पछिल्लो सयम नेपालमा होटल तथा रिजोर्टमा लगानी बढिरहेको छ। बढ्दो पर्यटक आगमनलाई लक्षित गर्दै व्यवसायीहरु होटलमा आकर्षित भइरहेका छन्।
खर्ब बढी लगानीमै ठूला होटल निर्माणाधिन छन्। काठमाडौंमा म्यारियट,ताज भिभान्ता, चितवनमा फ्रेन, भैरहवामा टाइगर प्यालेस, पोखरामा स्वीस इन्टरनेशनल, नेपालगञ्जमा सोल्टी वेष्टेन्ड प्रिमियर र सेन्ट्रलप्लाजा केही ठूला होटल गएको एक वर्षभित्र सञ्चालनमा आए।
त्यस्तै काठमाडौंमा स्टारउडको चेन अलफ्ट काठमाडौं, शेराटन, भैरहवामा पवनप्यालेस, हायात प्लेस जस्ता पाँचतारे स्तरका होटल सञ्चालनको तयारीमा छन्। यी होटल पनि अबको एक वर्षभित्र सञ्चालन भइसक्ने छन्।
ठूलासँगै पर्यटकस्तरका साना र मध्यमस्तरीय होटल करिब २ दर्जन होटल सञ्चालनको तयारीमा छन्। भूकम्पपछि बन्द भएको काठमाडौंको पाँचतारे एभरेष्ट होटल पनि आगामी साउनदेखि सञ्चालनमा आउने भएको छ।
बाहिरबाट हेर्दा होटलमा लगानी ब्यापकमात्रामा भइरहेको छ। तर अहिले सञ्चालनमा आउन लागेका अधिकांस होटलको काम पाँच वर्ष अघि शुरु भएको हो।
यति धेरै होटल निर्माणाधिन हुँदा एक वर्ष अघिसम्म होटलमा लहडमा लगानी भएको भन्दै केही पुराना व्यवसायीहरुले लगानी जोखिममा पर्नसक्ने चेतावनी दिएका थिए।
तर होटल के पर्याप्त छन्?
हालैमात्र होटल संघ नेपालले सार्वजनिक गरेको तथ्यांकले पयाप्त नभएको देखाउछ। अर्थात् जसरी पर्यटक आइरहेका छन्। पर्यटक आगमनको बृद्धि जसरी भइरहेको छ यसले अहिले भएका र भविष्यमा खुल्ने तयारीमा भएका होटलसमेत जोड्दा पर्यटकको बृद्धिदरलाई सत्कार गर्न सक्षम होला?
होटल संघ नेपालका अनुसार अहिले नेपाल आउने पर्यटक र उनीहरुको औसत बसाईलाई हिसाब गर्दा अहिले नै होटल अपर्याप्त हुन थालेको छ।
नेपालमा अहिले पर्यटकको औसत बसाई १२ दिन हो। गएको वर्ष ११ लाख ७३ हजार ७२ विदेशी नेपाल आएका थिए। नेपालमा कूल ४० हजार २ सय ६२ पर्यटकीय होटल छन्।
यी होटलले वार्षिक प्रति रात १ करोड ४६ लाख ९५ हजार २६५ बेड उत्पादन गर्छन्। यसरी हेर्दा अघिल्लो वर्ष नेपालका होटलको अकुपेन्सी रेट ९५.६ प्रतिशत हुन आउछ। यो तथ्यांक हेर्दा नेपालमा भएका होटलको औसत ५ प्रतिशत कोठामात्र खाली भए।
यसले दुई कुरा संकेत गर्छ। होटलको सुपर नाफा। अर्को अपर्याप्त पूर्वाधार।
सामान्यतयार होटलमा ७० प्रतिशतभन्दा माथिको अकुपेन्सीलाई व्यावसायिकरुपमा राम्रो मानिन्छ।
तर तथ्यांकीय अभावका कारण यस्तो देखिएपनि सुपरनाफाको अवस्था नरहेको संघका वरिष्ठ उपाध्यक्ष विनायक शाहको भनाइ छ।
धेरै होटलहरु दर्ता नहुनु, होमस्टे लगायतका साना होटलमा पनि पर्यटक बस्ने गरेका कारण वास्तविक होटलको औसत अकुपेन्सी ५५÷६० प्रतिशतमात्र रहेको उनको प्रष्टोक्ती छ।
‘धेरैतिर तथ्यांक उपलब्ध छैनन्, दर्ता नभएका होटल, होमस्टेमै पर्यटक बस्ने गरेका कारणले होटलले व्यापार पाएका छैनन्’ शाहले भने।
तर पूर्वाधारको अभाव भने प्रष्ट देखिन्छ।
होटल संघले ११ लाख ७३ हजार पर्यटकको आधारमा हिसाब गरेको छ। त्यसमा ३ लाखमात्र भारतीय पर्यटक सहभागी छन्। नेपाल सरकारको एक अध्ययनले नेपालमा १० लाख बढी भारतीय आउने गरेको देखाएको छ। त्यसमध्ये पाँच लाखमात्र होटलमा बसे पनि भने संघको तथ्यांकमा पाँच लाख पर्यटक थप हुन्छन्।
यसहिसाले यही वर्ष हवाई मार्गबाट नेपाल आउने पर्यटकको संख्या १५ लाख पु¥याउने लक्ष्य लिइएको छ भने अर्को वर्ष २० लाख। नेपालमा २० लाख पर्यटक आउँदा होटलको बेड माग भने २५ लाख पर्यटकको हुने सरकारी अध्ययनले देखाएको छ।
पर्यटक बृद्धिदर सरकारी लक्ष्यअनुसार नै अघि बढेको पनि छ। तर होटल पूर्वाधार अहिलेसम्म राम्रो भएपनि भविष्यमा पाइपलाइन परियोजना भने उत्साहजनक छैन।
पछिल्लो १ वर्षदेखि यस्ता ठूला होटल परियोजनामा लगानीको घोषणा भएको छैन। उल्टो फिर्ता भएका छन्। ला शेर्पा र लि शेर्पा होटल परियोजना भवन संरचना बनेपनि अन्य प्रयोजनका लागि प्रयोग गर्ने तयारी भएको छ।
‘संसारकै महंगो हवाई भाडा, धुलाम्मे बाटो, हुँदा हुँदा होटल नै अपर्याप्त हुने संकेत देखिनु समृद्धिको एउटा पिल्लर पर्यटन थला सोचेअनुसार अघि नबढ्न पनि सक्छ’ नेपाल पर्यटन बोर्डका एक अधिकारीले सेतोपाटीसँग भने।