको छैन।
एक तिहाइ क्षमतामा उड्दै वाइडबडी जहाज
लामो दूरीमा उडान भर्ने भनेर ल्याइएका वाइडबडी जहाजले ती गन्तव्यमा उडान अनुमति नपाउँदा अहिले पुरानै छोटा दूरीमा उडिरहेका छन्। वार्षिक २४ अर्ब ऋण लिएर किनिएका ति जहाजको वार्षिक ब्याज मात्र साढे २ अर्ब रहेको छ।
ऋण र ब्याजको भार बोक्दै भित्रिएका जहाज भने अहिले एक तिहाइ क्षमतामा उडिरहेका छन्। दैनिक १६ घण्टासम्म उड्नुपर्ने जहाज अहिले औसत ५ घण्टा उडान गरिरहेका छन्। पहिलो जहाज असारमा आएको थियो भने दोस्रो जहाज साउनमा आएको थियो।
ती जहाज हाल दिनमा ५ घण्टा उडान गरिरहेका छन् भने औसत अकुपेन्सी ६१ प्रतिशत रहेको छ। अर्थात् कूल सिटमध्ये ती जहाजले जम्मा ६१ प्रतिशत सिटमात्र भरिएका छन्। छोटो दूरीमा सस्तो भाडा र थोरै यात्रु अर्कोतिर ठूलो ऋण र ब्याजको भार चौतर्फी वित्तीय बोझमा एयरलाइन्स परिरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरिरहेका कतिपय विदेशी एयरलाइन्सले यही छोटो रुटमा तिनै ठूला जहाज उडाएर पर्याप्त यात्रु बोकिरहेका छन् तर नेपाल एयरलाइन्स भने लामो दूरी पाइएन भनेर बाहाना बनाएर बसिरहेको छ।
अध्यक्ष खरेल भने अबको चार महिनामा जापान, कोरिया र चीनका सहरमा वाइडबडी जहाजबाट उडान सुरू गरिसक्ने बताउँछन्।
‘त्यसपछि हामी अहिलेको आर्थिक संकटलाई केही व्यवस्थापन गर्न सक्छौं तर त्यसमा पनि सुरूमा जानेवित्तिकै जादु हुन्छ भन्ने होइन’ उनले भने।
खरेलले त्यसो भनिरहँदा कोरिया र जापानले युरोपियन युनियनको कालोसूचीलाई बहना बनाएर उडान अनुमति दिन आलटाल गरिरहेका छन्।
खरेल अघि नेपाल एयरलाइन्सको नेतृत्व गरेका संस्थाका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने ब्याज र ऋणबाट आत्तिएर व्यापार नहुने बताएका छन्।
‘ब्याज तिर्नु पर्ने कुरा त ऋण लिँदा नै थाहा थियो नि? ऋण लिइसकेपछि ओहो त्यत्रो ब्याज भन्न पाइन्छ?’ वाइडबडी जहाज खरिदको नेतृत्व गरेका उनले सेतोपाटीसँग भने।
ल्याउनेवित्तकै एयरबस ए३३० लाई पूर्ण क्षमतामा चलाउन नसकिएको स्वीकार गर्दै उनले पाइलट अभावको कारण त्यसो भएको बताए।
‘भर्दौसम्म ए३३० का लागि क्याप्टेन थिए जवकी चाहिने १३÷१४ जना हो, त्यसैले भएको गन्तब्यमा पूर्ण उपयोग गर्न सकिएन’ उनले भने।
यसअघि ए३२० ल्याउँदा पनि सुरुका केही महिना ३÷४ घण्टामात्र उडेको बताउँदै यो अवस्थाबाट आत्तिन नहुने उनको भनाइ छ।
अहिले भएकै गन्तव्यमा पूर्ण क्षमतामा चलाउँदै जाँदा नगद प्रवाह राम्रो हुने र त्यसमा सरकारले थप बजेट दिएमा राहत मिल्ने उनको भनाइ छ।
‘अहिले भएकै गन्तब्यहरुमा उडान संख्या बढाउँदै लगे पनि नगद प्रवाह राम्रै हुन्छ र ब्याज तिर्नमा समस्या हुन्दैन, यो हरेसको मानसिकता कायम राख्यो भने त निगम कहिल्यै उभो लाग्दैन’ उनले भने।