गएको असोज १ गते झापाका मदन खरेलले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष पद सम्हाले। कार्यभार सम्हाल्नेवित्तिकै उनले भर्खरै आएका एयरबस ए३३० जहाज लामो गन्तव्यमा उडाउने र आन्तरिक उडान सुदृढ बनाउने प्रतिवद्धता गरे।
नेपाल वायुसेवा निगममा तीन दशक काम गरेका मदन खरेल दोस्रो पटक नेतृत्वमा पुगेका थिए। दोस्रो पटकको कार्यकारी नेतृत्वमा पुगेका खरेलको समय ९ महिना बितिसकेको छ।
उनले यो बीचमा अन्तर्राष्ट्रिय उडानमा कुनै पनि गन्तव्य थप गर्न सकेनन्। न त उडान संख्या नै थपे। आन्तरिक उडान त झनै अस्तव्यस्त भयो। प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा नियुक्त भएका खरेलले यो बीचमा उल्टै आन्तरिक उडानलाई सुस्त बनाएका छन्।
९ जहाज भएको निगमसँग अहिले उड्नलायक चार वटा जहाज छन्। तर पूर्ण क्षमतामा कुनै पनि जहाज उडेका छैनन्। गएको पुसदेखि चीनबाट आएका वाइ १२ जहाज सबै ग्राउन्डेडजस्तै छन्।
उनी आउँदा जहाज उड्न लायक थिए। पाइलटहरू पनि थिए। तर उनले गरेको एउटा निर्णय जसले वाइ १२ को उडान ठप्प पारिदियो।
पाइलट अभाव देखाउँदै आन्तरिक उडान नभएको बताउँदै आएपनि उनकै निर्णयले पाइलटको चरम संकट ल्याएको पाइएको छ। वाइ १२ जहाज उडाने ४ जहाज क्याप्टेन थिए खरेल आउँदा। त्यस्तै क्याप्टेन हुने अवधि पुगेका को पाइलट पनि त्यत्तिकै थिए।
खरेल अध्यक्ष भएर आउनेवित्तिकै आन्तरिक जहाज उडाउने भन्दा वाइ १२ मा भएका एक जना क्याप्टेन र २ जना सिनियर को पाइलटलाई ए३२० जहाज उडाउनेगरी तालिममा पठाए। उनीहरु गएपछि संस्थाभित्रै रडाको मच्चियो।
उनको त्यो निर्णयले उडानलाई दुईतिरबाट प्रभाव पार्यो।
पहिलो एक त पाइलट नै नभएको अवस्थामा भएकालाई अपग्रेड गरियो। जसले गर्दा जहाज उड्ने र आन्तरिक उडान नियमित हुने सम्भावना न्यून। भयो। नेपाल एयरलाइन्समा पाइलटको अपग्रेड हुने प्रचलन छ। यसमा एउटा किसिमको जहाजमा आवस्यकताभन्दा बढी पाइलट भएमा त्यसलाइ अपग्रेड वा स्थानान्तरण गरिन्छ कि आवश्यकता भएमा। त्यसरी स्थानान्तरण गर्दा त्यसको पूर्ति पनि सँगै गरिन्छ।
तर निगममा यी केही भएनन्।
भएका पाइलट स्थानान्तरणपछि जहाज उडाउने पाइलट स्वत: न्यून भए। तर बाहिर भने पाइलट अभावले उडान गर्नै सकेनौं भन्न खरेलले छाडेनन्।
अर्को प्रभाव हो पाइलटहरूबीच असन्तुष्टि।
खरेल आउनेबित्तिकै आफूभन्दा जुनियर पाइलटलाई अपग्रेड गरिएको भन्दै बाँकी रहेका २ जना क्याप्टेनले असन्तुष्टी जनाए। उनीहरूले खरेलसँगै पनि उक्त असन्तुष्टि व्यक्त गरिकेका छन्। पाइलट नियुक्ति बढुवाजस्ता कुरालाई नियमन गर्ने नेपाल एयरलाइन्सको म्यानुअलविपरीत बढुवा गरिएको भन्दै बाँकी रहेकाले अप्रत्यक्ष आन्दोलन नै गरे।
असन्तुष्ट पाइलटले नियमले सबैभन्दा सिनियरलाई मात्र बढुवा गर्नु पर्ने भए पनि अपरेशन डिपार्टमेन्ट प्रमुखले म्यानुअल परिवर्तन गरी अमुक व्यक्ति लक्षित बढुवा गराएको आरोप लगाएका छन्। नियमले सबैभन्दा बरिष्ठलाई क्रमश: बढुवा गर्नुपर्ने व्यवस्था गरेको छ।
असन्तुष्ट पाइलटहरू अहिले पनि जहाज नउडाई बसेका छन्। यसरी बस्दा आन्तरिक उडान झनै सुस्त बनेको छ।
मन्त्रालय र माथिल्ला निकायलाई प्रगति विवरण देखाउन उड्न योग्य जहाजलाई प्रत्येक दिन पालैपालो उडाएर सबै जहाज उडेको देखाउने चलाखी भने एयरलाइन्सले गरिरहेको छ।
निगमका प्रवक्ता नवराज कोइराला भने आन्तरिक उडानमा अहिले एमए ६० र ट्वीनअटर जहाज उडिरहेको र वाइ १२ का लागि पाइलटलाई तालिम दिइरहेको बताउँछन्।