शुक्रबार परेको वर्षाको कारण पाँच करोड गोटा काँचो इँट्टा नष्ट भएको छ।
शुक्रबार दिउँसो र राति परेको वर्षाको कारण रुपन्देहीका इँट्टा उद्योगीले ठूलो क्षति व्यहोर्नु परेको छ।
लुम्बिनी इँट्टा उद्योग व्यवसायी संघका अनुसार वर्षातका कारण जिल्लाका सबै उद्योगमा गरी २० करोड रुपैयाँ बराबरको ५ करोड गोटा इँट्टा गलेर नष्ट भएका हुन्। रुपन्देहीमा ५० वटा इँट्टा उद्योग सञ्चालित छन्।
वर्षाले गर्दा प्रत्येक इँट्टा उद्योगमा कम्तीमा १० लाखको हाराहारीमा काँचो इँट्टा नष्ट गरेको व्यवसायीको भनाइ छ। एउटा काँचो इँट्टा बनाउन कम्तीमा ४ रुपैयाँ खर्च लाग्ने उद्योगी गोविन्द ज्ञवालीले जानकारी दिए।
खुला आकाशमुनि गरिने व्यवसाय भएकाले इँट्टा उद्योगको बीमा गर्न बीमा कम्पनीहरू तयार नहुने ज्ञवालीले बताए।
काँचो इँट्टा तयार भएपछि केही समय सुकाउन खुला आकाशमा राख्नुपर्ने हुन्छ। त्यस्तै, ठूलो क्षेत्रमा गर्नुपर्ने व्यवसाय भएकोले ढाकछोप गर्न समेत समस्या हुने गरेको ज्ञवालीले बताए।
विशेषगरी कात्तिकदेखि जेठसम्म काँचो इँट्टा बनाउने सिजन हुने भएकोले हिउँदयाममा पर्ने वर्षाका कारण हरेक वर्ष इँट्टा उद्योगीले क्षति व्यहोर्दै आएका छन्।
उद्योगीहरूले आफूहरूले पनि कर तिरेकाले सरकारले अन्य उद्योगको जस्तै बीमा गर्ने व्यवस्था गरे प्रत्येक वर्ष करोडौंको क्षति हुनबाट रोक्न सकिने बताउँछन्। जसले गर्दा उपभोक्ता समेत महँगीको मारमा नपर्ने लुम्बिनी इँट्टा उद्योग व्यवसायी संघका महासचिव अजयकुमार गुप्ता बताउँछन्।
इँट्टा व्यवसाय सिजनेबल व्यवसाय हो। वर्षातको ६ महिना ठप्प हुन्छ। पुस र माघ इँट्टा उत्पादन गर्ने मुख्य महिना हुन्। तर, प्रत्येक वर्ष यी महिनामै पानी पर्दा व्यवसायी मर्कामा पर्दै आएका छन्।
जिल्लाका उद्योगहरूबाट वर्षमा १५ करोड गोटा इँट्टा उत्पादन हुँदै आएको छ। यीमध्ये १२ करोड इँट्टा खपत हुँदै आएको छ भने प्रत्येक उद्योगमा ४ देखि १० करोडका दरले लगानी रहेको छ। यहाँ उत्पादित इँट्टा रुपन्देही जिल्लासँगै स्याङ्जा, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, कास्की, काठमाडौं लगायतका जिल्लाहरूमा निर्यात हुँदै आएको छ।