स्थापनाको दुई वर्षमै उठ्नै नसक्नेगरी सौर्य एयरलाइन्स धरासायी भयो। यसको पुरानो व्यवस्थापनले बिक्री गर्ने प्रयास धेरै गर्यो। दोस्रो प्रयासमा मात्र यसको बिक्री सफल भयो।
नेपालमा जेट इन्जिन जहाजबाट आन्तरिक उडान शुरु गरेको सौर्यले दुईवटा जहाजबाट दैनिक उडान गरिरहेको थियो। बम्बार्डियरका सिआरजे सिरिजका दुईवटा जहाजबाटै बजारमा राम्रो हिस्सा ओगट्दै गएपनि कम्पनीले वित्तीयरुपमा आफूलाई बलियो बनाउनै सकेन अन्ततः बिक्री भयो।
त्यस्तै अर्को एयरलाइन्स छ। जसले जेट इन्जिन जहाजबाट आन्तरिक उडान गरिरहेको छ। त्यो हो श्री एयरलाइन्स। जसले चारवटा जहाजबाट अहिले उडान गरिरहेको छ।
लामो समयदेखि हेलिकप्टर उडाइरहेको यो कम्पनीसँग पहिले नै उडान तथा यात्रासँग सम्बन्धित नेपालभर बजार सञ्जाल थियो। तर पनि यसले पछिल्लो समय टर्वोपप जहाज ल्याउने प्रक्रिया अघि बढाएको छ। बैशाखभित्र २ वटा बम्बार्डियरकै क्वू ४०० सिरिजका जहाज ल्याउने तयारी गरेको एयरलाइन्सले बजारमा यात्रु हिस्सा भने राम्रो ओगेटेको छ।
यात्रु धेरै बोकेपनि यो कम्पनी वित्तीयरुपमा त्यति धेरै बलियो छैन। बजारमा राम्रो उपस्थिति भएपनि त्यहीअनुसारको आर्जन नहुँदा यो एयरलाइन्सको नजर टर्वोपप जहाज ल्याएर पोखरा उडान गर्ने रहेको छ।
एयरलाइन्सले जेटबाट पोखरा उडान गर्ननसकेकाले टर्वोपप जहाज ल्याउने लागेको बताएपनि कारण त्यतिमात्र होइन।
मुख्य कारण आम्दानी नै हो।
नेपाली घरेलु आकाशमा जेट किन फापेन?
टर्वोपप इन्जिन जडित जहाजको तुलनामा छिटो उड्ने जेटको एउटैमात्र फाइदा भनेको यही हो। जुन काठमाडौंबाट भैरहवाको उडानमा एटिआर तथा बिचक्राफ्टको तुलनामा १० देखि १५ मिनेट छिटो पुग्छ। आउँदा पनि त्यस्तै हो।
एउटै गन्तव्यमा अरुको तुलनामा छिटो पुग्दा यसले थोरै लागतमा धेरै यात्रु बोक्ने विश्वास गरिन्छ। तर नेपालको अवस्था त्यस्तै भएन।
काठमाडौं विमानस्थलमा हुने हवाई ट्राफिक जामका कारण जहाजहरु घण्टासम्म होल्डमा पर्छन्। जसको कारण यी जहाज एटिआरसँगै काठमाडौं पुग्छन्।
समय बराबर हुनेवित्तिकै उडान लागतमा फरक परिहाल्छ
जेट जहाज उडाइरहेको एक एयरललाइन्सको ब्यापार हेर्ने एक अधिकारीले भने,
‘सयम बराबर हुनेवित्तिकै जेटले स्वभाविकरुपमा इन्धन धेरै खपत गर्छ, उडान लागतको ६० प्रतिशत हिस्सा इन्धनले नै लिन्छ।’
उनका अनुसार बुद्धको एटिआर जहाजले ७२ जना यात्रु बोकेर काठमाडौं आउँदा ३५ मिनेट लगाउने ठाउँमा श्री को जहाजले ७० यात्रु बोकेर २५ मिनेटमै पुग्छ। तर आकाश होल्ड हुँदा सिआरजेलाई पनि ३५ नै लाग्छ। जसको कारण इन्धनमा खर्च धेरै हुन्छ।
नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक ईन्जिनियर संजिवसिंह कठायत पनि जेट इन्जिनको जहाजका लागि छोटो दुरीको रुट लाभदायक नभएको बताउछन्।
'इन्जिनको लाइभसाइकल हुन्छ जुन काठमाडौंबाट धनगढी उड्दा र भैरहवा उड्दा उत्तिकै खर्च हुन्छ यो साइकलले इन्जिनको मर्मतसम्भार खर्च माग गर्छ' कठायतले भने।
स्वभाविकरुपमा जेटले धेरै इन्धन खपत गर्ने र होल्डका कारण समय अरु जहाज जत्तिकै लागेपछि उडान खर्च थपिने भएकाले आर्थकरुपमा दवाव परेको हुनसक्ने उनको भनाइ छ।