गत वर्ष झन्डै १२ लाख विदेशी नेपाल घुम्न आए। पर्यटक आगमनमा अघिल्लो वर्षको तुलनाभन्दा यो संख्या २५ प्रतिशतले बढी हो।
यो वृद्धिदर संसारकै उच्चमध्येको हो। अर्को वर्ष ‘भिजिट नेपाल इयर’ मनाउन लागेको नेपालका लागि यो वृद्धिदर उत्साहजनक हो। तर वृद्धि भएका यी पर्यटकले नेपालमा गर्ने खर्च भने उत्साहजनक रूपमा बढेको छैन।
नेपालमा २०७२ को भुइँचालोअघि पर्यटक आगमन वृद्धिदर उकालो-ओह्रालो भइरहन्थ्यो। ०७२ पछि भने त्यो क्रम निरन्तर उकालो लागिरहेको छ।
सन् २०१९ को पहिलो दुई महिनामै नेपाल आउने विदेशीको संख्या २४ प्रतिशतले बढेको छ।
यसरी पर्यटक बढी आउने स्रोत मुलुकहरूमा चीन र भारत छन्। गत वर्ष चीनबाट आउने पर्यटक ४७ प्रतिशतले बढेका थिए भने भारतबाट २५ प्रतिशत बढी पर्यटक आएका थिए।
संख्याका हिसाबले नेपालमा पर्यटक आउने दुई शीर्ष मुलुक भारत र चीन नै हुन्।
नेपाल पर्यटकको संख्यामा जसरी वृद्धि भइरहेको छ त्यसैगरी उनीहरूले गर्ने खर्चमा भने बढेको छैन बरू त्यो वृद्धिदर घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्ला ३ वर्षमा पर्यटक आम्दानी वृद्धिदरमा कमी आइरहेको छ। अघिल्लो वर्ष ४० प्रतिशतले बढेको आय गत वर्ष १४ प्रतिशतले मात्र बढेको छ। यो वर्षको आठ महिनामा यस्तो आय ९ प्रतिशतले मात्र बढेको छ। गत वर्षको आठ महिनामा यस्तो आय २० प्रतिशतले बढेको थियो।
विश्वव्यापी रूपमा ‘ट्राभल कस्ट’ कम हुँदै गएकाले पनि आयको वृद्धिदर पहिलेजस्तै बढ्न नसक्नु एउटा कारण हो। तर पर्यटक आगमन र आयको खाडल अस्वभाविक नै देखिएपछि सम्बन्धित निकायले यसमा चासो देखाएका छन्।
नेपाल पर्यटन बोर्ड र व्यवसायीले यसबारे गम्भीर भएर छलफल गरिरहेको बताएका छन्। पर्यटक आम्दानी कम हुँदै जाँदा तुलनात्मक लाभ लनि नसिकएको बारे सरोकारावालाहरूसँग छलफल भइरहेको पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीले बताए।
छिमेकी मुलुकबाट आउनेहरूले आफ्नै देशमा भुक्तानी गरेर नेपालमा सेवा लिने प्रवृत्ति बढेका आयदर अपेक्षित बढ्न नसकेको पाइएको छ।
विशेषगरी उत्तरी छिमेक चीनबाट नेपाल आउने पर्यटकले त्यहाँको डिजिटल भुक्तानी टुलको प्रयोग गरी नेपालमा सेवा लिने गरेका छन्।
ठमेल, बसन्तपुर तथा पोखराजस्ता पर्यटकीय क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट, गेष्टहाउस, ट्राभल एजेन्सीजस्ता ठाउँमा वीच्याट र अलिपेबाट भुक्तानी लिने गरेका छन्। यसरी भुक्तानी गर्दा नेपालमा कारोबार देखिँदैन।
यसरी भुक्तानी स्वीकार गरिन्छ भनेर बसन्तुपरको एउटा रेष्टुरेन्टले बोर्ड नै राखेको थियो।
यसबाट पर्यटकलाई नगद बोक्ने झन्झट त हुँदैन तर व्यवसायीलाई नेपालमा कमाएको पैसा सरकारलाई थाहा नदिई विदेशमा लिन पाइन्छ।
चिनियाँ लगानीकर्ताले खोलेका संस्थाहरूमा यस्तो प्रवृत्ति बढिरहेको नेपाली व्यवसायीले बताउँदै आएका छन्।
‘हाम्रो व्यवसाय पनि तिनीहरूसँगै जोडिएको हुन्छ। हामीले भन्न त मिल्दैन तर यो प्रवृत्ति अलिक पहिलादेखि नै बढेको छ,’ एक पर्यटन व्यवसायीले भने।
उनकाअनुसार यसरी भएको भुक्तानी चीनबाट नेपाल सामान ल्याउँदा खर्च गरिन्छ, चिनियाँ व्यवसायीले त बिना कुनै प्रक्रिया नेपालमा कमाएको पैसा आफ्नो देश लिन पाउँछन्।
कानूनतः नेपालमा कुनै पनि भुक्तानी सेवा सञ्चालन गर्न अनुमति लिनुपर्छ। इन्टरनेटको माध्यमबाट कसैले भुक्तनी गर्न चाहे नेपाल राष्ट्र बैंकबाट अनुमति लिनुपर्छ।
वीच्याट र अलिपेले भने नेपालमा अनुमति लिएका छैनन्।
अनुमति नलिई वैदेशिक मुद्राको समेत भुक्तानी सेवा दिइरहेका अलिपे वीच्याट नेपाली उपभोक्तामाझ पनि लोकप्रीय बन्दै गएको छ। कतिपयले चीनबाट अनलाइन किनमेल गर्न वीच्याटबाटै भुक्तानी गर्दै आएका छन्।
नेपालमा यस्तो भुक्तानी सेवालाई नियमन गर्ने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी कारोबारबारे थाहा भए पनि भुक्तानी सम्बन्धी ऐन कार्यान्वय नहुँदा कडा कारबाहीमा उत्रन कठिन भएको बताउँछन्।
‘हामीसँग पहिले कानूनी व्यवस्था थिएन, उनीहरूले सेवा दिइरहेका थिए, अघिल्लो वर्ष हामीले कार्याविधि ल्यायौं त्यसबाट दर्ता हुन आउन भनेर निर्देशन दियौं,’ सिवाकोटीले सेतोपाटीसँग भने,‘तर कानूनी आधार बलियो नभई हाम्रो निर्देशनलेमात्र हुन्छ भन्ने छैन। भुक्तानीसम्बन्धी ऐन संसदबाटत पारित भएको छ त्यो कार्यान्वयन हुनेवित्तिकै हामी कडा रूपमा प्रस्तुत हुन्छौं।’
एकातिर नेपालमा पर्यटन आय बढ्न नसक्नुमा गन्तव्य र सेवाको विविधिकरण नहुनुलाई कारकको रूपमा उल्लेख गरिरहँदा चुहावटका अन्य ठाउँहरू पत्ता लाग्दै गएका छन्।
नेपालमा हुने आम्दानी घट्दै जानुका विभिन्न कारणहरुका बारेमा सरकारलाई सम्झाइरहे पनि गम्भिर रूपमा नलिएको होटल एसोसिएसनका पूर्वअध्यक्ष अमरमान शाक्यको आरोप छ।
तस्बिरहरुः नारायण महर्जन