पोखरा आउने पर्यटकले थप मनोरञ्जन पाउने भएका छन्।
बेलुन नेपाल प्रालिले पोखरामा ‘हट एयर’ बेलुनमा उडेर पोखरा, फेवाताल र हिमालका मनोरम दृश्यावलोकन गर्न पाइने व्यवस्था मिलाएको छ।
शनिबारदेखि प्रालिले बेलुनमा उडेर मनोरञ्जन लिन पाउने गरी सञ्चालनमा ल्याएको बेलुन नेपाल प्रालिका प्रबन्ध निदेशक प्रविण महर्जनले जानकारी दिए।
उनले दुइटा बेलुनबाट सेवा सुरू गर्ने बताए। एउटा बेलुनमा आठ जनाले उडान भर्न सक्नेछन्। कास्कीको धम्पुस र पोखरा महानगरपालिका २३ बाम्दीबाट उडान गर्ने उनले जानकारी दिए।
धम्पुसबाट उडेको बेलुन मर्दी खोला किनारमा अवतरण गर्ने छ । उडानका लागि प्रालिले स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग बेलुन खरिद गरिसकेको छ । बेलुनका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ भने उडान सुरक्षित बनाउन भारतबाट तालिम प्राप्त बेलुन पाइटल आएको उनले बताए ।
प्रालिले नेपाली पर्यटकलाई प्रतिव्यक्ति ११ हजार तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १६० अमेरिकी डलर शुल्क लिने बताएको छ ।
बेलुनमा चढेर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । उद्घाटनपछि गुरुङले गण्डकी प्रदेशले २० लाख पर्यटक भित्र्याउन लक्ष्यका साथ अगाडि बढेको भन्दै नयाँ/ नयाँ थपिने क्रियाकलापले पोखराको प्रचार प्रसार गर्न टेवा पुग्ने बताए।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिरणबाट इजाजत लिइसकेको मर्हजनले बताए । उनले निकष्ट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बन्जी जम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य साहसिक कार्यक्रम गर्दै जाने बताए । १ करोड ५० लाखको लागतमा सुरू भएको बेलुनसँग २५ जनाले रोजगारी पाएका छन् ।