पूर्ण सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले केही महिनाअघि किनेका एयरबसका ए३३० जहाजले लामो दूरीमा उडान गर्न पाएका छैनन्।
जापान, कोरिया तथा साउदी अरबमा उडान गर्नेगरी ल्याइएका जहाजले ६ महिना बित्दा पनि ती गन्तव्यका लागि उडान अनुमति नै पाउन सकेका छैनन।
जहाज नआउँदासम्म जहाज नभई उडान अनुमति नपाएको तर्क गर्ने निगम अधिकारीहरू पछिल्लो समय सम्बन्धित मुलुकले अनुमति दिन आनाकानी गरिरहेको बताउँदै आएका छन्।
साउन दोस्रो वाइड बडी जहाज आएलगत्तै नेपाल एयरलाइन्सका महाप्रबन्धकले कोरिया तथा जापान उडानका लागि गृहकार्य सुरू भएको र दशैंलगत्तै उडान हुने बताएका थिए।
दशैं सकियो, तिहार सकियो। हिउँद सकिन लाग्दा निगमका जहाज कोरिया उड्ने च्याप्टर बन्द भइसक्यो।
कोरियाले निगमलाई उडान अनुमति दिन नचाहेर काम रोकिएको भने होइन। सर्वसाधरणलाई कोरियाले अनुमति दिन नचाहेको जस्तो भन्ने प्रभावमात्र पारियो। खास कारण थियो-सेफ्टी अडिट।
कुनै पनि देशको उडान अनुमतिदेखि सम्बन्धित एयरलाइन्सको आन्तरिक सञ्चालन म्यानुअलसम्म विश्वव्यापी हवाइ सुरक्षा मापदण्डअनुसार छन् कि छैनन् भनी गरिने यस्तो अडिटबाट नेपाली पक्ष डराएकाले कोरिया उडानको च्याप्टर बन्द भएको नागरिक उड्डयन प्राधिकरणका अधिकारीको भनाइ छ।
नेपाल एयरलाइन्सले कोरिया उडान गर्ने भन्दै अनुमतिका लागि आवेदन दिएपछि त्यहाँको नागरिक उड्डयन संस्थाले नेपाल सरकारमार्फत् प्राधिकरण र नेपाल निगमलाई पत्राचार गरेको थियो।
उसले नेपालको उडान अनुमति व्यवस्था, हवाइ सुरक्षाको अवस्था, एयरलाइन्स सञ्चालनको म्यानुअलजस्ता विषयमा विस्तृत अडिट गर्न चाहेको कुरा पत्रमार्फत् प्रष्ट पारेको थियो।
पछि नेपाली पक्षले तत्काल अडिटका लागि नेपाल नआउन पत्र पठायो। नेपाल एयरलाइन्सको सेफ्टी अवस्था नाजुक भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले अडिट टोलीलाई रोकेको हो।
कुनै पनि एयरलाइन्सले नयाँ गन्तव्यमा उडान गर्नुपहिले यस्तो अडिट गरिन्छ। नेपाल आउने नयाँ एयरलाइन्सको पनि प्राधिकरणले सम्बन्धित देशको हवाइ सुरक्षा तथा एयरलाइन्सको अडिट गर्छ।
कोरियाले पनि यही गर्न खोजेको थियो। जुनमा नेपाली पक्ष हच्कियो।
कोरियालाई हवाइ सुरक्षामा संसारकै उत्कृष्ट मानिन्छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको हवाइ सुरक्षा सूचकमा कोरियाको ९९ प्रतिशत अंक छ। त्यही सूचकमा नेपालको अंक ६७ प्रतिशत छ।
तत्काल निगमको अडिट भए नेपालको हवाइ उड्डयनलाई कोरियाले ‘वाच लिस्ट’मा राख्न सक्ने डरका कारण रोकिएको प्राधिकरणका अधिकारीहरू बताउँछन्।
‘त्यतिबेलाको समय यस्तो थियो कि हामीले गरेको अडिटमा पनि नेपाल एयरलाइन्स पास भएको थिएन’ प्राधिकरणका एक अधिकारीले भने,‘सुधार गर्न गरिएका सिफारिसहरू लागू गर्दै गएपछि बोलाउने गरी हामीले त्यतिबेला रोकेका थियौं।’
कोरिया प्रयास असफल भएपछि नेपाल एयरलाइन्सको ध्यान जापानतिर गयो। उडान अनुमति पाउन सबै प्रक्रिया पूरा गरेपछि जापानको नागरिक उड्डयन संस्थाले फेरि अडिट गर्न चाहेको पत्र पठायो।
जापानले पहिलो चरणमा निगमको सेफ्टीबारे विभिन्न प्रश्न सोध्दै प्राधिकरणलाई पत्र पठाएको थियो। सो पत्रको जवाफ प्राधिकरणले शुक्रबार पठाइसकेको छ।
नेपालले पठाएको जवाफबाट जापान सन्तुष्ट भएन भने ऊ फेरि नेपाल आएर अडिट गर्न सक्छ।
सकभर नेपालले पठाएको जवाफकै आधारमा जापान सन्तुष्ट हुने प्राधिकरणका अधिकारी ढुक्क छन्। तर जापानलाई भर लागेन र नेपाल आयो भने उसले खोज्ने सुरक्षा जाँच सूचक पूरा गर्न निगमलाई कठिन हुनेछ।
किन?
‘नेपाल एयरलाइन्सले आन्तरिक उडान पनि गर्छ, उसका चिनियाँ जहाज उड्न नसकेर थन्किएका छन्। उनीहरूले जहाज बिग्रेपछि मर्मत हुन लाग्ने समयको समेत हिसाब गर्छन्,’ प्राधिकरणका एक अधिकारीले भने,‘यस्तो अवस्थामा सकभर हाम्रो लिखित जवाफबाट उनीहरू सन्तुष्ट नहोलान्।’
जापान सन्तुष्ट भएर निगमले उडान अनुमति पायो भने कोरियाका लागि पनि बाटो खुल्ला हुने अधिकारीहरुको विश्वास छ।
सेफ्टी अडिटमा निगमलाई यति डर किन?
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आफूहरू अडिटमा नडराएको दाबी गरे।
‘हामी सेफ्टी अडिटका लागि सदैव तयार छौं, विश्वस्तरीय उड्डयन सेफ्टी मेन्टेन गरिरहेकै छौं,’ उनले सेतोपाटीसँग भने।
लामो सयमदेखि युरोपियन युनियनले नेपाली आकाशलाई कालोसूचीमा रोखेको छ। यही कारणले गर्दा कुनै पनि देशका उड्डयन नियामकले नेपाली एयरलाइन्सलाई सहजै अनुमति दिन मान्दैनन्।
युरोपले नेपालको उड्डयन सुरक्षाको अवस्था कमजोर भएको, दुर्घटना दर उच्च रहेको र नियमनसम्बन्धी व्यवस्था कमजोर भएको भन्दै नेपाललाई सुधारका लागि पत्र पठाइसकेको छ।
एकातिर युरोपियन युनियनको कालोसूची, अर्कोतिर अडिट गर्न डराउने नेपाल एयरलाइन्सको अवस्थाले वाइड बडी लामो दुरीमा उड्नै कठिन हुने अवस्था आएको छ।
लामो दूरीमा उड्न नपाएकाले एयरलाइन्सले ऋणको किस्तासमेत तिर्न नसक्ने भन्दै सरकारसँग गुहार मागिसकेको छ।