ब्याजको भारमात्र अरबौं रुपैयाँ बोकेको नेपाल एयरलाइन्समा दैनिक तलबभत्ता वितरण गर्न पैसा अभाव भएपछि सरकारले तत्काल ३ अर्ब रुपैयाँ दिने तयारी गरेको छ। एयरबस ए३३० जहाज किन्न लिएको ऋणको किस्ता तिर्न नै २ अर्ब बढी रुपैयाँ बाँकी रहेको सरकारी स्वामित्वको एयरलाइन्सलाई तत्कालका लागि समस्या समाधान गर्न चालु वर्षको बजेटमा खर्च हुन नसकेको शिर्षकबाट रकमान्तर गरी ऋण स्वरुप दिने तयारी भएको अर्थ मन्त्रालय सम्बद्ध उच्च स्रोतले जानकारी दिएको छ।
नेपाल एयरलाइन्सले सरकारसँग पुँजी लगानी स्वरुप २० अर्ब माग गरेको थियो। उसले तत्काल पाँच अर्ब र बाँकी १५ अर्ब विस्तारै लगानी गर्न सरकारसँग माग गरेको थियो। सो बारेमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थको राय माग गरेको थियो।
अर्थको रायअनुसार पर्यटनले तत्काल पाँच अर्ब दिन नसकिने र त्यो पनि ऋण स्वरुपमात्र दिनेगरी ३ अर्बसम्म दिनसकिने जानकारी गराएको छ।
‘नेपाल एयरलाइन्सको सबै वित्तीय विरण र दायित्व हेर्दा अहिलेलाई ३ अर्ब नगद दिएमा समाधान हुनसक्ने भएको निष्कर्षमा मन्त्रालय पुगेको छ’ पर्यटन मन्त्रालय सम्बद्ध स्रोतले भन्यो,‘दैनिक तलब भत्तामै समस्या भएको कम्पनीलाई अरबौंको ऋणको किस्ता पनि तिर्नुपर्ने छ यतिले त पुग्दैन तर सरकारसँग पनि पैसा त पर्याप्त कहाँ छ र?’
नेपाल एयरलाइन्सले ल्याएका वाइडबडी जहाजको किस्ता तिर्नुपर्ने भएपनि ती जहाजले नियमित अधिकतम क्षमता सदुपयोग गर्ननसक्दा व्यापार हुनसकेको छैन। अरबौं ऋण भार भएका जहाजको व्यापारु नहुँदा एयरलाइन्स स्वतः आर्थिक संकटमा पर्दै गएको छ।
एक महिनामा मात्र १ अर्ब ५४ करोड रुपैयाँ खर्च आवस्यक पर्ने संस्थाको खातामा हाल २० करोड रुपैयाँमात्र रहेको छ। गएको साता पर्यटन मन्त्रायमा भएको छलफलमा एयरलाइन्सको तर्फबाट प्रस्तुत आर्थिक विवरण हेरेपछि पैसा दिनैपर्ने निष्कर्षमा सरकार पुगेको हो।
संस्थाले माघ र चैतको किस्ता तिर्न सकेको छैन। उसले वाइडबडी जहाज किन्न नागरिक लगानी कोष र संचय कोषसँग लिएको ऋणको प्रत्येक तीन महिनामा ८० करोड ४२ लाख रुपैयाँ तिर्नुपर्छ। यसहिसाबले चैतसम्म संस्थाको किस्तामात्र १ अर्ब ६० करोड रुपैयाँ बाँकी रहेको छ। असारसम्म २ अर्ब ४२ करोड रुपैयाँ किस्ता बाँकी हुने छ। संस्थाले असारसम्म पनि तिर्नसक्ने अवस्था नरहेको अधिकारीहरुले बताउँदै आएका छन्।
ब्यावासायिक योजनाअनुसार लामो गन्तव्यमा उडान नहुन्जेल संस्थाले ऋण तिर्नसक्ने अवस्था नहुने बताउँदै आएको छ। असार १९ बाट जापान उडान शुरु गर्ने तयारीमा एयरलाइन्स रहेको छ।
अहिले वाइडबडी जहाज छोटो दुरीमा उडिरहेका छन्। छोटो दुरीमा धेरै यात्रु बोक्दा पनि खर्च भन्दा आम्दानी न्यून देखिएको छ। आम्दानीको शतप्रतिशत वा त्यो भन्दा बढी खर्च हुने गरेको छ।
यसैबीच तत्कालको संकट मोचनका लागि सरकारले केही ऋण दिएपनि पुँजी लगानी गर्ने पक्षमा अर्थमन्त्री डा युवराज खतिवडा देखिएका छैनन्। अहिलेकै व्यवस्थापनमा सरकारले जति पुँजी हाले पनि त्यसको प्रतिफल नआउने भन्दै उनले बिकल्प खोज्न सुझाव दिएका छन्।
पछिल्लो समय पुँजी बृद्धिको प्रक्रिया अघि बढेपनि अर्थमन्त्रीले रणनीतिक साझेदार वा कम्पनी मोडलमा गएर सञ्चालन गर्न सुझाव दिंदै आएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनाएर पुँजी बृद्धि गराउनतिर निगम नेतृत्व लागेपनि अर्थमन्त्री त्यसमा अझै सहमत भएका छैनन्।