मलेसियाको क्वालालम्पुरबाट काठमाडौं उडान गर्दै आएको एयर एसिया एक्सले उडान सेवा बन्द गरिसकेको छ। एयरलाइन्सले उडान बन्द गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने विमानस्थल सेवा शुल्क समयमै नतिर्दा लागेको जरीवाना भने तिरेको छैन।
समयमै शुल्क नबुझाउँदा १३ करोड रुपैयाँ जरीवानाको भारी बोकेको एयरलाइन्सले विमानस्थलका कर्मचारीहरुसँगको मिलेमतोमा ७ करोड रुपैयाँ थप ठगी गरेको खुल्न आएको छ।
एयर एसियाको नेपालस्थित जनरल सेल्स एजेन्ट (जिएसए) मार्फत् सबै शुल्क तिरिसेको थियो। उसले त्यसको जरिवाना भने तिरेको थिएन। एयरलाइन्सले कुटनीतिक माध्यमबाट जरिवाना छुट गरिदिन आग्रह पनि गरेको थियो।
जरीवाना छुटको माग गर्दै गर्दा उसले तिर्नुपर्ने शुल्क नै पुरा नतिरेको पाइएको छ।
एयरलाइन्सले तिरेको भनी दाबी गरेको ७ करोड रुपैयाँ नतिरेको पाइएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
१० वटा चेक गायब
एयरलाइन्सले तिरेको भनी दाबी गरेको सही पनि देखिन्छ। यहाँ एयरलाइन्सले तिर्ने त्यसको कागजी खातामा तिरेको देखिने, तर बैंकको खातामा नदेखिएपछि यस सम्बन्धमा प्राधिकरणले छानबिन गरिरहेको छ।
नेपालस्थित जिएसएको जिम्मा पाएको इन्सेन्टिस ट्राभलको बदमासीका कारण राज्यले ७ करोड रूपैयाँ गुमाएको हो।
यसमा बक्यौता तिर्दा खेरी इन्सेन्टिभले बैंकमा चेक जम्मा गरेर विमानस्थल कार्यालयमा भौचर बुझाएको पाइन्छ। जसमा कार्यालयलाई पैसा प्राप्त भएको भनि देखाइयो। तर, ती १२ वटा चेक बाउन्स (खातामा पैसा नहुँदा जम्मा नभएको) भएको प्राधिकरणको उच्च नेतृत्वले पायो।
विमानस्थल कार्यालयको खाता रहेको प्रभु बैंकले यसरी १२ वटा चेक लगातार बाउन्स हुँदा कुनै पनि जानकारी नगराएको र यस बारेमा बैंकमा बुझ्न जाँदा जसको चेक हो उसैलाई मात्र जानकारी गराएर चेक फिर्ता गर्ने गरेको जवाफ पाएको प्राधिकरणको भनाइ छ।
त्यसरी १२ वटा चेक बाउन्स भएपछि उक्त ट्राभलले नयाँ जुक्ति लगायो।
विमानस्थलका कर्मचारीसँग मिल्ने चेक गायब बनाउने। यसमा ट्राभलका प्रतिनिधिले विमानस्थल कार्यालयमा चेक दिने र उक्त रकम पाइसेको खातामा उल्लेख गर्ने तर चेक बैंकमा जम्मा नगर्ने। यस्ता चेकको संख्या १० वटा रहेको प्राधिकरण उच्च स्रोतको भनाइ छ।
खातामा पैसा नभए पनि उनीहरुले कर्मचारीसँगको मिलेमतोमा यस्तो हर्कत गरेको हुनसक्ने अधिकारीहरुको आशंका रहेको छ।
यो घटना करिब एक वर्ष अघिको हो, जतिबेला विमानस्थल प्रमुख देवानन्द उपाध्याय थिए। चेक हराएको, बाउन्स भएको यी सबै जानकारी प्राधिकरणले त्यतिबेला थाहा पायो जतिबेला एयरलाइन्स नेपालबाट बाहिरिदै थियो।
कर्मचारीमाथि छानविन, जिएसए विरुद्ध प्रहरीमा मुद्दा
चेक गायब पार्नमा सघाउ पुर्याउने विमानस्थलका कर्मचारीमाथि छानबिन गरिरहेको प्राधिकरणले जानकारी दिएको छ। यसरी हराएका चेक साटिएका छैनन्।
पैसा नदिने नियतले त्यसरी मिलेमतोमा गायब गरिएको हुनसक्ने निष्कर्षमा प्राधिकरण नेतृत्व पुगेको छ। ‘उनीहरुले ट्राभलसँगको मिलेमतोमा त्यसरी गायब मात्र गराएका हुन सक्छन् त्यसबाट उनीहरुले अरु नै फाइदा लिए कि?’ स्रोतले भन्यो,‘तर उनीहरुले राज्यलाई ठगी गर्न सघाउ पुर्याएका भने पक्का हुन्।’
‘त्यसमा संलग्न सामन्य कर्मचारीदेखि नेतृत्वसम्मको पहिचानको कम हुँदैछ केही समयमै यसको नतिजा आउँछ,’प्राधिकरण उच्च स्रोतले सेतोपाटी भन्यो।
त्यस्तै इन्सेटिभ ट्राभल र त्यसका सञ्चालक हरिमान लामा विरुद्ध प्राधिकरणले बैंकिङ कसुरमा उजुरी दिएको छ। चेक बाउन्स गराएको र प्राधिकरणलाई ठगी गरेको अरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा प्राधिकरणले उजुरी दिएको छ।
लामालाई प्रहरीले अहिलेसम्म पक्राउ भने गर्न सकेको छैन।