रुपन्देही तथा छिमेकी जिल्लाहरूमा पछिल्लो समय ठूला घरानाका उद्योगहरू सञ्चालन हुने क्रम बढिरहेको छ।
२०३२ सालमा बुटवल औद्योगिक क्षेत्रको स्थापनासँगै मझौला उद्योगहरू स्थापना गर्ने क्रम बढे पनि ०५७ सालदेखि ठूला उद्योगहरु स्थापना गर्न सुरू भएको देखिन्छ।
जिल्लामा अहिले सञ्चालन भइरहेका दर्जनौं ठूला उद्योगहरूको लगानी खर्बौमा पुगेको छ।
साना तथा मझौला उद्योगहरू जिल्लाका सबै क्षेत्रमा स्थापना भए पनि ठूला उद्योगहरू भने भैरहवा–लुम्बिनी क्षेत्र र भैरहवा–परासी क्षेत्रमा केन्द्रित भएका छन्।
०७० साल अघिसम्म भैरहवा–लुम्बिनी कोरिडोर र भैरहवा–बुटवल सडक खण्डको दाँयाबाँया उद्योग स्थापनाका लागि आकर्षक मानिन्थ्यो। तर, भैरहवा–बुटवल छेउछाउमा उद्योग खोल्न पर्याप्त जमिन नहुँदा र भैरहवा–लुम्बिनी खण्डमा नयाँ उद्योग सञ्चालनका लागि सरकारले स्वीकृति नदिँदा भैरहवा–परासी क्षेत्र उद्योगीको मुख्य रोजाइमा परेको छ।
सडक र लुम्बिनीको नजिकै रहेका उद्योगबाट निस्किने धूलोधूँवा तथा रसायनका कारण लुम्बिनीमा प्रदूषण बढ्दै गएपछि भैरहवा–लुम्बिनी क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न सरकारले रोक लगाएको छ। जसको विकल्पमा उद्योगीहरू भैरहवा–परासी खण्डमा केन्द्रित भएका छन्।
केही वर्ष अघिसम्म हुलाकी सडकमार्गको रूपमा चिनिने भैरहवा–परासी खण्ड भैरहवा–परासी कोरिडोरको नामले चिनिन थालेको छ। यो क्षेत्रमा करोडदेखि अर्बौं लगानीका उद्योगहरू सञ्चालनमा आइसकेका छन्।
आधा दर्जन बढी ठूला उद्योगहरू सञ्चालन गरेको सिद्धार्थ ग्रुपले यो कोरिडोरमा चार अर्बभन्दा बढी लगानीमा श्री स्टिल्स् उद्योग सञ्चालनमा ल्याएको छ।
ग्रुपका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले उद्योगले अहिले परीक्षण उत्पादन गरिरहेको र अब केही समयमै व्यवसायिक उत्पादन गर्ने बताए।
कोरिडोरमा स्टिल, मैदा, चामल, कार्पेट, डनलप, ह्विस्की, बियर, सफ्ट ड्रिंक, चाउचाउ, चामल, जुत्ता–चप्पल, ग्यास, पेट्रोलियम पदार्थ, दाना, अटो, प्लास्टिक, सनमाइका, पाइप, एंगलपत्ती ब्लक, कंक्रिट, रेडिमिक्स लगायतका दर्जनौं उद्योगहरू सञ्चालनमा छन्। अझै दर्जनौं उद्योगहरू खुल्ने क्रममा छन्।
यता, भैरहवा–लुम्बिनी क्षेत्रमा पछिल्लो समय उद्योग स्थापना गर्न सरकारले रोक लगाए पनि २५ वटा भन्दा बढी ठूला उद्योग सञ्चालनमा रहेका छन्।
यो क्षेत्रमा पहिलो पटक स्थापना भएको त्रिवेणी डिष्ट्रिलरी हाल बन्द छ। त्रिवेणीपछि २०५७ सालमा जगदम्बा सिमेन्टले आफ्नो उत्पादन सुरू गरेपछि भैरहवा लुम्बिनी क्षेत्रमा उद्योग स्थापनाको क्रम बढेको देखिन्छ।
अहिले यही क्षेत्रमा मात्रै ११ वटा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन्। त्यसैगरी स्टिल, प्लाइउड, चाउचाउ, पेपर, फ्लावर लगायतका ठूला उद्योगमा खर्बौको लगानी भएको छ।
यहाँ स्थापित उद्योगहरूले २ अर्बदेखि ८ अर्बसम्म लगानी गरेका छन्। पछिल्लो समय स्थापना भएको अर्घाखाँची सिमेन्टले मात्र हालसम्म ८ अर्ब भन्दामाथि लगानी गरिसकेको जनाएको छ।
त्यसैगरी, अम्बे र गोयन्का स्टिल्सले ५/५ अर्बभन्दा माथि लगानी गरेका छन्। वर्षौदेखि सञ्चालनमा रहेका उद्योगहरूले पनि प्लाण्ट र लगानी बढाउँदै लगेका छन्।
भैरहवा–बुटवल खण्डको पडसरी क्षेत्रमा पनि अर्बभन्दा माथि लगानीका दर्जन बढी ठूला उद्योगहरू सञ्चालनमा छन्।
औद्योगिकमैत्री वातावरणले उद्योग व्यवसाय फस्टाउँदै गएको स्वयं उद्योगीहरू बताउँछन्।
नेपाल उद्योग परिसंघका प्रदेश ५ का संयोजक एजाज आलम नाकाबन्दीको समयमा देशका अरू नाकाहरू बन्द हुँदा समेत रुपन्देहीको बेलहिया नाका सुचारु भएको कारण यो क्षेत्र उद्योग सञ्चालनको लागि सुरक्षित देखिएको बताउँछन्।
‘विभिन्न समयमा भएका आन्दोलन तथा मधेश आन्दोलनमा समेत यहाँका उद्योगहरूमा खासै प्रभाव देखिएन,’ उनले भने, ‘त्योसँगै रुपन्देही नेपालको मध्यभागमा परेको र यहाँ उत्पादित वस्तुहरू पूर्व र पश्चिम क्षेत्रमा पठाउन समेत सहज छ।’
यस्तै यो क्षेत्रमा भारतीय सीमानाका बेलहिया समेत यही रहेकोले कच्चा पदार्थ भित्र्याउन तथा भारतीय कामदार ल्याउन समेत सहज हुने जगदम्बा सिमेन्टका महाप्रबन्धक विदुर ढुंगाना बताउँछन्।
उनले मधेश आन्दोलनका कारण प्रदेश १ र २ का उद्योगहरू धरासायी बन्न थालेपछि त्यताका ठूला उद्योगहरू समेत रुपन्देही र नवलपरासीतर्फ आउने क्रम बढेको बताए।
‘विभिन्न समयका घटनाक्रमले यो क्षेत्र अरू क्षेत्रभन्दा सुरक्षित देखिएको छ,’ उनले भने।
सरकारले स्थापना गरेको विशेष आर्थिक क्षेत्र ‘सेज’ र स्थापना भइरहेको मोतिपुर औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि यो क्षेत्र प्रदेश ५ को मात्र नभई देशकै प्रमुख औद्योगिक क्षेत्रको रूपमा स्थापित हुने विश्वास गर्न सकिन्छ।
रुपन्देहीमा ठूला मात्र नभई साना तथा मझौला उद्योगहरूको संख्या पनि धेरै रहेका छन्। घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका अनुसार यहाँ १२ हजार उद्योग दर्ता भएका छन् भने २० अर्ब बढी लगानी रहेको छ।