पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटक ह्वात्तै बढेका छन्। सन् २०१८ को तथ्यांकअनुसार १ लाख ५३ हजार चिनियाँ पर्यटक नेपाल आएका छन्। यो संख्या नेपाल आउने पर्यटकमा भारतपछिको दोस्रो हो।
उत्तरी छिमेकी चीनसँगको एकमात्र नाका चालु हालतमा रहेकोले नेपाल आउने धेरै चिनियाँ पर्यटक हवाइ मार्ग प्रयोग गर्छन्।
काठमाडौंबाट चीनका ल्हासा, छेन्दु, कुनमिङ र ग्वान्जाओमा सिधा उडान सेवा छ। काठमाडौंदेखि यी शहरमा सातामा ४८ देखि ५५ वटा उडान हुन्छन्। ती उडान गर्नेमा नेपाली एयरलाइन्स कम्पनी एउटा पनि छैन। सबै उडान चिनियाँ एयरलाइन्स कम्पनीहरू तिब्बत एयरलाइन्स, चाइना इस्ट्रर्न, सिचुवान एयरलाइन्स, चाइना साउदर्न र एयर चाइनाले गर्दै आएका छन्।
नेपाल र चीनबीच हवाइ सम्झौता धेरै पहिला नै भएको थियो। उक्त सम्झौताअनुसार नेपाली एयरलाइन्सले चीनका बेइजिङ, साङघाई, ल्हासा, ग्वान्जाओ, कुनमिङ, छेन्दु र जियानमा सिधा उडान गर्न पाउँछन्। तर अहिलेसम्म सरकारी स्वामित्वमा रहेको नेपाल वायु सेवा निगमसहित कुनै पनि नेपाली एयरलाइन्सले चीन उडान गर्न पाएका छैनन्। चीनले सुरूमा नेपाल एयरलाइन्सलाई बेइजिङ उडानका लागि ‘स्लट’ छैन भनेर टारेको थियो। पछि उसले अन्य सहरमा पनि त्यही तर्क देखायो।
पछिल्लो समय तिब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानी रहेको हिमालय एयरलाइन्सलाई चीनले काठमाडौंबाट सिधा उडान अनुमति दिने अपेक्षा गरिएको थियो।
तर चार वर्षअघि स्थापना भएको हिमालयले अहिलेसम्म चीनमा चार्टर्ड उडान अनुमतिमात्र पाएको छ।
उडानमा चिनियाँ एयरलाइन्सको एकाधिकार भएकाले एकातिर नेपालदेखि चीन जाने यात्रुले महंगो भाडा तिर्नु परेको छ भने अर्कातिर नेपाली एयरलाइन्सले ठूलो बजार उपयोग गर्न पाएका छैनन्। बाहिर घुम्न जानेमा संसारभरि नै चिनियाँ पर्यटक बढी हुन्छन्।
अधिकारीहरूले आगामी सेप्टेम्बरपछि भने अहिले अवस्थामा सुधार हुने बताएका छन्।
सेप्टेम्बरमा बेइजिङको नयाँ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ। अहिलेको बेइजिङ क्यापिटल विमानस्थल साँघुरो भएकाले नेपाली एयरलाइन्सलाई ‘स्लट’ नदिएको चीनले नयाँ विमानस्थल बनेपछि ‘स्लट’ दिने वचन दिएको छ।
नयाँ विमानस्थल चल्न थालेसँगै काठमाडौं-बेइजिङ सिधा उडान गर्न हिमालय एयरलाइन्सले विभिन्न तहमा तयारी थालेको छ।
‘हाम्रो त लक्ष्य नै हो कि बेइजिङ उड्ने त्यसका लागि हामीले सबै तयारी पूरा गरिरहेका छौं। केवल हामी अनुमतिको पर्खाइमा छौं’ हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले सेतोपाटीसँग भने।
चीनका विभन्न सहरमा उडान अनुमतिका लागि आवेदन दिएको हिमालयको चिनियाँ नागरिक उड्डयन संस्थाले सेफ्टी अडिट पनि गरिसकेको छ।
उक्त अडिटबाट चिनियाँ पक्ष सन्तुष्ट भएको श्रेष्ठले जानकारी दिए।
चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल पनि नयाँ विमानस्थल बनेसँगै नेपाली एयरलाइन्सले बेइजिङ उडान भर्न पाउने सम्भावना रहेको बताए।
‘कुराकानी भइरहेको छ। हिमालय एयरलाइन्सले बेइजिङ उडान गर्ने सम्भावना छ,’ सेतोपाटीसँग कुरा गर्दै राजदूत पौडेलले भने, ‘तर नेपाल एयरलाइन्सले अहिलेसम्म आवेदन नै दिएका छैनन्। उनीहरूको बेइजिङ उडान गर्ने योजना नै छैनजस्तो छ।’
६ महिनाअघि दुइटा वाइड बडी भित्र्याएको नेपाल एयरलाइन्सका अधिकारीहरूले भने तत्काल बेइजिङ उडानको कुनै योजना नै नभएको बताएका छन्।
‘हामी अहिले ग्वान्जाओ उडानको तयारीमा छौं। सम्भवत: वैशाखसम्म उडान सुरू हुन्छ होला, त्यसपछि सांघाई उडाउने अध्ययन भइरहेको छ। तत्काल बेइजिङको कुनै योजना छैन,’ एयरलाइन्सका सहायक प्रवक्ता नवराज कोइरालाले भने।
चीनले हालको बेइजिङ क्यापिटल विमानस्थलबाट ६७ किलोमिटरको दुरीमा डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल बनाइरहेको छ।
सन् २०१४मा सुरू भएको यसको निर्माण पहिलो चरण यही अक्टोबरमा सकिने बताइएको छ।
११.६ अर्ब अमेरिकी डलर लागतमा बन्ने यो विमानस्थलले सन् २०२१ सम्म वार्षिक ४ करोड ५० लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता राख्ने छ।
बेइजिङ क्यापिटल विमानस्थल गएको वर्ष नै साँघुरो भइसकेको चीनको नागगरिक उड्डयन प्रशासनले घोषण गरेको थियो। अहिलेको क्यापिटल विमानस्थलले अघिल्लो वर्ष १० करोड यात्रुलाई सेवा दिएको थियो।
नयाँ बन्ने विमानस्थलले सन् २०२५ सम्म ७ करोड यात्रुलाई वार्षिक सेवा दिने छ भने दीर्घकालिन रुपमा १० करोड यात्रु धान्नसक्ने क्षमता राख्ने छ। अर्थात् चीनको राजधानी सहरमा वार्षिक २० करोड यात्रु क्षमताका अन्तर्राष्ट्रिय विमानस्थल हुने छन्।