देशभर होटल तथा रेष्टुरेन्ट क्षेत्रमा निजी लगानी आकर्षित भइरहेको छ। अन्य व्यवसायमा जमिरहेका घरानाहरुले पनि होटल क्षेत्रमा लगानी बढाएका छन्।
त्यसमा पनि अन्तर्राष्ट्रिय चेनका होटल नेपालमा खुल्ने क्रम जारी छ। अहिले समय काठमाडौंमा यस्ता चेनमा पाँचतारे स्तरका आधादर्जन होटल निर्माणाधीन छन्।
यस्तैमा ह्यात ब्रान्डमा अर्को पाँचतारे होटल अहिले धमाधम निर्माण भइरहेको छ। टेक्स्टायल लगायत अन्य व्यापारमा जमिरहेको गोल्यान समूहले काठमाडौंको सोल्टीमोडमा ‘हायात प्लेस’ पाँचतारे होटलका लागि संरचना निर्माणको काम गरिरहेको छ।
हायात ब्रान्डकाे नेपालमा दोस्राे होटल हुने छ। यसअघि हायात रिजेन्सी होटल काठमाडौंमा सञ्चालित छ। हायात रिजेन्सी र हायात प्लेसका लगानीकर्ता फरक हुन्। यसको अन्तर्राष्ट्रिय चेन ब्रान्ड भने एउटै हो।
हायात ब्रान्डमा विभिन्न प्रकारमध्यको हायात प्लेस काठमाडौंमा खुल्ने पछिल्लाे हुने छ।
साढे १० रोपनी क्षेत्रफलमा अहिले उक्त होटलका लागि भवन निर्माण भइरहेको छ। २०७६ को पुसभित्रै होटल सञ्चालनमा ल्याउनेगरी काम भइरहेको गोल्यान ग्रुपकी डाइरेक्टर लतिका गोल्यानले जानकारी दिइन्।
गोल्यान समूहले होटलसँगै जोडिएको अपार्टमेन्टका लागि पनि भवन बनाइरहेको छ। एकातिर होटल बन्ने छ भने अर्कोतिर अपार्टमेन्ट।
१४ तले भवनमा होटलका लागि १५३ कोठा हुने छन्। लक्जरी तथा बिजनेस क्याटोगरी सबैलाई मिल्नेगरी रुमको इन्टेरियर डिजाइन गरिएको गोल्यानले जानकारी दिइन्।
पार्किङ सुविधाका लागि दुई तलाको बेसमेन्ट हुने उक्त होटलमा क्यासिनो बाहेकका सबै स्तरीय सुविधा हुने छन्।
‘हाम्रो होटलमा होटलमा क्यासिनो राख्ने अहिले कुनै योजना छैन,स्वीमिङपुल, स्पा, जिम, ब्यांकेट हल९सात सय क्षमताका मिटिङरुम हुनेछन्,’ गोल्यानले भनिन्।
होटल निर्माणपछि यसको सबै व्यवस्थापन ह्यात प्लेसले गर्नेछ। यसमा उसले खाना पकाउनेदेखि सेवा सुविधासम्मका सबै उसैको स्तरअनुसार हुनेछ।
होटलका लागि भवन निर्माण भएपछि हायात प्लेस आउनेछ।
होटलको भौतिक संरचना बनाउनसक्ने भएपनि व्यवस्थापन तथा सञ्चालनको अनुभवन तथा विज्ञता नभएकाले व्यवस्थापन करार गर्नुपर्ने गोल्यानको भनाइ छ।
‘हामीसँग भवन बनाउने दक्षता र अनुभव सबै छ लगानी पनि गर्नसक्छौं तर व्यवस्थापकीय दक्षता र अनुभव नभएकैले अन्तर्राष्ट्रिय चेनसँग सम्झौता गरेका हौं,’ उनले भनिन्।
गएको १५/२० वर्षदेखि काठमाडौंमा एकैपटक स्तरीय होटल खुल्दा देशको प्रमोसन बढ्ने र पर्यटकले पनि आधुनिक सेवा सुविधा पाउने उनको विश्वास छ।
कुनैबेला नेपालमा गार्मेन्ट उद्योगमा आएको लहडजस्तै अहिले होटलमा आएको छ। यस्तोमा व्यापारको दिगोपना र स्वस्थ प्रतिस्पर्धाका बारेमा आशंकाहरु पनि उठेका छन्।
तर गोल्यान भने बढ्दो आर्थिक गतिविधि र फैंलदो पर्यटकीय वातावरणका कारण होटलको लगानी सुरिक्षत हुने बताउँछिन्।
‘देशमा पर्यटकीय अन्य पूर्वाधार पनि बनिरहेका छन्। विमानस्थल बनिरहेका छन्। देशमा आउने पर्यटकको संख्या पनि बढीरहेकै छ। यस्तोमा व्यापारको अवसर प्रसस्त छ’ गोल्यानले भनिन्।
अहिले मुलुकमा पाँचतारे होटलको सख्या १४ वटा छन्। तीमध्ये २ बन्द अवस्थामा छन्। काठ्माडौं उपत्यकामै २ र काठमाडौं बाहिर एउटा पाँचतारे होटल सञ्चालनको तयारीमा छन्।
काठमाडौं बाहिर पाँचतारे होटलको सख्या पाँच पुगेको छ। काठमाडौंको याक एण्ड यति, होटल अन्नपूर्ण, होटल मल्ल, हायात रिजेन्सी, सोल्टी क्राउन प्लाजा, र्याडिसन, सांग्रिला र मेरियट सञ्चालनमा छन्। काठमाडौंको होटल एभरेष्ट भने बन्द छ।
त्यस्तै पोखरा ग्रान्ड सञ्चालनमा छ भने फूलबारी रिसोर्ट बन्द भएको छ। भैरहवाको टाइगर प्यालेस रिसोर्ट र नेपालगञ्जको सोल्टी वेन्सटेन्ड प्रिमियर र सेन्टर प्लाजा सञ्चालनमा छन्।
तस्बिरहरु: होटलका कलात्मक स्केच