सगरमाथा क्षेत्रमा व्यावासयिक हेलिकप्टर उडान नियमबाहिर गएर हुने गरेको पाइएको छ। सोलुखुम्बुको टक्सिन्डुलाई बेस बनाएर हेलिकप्टरले यात्रु तथा सामान ओसारपसार गरिरहेको भएपनि सुरक्षा सतर्कतालाई बेवास्ता गर्ने गरिएको छ।
कुनै सुरक्षा चेकजाँजा बिना मान्छे तथा सामान ओसारपसारमात्र होइन गम्भिर समस्या आएका हेलिकप्टरसमेत आफूखुसी उड्ने गरेका सगरमाथा क्षेत्रमा कार्यरत एक कर्मचारीले जानकारी दिए।
बिना सुरक्षा जथाभावी यसरी उडान गर्दा दुर्घटना हुनसक्ने भन्दै जिल्लाको प्रशासनले सुरक्षा व्यवस्था गरेरमात्र उडान गर्ने निर्णय गरेको थियो। चैत ८ गते बसेको जिल्ला सुरक्षा समितिले टक्सिन्डुमा बिना सुरक्षा ढुवानी तथा व्यावसायिक उडान बन्द गर्ने निर्णय गरेको थियो। सुरक्षा व्यवस्था गरेरमात्र त्यस्ता उडान अनुमति दिनुपर्ने व्यवस्थाका लागि नागरिक उड्डयन लुक्ला र फाप्लुलाई निर्देशन दिने समेत उक्त बैठकले निर्णय गरेको थियो।
उक्त निर्णय अझैसम्म पनि लागू भएको छैन। न त त्यहाँ सुरक्षा व्यवस्था नै गरिएको छ।
‘सुरक्षा प्रबन्ध नहुँदा उड्नै नहुने हेलिकप्टरले पनि उडान गरेको पाइएको छ हामीलाई त्यस्तो खबर आएको छ, यस्तोमा सुरक्षा चेकेजाँजको व्यवस्था भए रोक्न सकिनेथियो’ प्राधिकरणका एक अधिकारीले सेतोपाटीसँग भने।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगर भने सुरक्षा प्रबन्ध विना उडान नगर्नू भनेर निर्देशन दिएको बताए। आफूहरुले निर्णय गरेर निर्देशन दिएपछि पनि उडानहरु भइरहेको सुनेको उनको भनाई छ।
‘नागरिक उड्डयनबाट व्यावसायिक उडान गर्नुपरे सुरक्षा माग गर्नुपर्नेमा हामीलाई कुनै खबर नै नगरी उडान भएको खबर हामीले पनि सुनेका छौं उनले सेतोपाटीसँग भने।
जथाभावी व्यावसायिक उडानले सुरक्षा खतरा बढाउनेमा आफूहरु सचेत भएको र छिट्टै कदम चालिने उनको भनाइ छ।
यसरी निरन्तर उडान भइरहँदा प्राधिकरणबाट पनि कुनै चसो व्यक्त भएको छैन। नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षा नियमावली विपरीत उडान भइरहँदा उडानहरु असुरिक्षत हुँदै गएका छन्।
नागरिक उड्ड्यन प्राधिकरणको हावाइ सुरक्षा नियमावलीमा माल समान गर्दा चेकजाँच अनिवार्य रहेको छ।यसबाट एकातिर सुरक्षा नियम उलंघन भएको छ भने अर्कोतिर राजस्व पनि चुहावट भइरहेको छ।
लुक्ला विमानस्थल प्रमुख इमनाथ अधिकारी भने सुरक्षा समितिको निर्ययबारे आफू जानकार रहेको र अहिले टक्सिन्डुमा नुनथलाबाट प्रहरी बोलाएर उडान गर्ने गरिएको खबर पाएको बताए।
उनले त्यसो भनेपनि नागरिक उड्डयन, गृह प्रशासनको अनुपश्चितिमा खुलेआम उडान भइरहेका छन्। गएको हप्ता भ्mयालको सिसा चर्किएको हेलिकप्टरसमेत उडेको थियो। कानूनतः सुरक्षा जाँच बिना त्यसरी उड्न पाइन्न।