पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर १३ गतेदेखि २४ गते सम्म सफल पोखरा एक्स्पो तथा तेस्रो मोबाइल मेला पोखरामा सुरू हुँदैछ।
पोखराबाटै सुरू भएको मेला र महोत्सव अहिले बजारीकरणको सहज माध्यम समेत बन्दै आएको छ।
२०४२ सालबाट सुरू भएको औद्योगिक व्यापार मेलालाई परिष्कृत गर्दै पोखरा उद्योग वाणिज्य संघले एक्स्पोमा रुपान्तरण गरेको हो।
‘मेला र महोत्सव गर्नेहरू बढेका छन्। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने–‘उत्पादन भएका साम्रगी उपभोक्तासम्म पुर्याउन एक्स्पो सफल हुनेछन्।’
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा एक सातापछि सुरू हुने महोत्सवमा राखिने ३ सय स्टलमध्ये अधिकांश बुकिङ भइसकेको अधिकारीले जानकारी दिए।
संघले प्रत्येक गेट टिकटबाट एक रुपैयाँ विगतमा झैं बालश्रम न्यूनीकरण कार्यक्रमको लागि छुट्टाइने छ।
६० लाख खर्च र ९० लाख आम्दानी गरी ३० लाख रुपैयाँ बचत गर्ने लक्ष्य राख्दै संघले लिएको उनले बताए।
बचत रकमबाट प्रदर्शनी केन्द्रको भौतिक निर्माण तथा विभिन्न सामाजिक एवं व्यवसायिक उत्थानको क्षेत्रमा खर्च गरिने उनको भनाइ छ।
एक्स्पोलाई थप आकर्षण गर्न लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त ब्याण्डहरूको सांगीतिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, प्रवेश टिकटमा दैनिक रूपमा पुरस्कारको व्यवस्था, बम्बर पुरस्कार, उत्कृष्ट स्टललाई पुरस्कार, चमेना गृहको व्यवस्था, बालउद्यान तथा साथमा स्थापित हाँस्य कलाकारहरूद्वारा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएका पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए।
पोखरा एक्स्पोले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषदसँगको सहकार्यमा होम स्टेलाई प्रवर्द्धन गरिने छ। त्यसको लागि स्टललाई छुट्टाएर राखिने छ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी, हस्तकलाका सामाग्री, अटो प्रदर्शनी, महिलाहरुका उत्पादनलाई विशेष प्राथमिकतामा राखिने छ । मेलामा विभिन्न ब्राण्डका मोवाईल पनि विशेष छुटका साथ उपलब्ध गराउने प्रतिबद्धता समेत गर्ने पोख्रेलले जानकारी दिए।