नेपालको हवाई सुरक्षा जोखिममा रहेको भन्दै युरोपेली युनियनले नेपाली एयरलाइन्सहरुलाई युरोपियन आकाशमा उड्न प्रतिबन्ध लगायो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको सेफ्टी अडिटमा नेपाल फेल भएपछि उसले कालोसूचीमा राखेको थियो। दुई वर्ष अघि नै आइकाओले हटाए पनि इयुले भने कायमै रोखेको छ।
कालोसूचीमा राख्दा नेपाली एयरलाइन्सहरु विश्वका कुनै पनि देशमा उडान अनुमति माग्न जाँदा शंकाको नजरले हेरिन्छन्। अर्थात् अरु देशका भन्दा नेपालीलाई कठिन हुन जान्छ।
कालोसूचीमा राख्दा विमान दुर्घटना, जहाज तथा पाइलटको नियमन, अनुमति, लाइसेन्स जस्ता वृहत कुरामा चासो राखिएको थियो। अर्थात एयरलाइन्सलाई अनुमति देखि पाइलटको लाइसेन्ससम्मका कुरा सेफ्टीमा आउँछन्।
यी त भए नियामक नागरिक उड्डयन प्राधिकरणले गर्ने कुरा।
यस बाहेक नेपालमा रहेका एयरलाइन्सहरुले बनाएका आन्तरिक सञ्चालन नियमन, नियमको पालनाजस्ता कुरामा पनि चासो राखिएको हुन्छ।
नेपालले सेफ्टीमा व्यापक सुधार गरेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले बताउँदै आएका छन्। दुर्घटना तथा अन्य नियमनका सवालमा कडाइ गरेको बताउने उनीहरु एयरलाइन्सहरुको अडिट भने गर्न सक्दैनन्।
‘एयरलाइन्सहरुले दैनिक सञ्चालनका लागि आफ्नै नियम बनाएका हुन्छन् जसलाई अपरेशन म्यानुअल भन्छन्। जुन नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भएको हुन्छ। त्यसरी आएको म्यानुअलको पालना नहुनु पनि सेफ्टीका हिसाबले खतरा नै मानिन्छ’ प्राधिकरणका एक अधिकारीले भने।
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने ३ मध्येको ठूलो तथा सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्समा त्यस्तो म्यानुअलको धज्जी उडाइएको छ। बनाइएको म्यानुअलको गम्भिर उलंघन भइरहेको छ।
यसरी उलंघन भएर गुपचुपमात्र होइन प्राधिकरणमा उजुरी परेको पनि छ। तर प्राधिकरण भने यसमा मौन छ। स्रोतहरुका अनुसार यसमा राजनीतिक पहुँचका आधारमा निर्णय हुने गरेको छ।
नेपाल एयरलाइन्सको उडान सञ्चालनको नेतृत्व गर्ने अपरेशन विभाग प्रमुख नै मापदण्ड मिचेर पदमा आसिन रहेका छन्। निर्धारित योग्यता नपुगे पनि रविन्द्र शेरचन उक्त विभागको नेतृत्व गरेका छन्। पेसागत रुपमा उनी पाइलट हुन्।
एयरबसको ए३२० जहाज उडाउने उनी आफै प्रमुख हुँदा आफै नियम उलंघन गर्नेमात्र होइन अरुलाई पनि त्यसैगरी उक्साइरहेका छन्।
कुनै पनि पाइलटले सिधै जहाजको उडान कमान्ड सम्हाल्नु अघिका शर्तहरु पूरा गर्नुपर्छ।
काठमाडौंमै सिम तालिम गर्नेदेखि लिएर निश्चित उडान अनुभवी कोपाइलट तथा प्रशिक्षक पाइलटको अनुगमनमा उडानमा बस्नुपर्छ। तर शेरचन विभागीय प्रमुख हुँदा यी सबै लत्याएर आफूलाई क्लियर गरे र फूल कमान्ड सम्हाले।
शेरचन पहिले बोइङ ५७५ जहाज उडाउथे। त्यसबाट उनी एयरबस ३२० मा जानका लागि तालिम गर्न गए। त्यसका लागि पहिलो प्रयासमा फेल भएर आए। दोस्रो प्रयासमा कैफियतसहित पास भएर आए। उनी पास भएर आएको १ वर्षपछिमात्र ए ३२० क्याप्टेन भए।
उनी त्यसरी तालिम लिएर आएपछि प्रशिक्षक पाइलटसँग ५० घण्टा उड्नुपर्छ। यसमा उनले गरे। त्यसमा प्रशिक्षकले परीक्षण गरेपछि उनलाई हजार घण्टा उडेको को पाइलटसँग उड्नुपर्छ। उसले उडान गरेपछि प्रशिक्षक पाइलटले परीक्षण गरेर क्लियर गरेपछि मात्र उसले फूलफ्लेज उडान गर्न पाउछ। तर आइपीले क्लियर नगरी उनले व्यावसायिक उडान गरे।
उनले नियम उलंघन गर्दा कसैलाई थाहा नभएको भने होइन। यसका लागि नेपाल एयरलाइन्समै सेफ्टी हेर्ने विभाग पनि छ। त्यसले पनि केही गरेन। एयरलाइन्सको नेतृत्वले पनि त्यसमा आँखा चिम्लिीदियो।
त्यसपछि उनको सिको गर्दै अरु पाइलट पनि त्यही गरे। जसमा शेरचनाले कारबाही त गरेनन्। अरुले पनि गरेनन्।
यसबारेमा सँधै नागरिक उड्डयन प्राधिकरणमा उजुरी पर्छ। प्राधिकरणकै कर्मचारीहरु भन्छन्ः पाइलटको गुटबन्दीको कारणले उजुरी आइरहन्छन्। नियम उलंघन भए पनि त्यही कारण पन्छिने गरेका छन्।
प्राधिकरणका एक अधिकारी भने यसमा राजनीतिक तथा माथिल्लो तहको दबाब आउने बताउँछन्।
‘उजुरी आउछ हामीले छानविन पनि गर्छौ तर मन्त्रालयका सचिव तथा मन्त्रीकै समेत फोन आउँछ त्यसपछि नेपाल एयरलाइन्ससँग जोडिएको भन्दै कुनै एक्सन हुँदैन’ उनले भने।
युरोपेली युनियनले नेपालको पाइलट रेजिम तथा अपेरेशन रेजिम खुकुलो भएको कैफियत पनि जनाएको थियो।
त्यसपछि शेरचनकै जोडबलमा पाकिस्तानी मुलका एक प्रशिक्षक पाइलट एयरलाइन्समा नियुक्त गरियो।करामा ल्याइएका उनलाई भारतीय मुलका प्रशिक्षक पाइलटलाई निलम्बन गरेर पाकिस्तानी मुलका आइपी ल्याए।
उनले यति धेरै बदमासी गरिरहेका छन्। तर यसमा न नेपाल एयरलाइन्स नेतृत्वले केही गर्छ न नियमक प्राधिकरण।
यति शक्तिशाली पाइलट जसले कुनै पनि नियम मान्दैनन्।
यसरी नियम मिचेर काम गरिरहेका शेरचन आफैमा विभागीय प्रमुखका लागि योग्य भने छैनन्।
म्यानुअलअनुसार विभागीय प्रमुखको योग्यतामा क्यानबाट कुनै पनि सजाय नभोगेको हुनुपर्ने व्यवस्था छ। तर उनी आन्तरिक उडानमा हुँदा कयौपटक सजाया भोगिसकेका छन्। आन्तरिक उडानमा हुँदा ओभरलोडमा जहाज उडाउँदा क्यानले कारबाही गरिसकेको छ।
उनका बारेमा किन कारबाही नगरेको भनेर प्रश्न राख्दा नेपाल नियमक नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजन पोखरेलले नियम मिचेको आरोप लागेपछि क्यानले छानविन गरेर आवस्यक कारबाही गरिरहेको बताउछन्।
तर शेरचनको क्याप्टेन क्लियर हुँदा क्यानले पठाएको पत्र बोइङको सन्दर्भमा मात्र भएको एयरबसका लागि नभएको उनको भनाइ छ।