उद्योगीले पाउने सुविधाका बारेमा विशेष आर्थिक क्षेत्र (सेज) ऐन र आर्थिक ऐनबीच मेल नखाँदा भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) मा सञ्चालन गर्न खोजिएको पहिलो उद्योग नै समस्यामा परेको छ।
उद्योग सञ्चालनका लागि आयात गरिएको मेशिन तथा उपकरणमा सेज ऐनले उल्लेख गरे अनुरूपको सुविधा नपाएपछि शक्ति मिनिरल्स प्रालि समस्यामा परेको हो।
सेजमा उपलब्ध हुनुपर्ने विद्युतको विषयलाई लिएर लगानीकर्ता र विशेष आर्थिक क्षेत्र विकास समितिबीच अविश्वास भएको बेला उद्योग सञ्चालनका लागि सेजसँग शक्ति मिनिरल्सले पहिलो पटक सम्झौता गरी गत असारमा उद्योगको शिलान्यास गरेको थियो।
सेजमा सञ्चालन हुने उद्योगका लागि विशेष आर्थिक क्षेत्र ऐन र विनियमावलीले दिएको सुविधा नपाउँदा समस्यामा परेको शक्ति मिनिरल्स प्रालिका नायव महाप्रबन्धक लक्ष्मण ठकुरीले बताए।
उनका अनुसार सेजमा स्थापना हुने उद्योगका लागि आवश्यक मेशिन तथा उपकरण आयात गर्दा भन्सार छुटको सुविधा रहेको सेजले उल्लेख गरेको छ। तर यो सुविधा आर्थिक ऐनमा नरहेको भन्दै भैरहवा भन्सारले आयातित मेशिन तथा उपकरण सुविधामा छाडेको छैन।
भैरहवा भन्सार कार्यालयले यसका लागि अर्थ मन्त्रालय वा भन्सार विभागबाट पत्र आउनु पर्ने बताएको छ। अर्थ मन्त्रालयले पनि आफ्नो आर्थिक ऐनमा यस्तो व्यवस्था नभएको भन्दै भन्सार छुटको सिफारिस दिन तयार छैन।
आर्थिक ऐनमा व्यवस्था नभएको भन्दै अर्थ मन्त्रालयले भन्सार छुट नदिएपछि आयातित मेशिन तथा उपकरणको भन्सार कार्यालयमा धरौटी राखेर छुटाइएको छ । यस वापत सवा १ करोडभन्दा धेरै रकम धरौटी वापत भन्सार कार्यालयमै फसेको र कहिलेसम्म धरौटी रकम फिर्ता आउने हो ? भन्ने बारेमा अन्यौल भएको ठकुरीले बताए।
विशेष आर्थिक क्षेत्रका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले विशेष आर्थिक ऐन २०७३ केही दिन अघिमात्रै संशोधनसहित पारित भएकाले यस खालका समस्या अब समाधान हुने दाबी गरे।
बैंक ग्यारेन्टीमा भन्सार महशुल छुट दिने प्रावधान ऐनमा रहेको तर मेशिनरी उपकरणको बैंक ग्यारेन्टीको फुकुवा गर्ने बारेमा अझै स्पष्टता नभएकाले शक्ति मिनिरल्सको धरौटी वापतको रकम बैंकहरूमा केही प्रकृयागत जटिलता देखा परेको उनले बताए। आयातित उपकरण उद्योगमा जडान भइ उत्पादन सुरू गरेको प्रमाणित गरेपछि भन्सारले फुकुवा गर्ने उनले बताए।
करिब २५ करोड रुपैयाँको लागतमा हाल परीक्षण उत्पादन सुरू गरेको प्रालि स्वदेशको चुनढुंगालाई प्रशोधन गरी फ्ल्याक्स र डोलोमाइड उत्पादन गरी भारत निर्यात गर्ने नेपालको पहिलो उद्योग हो।
यसको प्रयोग रंग बनाउनमा र स्टील लगायतका धातु चम्काउनमा प्रयोग हुने गर्छ । यसको बजार भारतमा निकै राम्रो रहेको लगानीकर्ता बताउँछन्।