सोमबार साँझ धेरैका घरमा टेलिभिजन खुलेनन्। हिन्दी धारावाहिक आउने च्यानलहरू बन्द भएपछि धेरै जना फुर्सदिला बने।
यही मेसोमा कतिले नेपाली भाषाकै ३० वटाभन्दा बढी च्यानल प्रसारण हुँदा रहेछन् भन्ने पहिलोपटक थाहा पाए।
केबल र इन्टरनेट टेलिभिजन सेवाप्रदायकहरूले सोमबार दिउँसो ३ बजेदेखि २४ घन्टा विदेशी च्यानल बन्द गरेपछि यस्तो स्थिति उत्पन्न भएको हो।
सरकारले विदेशी च्यानलमा विज्ञापन प्रसारण गर्न नपाइने प्रावधानसहितको विधेयक संसदमा दर्ता गराएको विरोधमा केबल व्यवसायीहरूले विदेशी च्यानल बन्द गराएका हुन्।
उपभोक्ताले आ-आफ्नो केबललाई निश्चित अवधिको रकम पहिल्यै बुझाइसकेका हुन्छन्। पैसा असुल गरिसकेपछि एकाएक सेवा काट्नु उपभोक्ता कानुनको उल्लंघन हो।
हामी आज सरकारले ल्याउन लागेको विधेयक के हो र केबल व्यवसायीहरूले किन यसको विरोध गरे भनी चर्चा गर्दैछौं।
टेलिभिजन सेवाप्रदायकहरूले 'क्लिन फिडको विरोधमा' च्यानल बन्द गरेको उल्लेख गरेका छन्। विदेशी च्यानलमा विदेशी विज्ञापन प्रसारण गर्न नपाइने जुन व्यवस्था लागू गर्न खोजिएको छ, यसैलाई 'क्लिन फिड' भनिन्छ।
यो नियम लागू भएपछि विदेशी च्यानलहरूले नेपालमा प्रसारण हुने कार्यक्रमबाट विज्ञापन हटाउनुपर्नेछ। अन्यथा, च्यानलमै रोक लाग्नेछ।
यस्तो व्यवस्था नयाँ र पहिलोपटक आएको होइन। सरकारले २०७४ साउन १ देखि यो व्यवस्था लागू हुने गरी नीति ल्याएको थियो। राजपत्रमै सूचना प्रकाशित भयो। तर, लागू हुन सकेन। केबलवालाहरू यसैगरी विरोधमा ओर्लेर लागू हुनै दिएनन्।
अब प्रश्न उठ्छ, यो प्रावधान सही हो कि गलत?
हामीले देखेकै छौं, यहाँ प्रसारण हुने विदेशी च्यानलमा भरमार विदेशी विज्ञापन आउँछन्। एउटा हिन्दी सिरियल वा फिल्म हेर्नुपरे, दर्जनौं विज्ञापन हेर्नुपर्छ। विज्ञापनकै कारण दुई घन्टाको फिल्म सक्न चार घन्टा लाग्छ। 'क्लिन फिड' नीति लागू भएपछि च्यानलबाट यी विज्ञापन हट्नेछन्।
सरकारले यो नीति लागू गर्न जोड दिनुमा तीन मुख्य कारण छन्।
पहिलो, विदेशी कम्पनीहरूले नेपालमा एक पैसा खर्च नगरी करोडौं मूल्यको प्रचारप्रसार पाइरहेका छन्।
कुनै पनि भारतीय वा बहुराष्ट्रिय कम्पनीको निम्ति नेपालको बजार त्यति सानो पनि होइन, जति हामी सोच्छौं। यही बजारमा उनीहरूले विज्ञापन वा अन्य किसिमको प्रचारप्रसार गर्नुपरे करोडौं बजेट छुट्टयाउनुपर्छ। हिन्दी च्यानलहरूका कारण उनीहरूले यो सेवा नि:शुल्क पाइरहेका छन्। ती कम्पनीले भारतीय बजारलाई लक्ष्य गरेर बनाएका विज्ञापन हिन्दी च्यानलमार्फत् हाम्रो घर-घरसम्म आइपुग्छ।
विज्ञापन प्रसारण गर्न रोक लागेपछि भारतीय वा बहुराष्ट्रिय कम्पनीले नेपाली बजारमा पाउँदै आएको नि:शुल्क प्रचारको चलन हट्नेछ। यो भनेको नेपालमै विज्ञापन उत्पादनको ठूलो बजार खुल्नु हो।
जब विदेशी कम्पनीहरूले नेपालमा प्रचारप्रसार गर्न नेपालमै आएर विज्ञापन बनाउनुपर्छ, तब यहाँको व्यवसाय फस्टाउनेछ। स्वदेशी विज्ञापन उत्पादन बढ्नेछ। नेपाली कलाकार, प्राविधिक तथा लेखकहरूले काम पाउनेछन्।
अहिले शाहरूख खानले खेलेको विज्ञापनकै भरमा भारतीय कम्पनीले नेपालमा प्रचार पाइरहेका छन् भने राजेश हमाललाई किन खेलाउने? अनि जबसम्म राजेश हमाललाई खेलाउने ट्रेन्ड सुरू हुँदैन, तबसम्म नेपालको विज्ञापन बजार कसरी फस्टाउँछ?
दोस्रो कारण हो, स्वदेशी कम्पनीहरूको प्रवर्द्धन।
अहिले भारतीय च्यानलबाट निर्वाध रूपमा बज्ने विदेशी कम्पनीका विज्ञापनले नेपालका स्वदेशी कम्पनीहरूको लागत महँगो भएको छ।
भन्नुको मतलब, भारतीय कम्पनीहरूले जुन प्रचारप्रसार नि:शुल्क पाइरहेका छन्, त्यसैको निम्ति नेपाली कम्पनीले करोडौं खर्च गर्नुपर्छ। यसले बजारमा प्रवेश गर्नुअघि नै स्वदेशी उत्पादकहरू प्रतिस्पर्धामा एक कदम पछि पर्छन्।
जब उनीहरूलाई यहाँ छुट्टै प्रचारप्रसार गर्न बाध्य पारिन्छ, तब बल्ल प्रतिस्पर्धा बराबरको हुन्छ। नेपालका थुप्रै उत्पादनमूलक उद्यमीहरूले भारतीय कम्पनीको नि:शुल्क प्रचारप्रसारका कारण प्रतिस्पर्धामा पछि परेको बताउँदै आएका छन्।
त्यसैले, विदेशी च्यानललाई विज्ञापनरहित गर्नु भनेको नेपालको उत्पादनशील क्षेत्रलाई लागत प्रतिस्पर्धी बनाउने एउटा महत्वपूर्ण कदम पनि हो।
तेस्रो कारण हो, आयात निरूत्साहित गरेर व्यापार घाटा कम गर्ने।
पछिल्लो समय नेपालको आयात बढेको बढ्यै छ। हाम्रो व्यापार घाटा नै पछिल्लो दस महिनामा १० खर्ब नाघिसक्यो। त्यसमा पनि सबभन्दा ठूलो व्यापार साझेदार भारतसँगको घाटा ७ खर्ब छ।
यसलाई निरूत्साहित गर्ने एउटा उपाय भनेको विदेशी उत्पादनको प्रभाव रोक्नु पनि हो।
विज्ञापनको चमकदमकले हामी आफूलाई चाहिँदै नचाहिने वा नभए पनि हुने वस्तु खपत गरिरहेका हुन्छौं। कतिले त स्वदेशी बजारमा नपाइए पनि कुरिअर गरेर मगाउने गरेका छन्। त्यस्ता उत्पादन नेपाली बजारमा भित्रिनेबित्तिकै सजिलै स्थापित हुन्छन्।
लामो समयदेखि 'क्लिन फिड' को पक्षमा वकालत गर्दै आएको नेपाल विज्ञापन एजेन्सी एसोसिएसनका अध्यक्ष रवीन्द्रकुमार रिजाल भारतीय विज्ञापन नेपालीलाई आवश्यक नै नरहेको बताउँछन्।
'विदेशी विज्ञापनले स्वदेशी उत्पादन ओझलमा पारेका छन्,' रिजालले भने, 'विदेशी कम्पनीलाई नेपालमा प्रचारप्रसारको खाँचो छ भने यहीँ आएर बनाउनुपर्यो, अनि पो स्वदेशी र विदेशी दुवैको निम्ति प्रतिस्पर्धा बराबर हुन्छ।'
बहुराष्ट्रिय कम्पनीहरूले नेपाली टेलिभिजनमा विज्ञापन नै नदिई फाइदा लिने प्रवृत्ति अन्त्य गर्न विदेशी च्यानल विज्ञापनरहित बनाउनुपर्ने उनको भनाइ छ।
विज्ञापनहरू यहीँ बन्न थाले रोजगारदेखि अवसरसम्म बढ्ने उनले बताए।
'झट्ट हेर्दा हामीले आफू विज्ञापन बनाउने कम्पनी भएर आफ्नै फाइदा मात्र हेर्यौं कि भन्ने लाग्न सक्छ, तर यो समग्र बजारको निम्ति फाइदाजनक कुरा हो,' उनले भने, 'सबै बहुराष्ट्रिय कम्पनीले नेपालमा प्रचार गर्न नेपालमै विज्ञापन बनाउनुपर्ने भएपछि बल्ल हाम्रा कलाकारले राम्रो पारिश्रमिक पाउन थाल्छन्। हाम्रा खेलाडी र अन्य सामाजिक क्षेत्रका सेलेब्रिटीहरूको पनि 'ब्रान्ड भ्यालू' बढ्छ। प्राविधिकहरू सक्षम हुन्छन्। लेखकहरूको निम्ति नयाँ बजार खुल्छ।'
समग्रमा यो नीति विभिन्न पेसाकर्मीको हित, विज्ञापन बजार र स्वदेशी च्यानलहरूको गुणस्तर प्रवर्द्धन निम्ति फाइदाजनक रहेको उनले बताए।
टेलिभिजन सेवाप्रदायकहरू भने सरकारको नीतिअनुसार बिनाविज्ञापनको विदेशी च्यानल किन्न महँगो पर्ने तर्क गर्छन्।
विज्ञापनरहित च्यानल अहिलेको तुलनामा पाँच गुनासम्म महँगो हुने नेपाल केबल टेलिभिजन एसोसिएसनका अध्यक्ष सुधीर पराजुलीको दाबी छ। उनका अनुसार अहिले महिनाको औसत पाँच सय रूपैयाँ तिरेर जति च्यानल हेर्न पाइरहेका छन्, त्यति नै च्यानल हेर्न दुई हजारसम्म तिर्नुपर्छ।
'क्लिन फिड दिने भनेपछि हरेक च्यानलले छुट्टै मास्टर कन्ट्रोल रुम बनाउनुपर्छ। यसको लागत झन्डै टेलिभिजन स्थापना गरेजत्तिकै हुन्छ,' उनले भने, 'विज्ञापनसहित किनिएका च्यानलको शुल्क कम हुन्छ।'
उनको अर्को तर्क पनि छ, 'क्लिन फिड' लागू भए हामीकहाँ विदेशी च्यानल बन्द हुनेछन्। यसले नेपालीको सूचना तथा मनोरञ्जन हक खोसिने र विस्तारै नेपाली च्यानल नै बन्द हुने उनले चेतावनी दिए।
भारतीय च्यानलहरूले नेपालकै लागि भनेर विज्ञापन बन्द नगर्ने हुँदा यो नीति लागू भए धेरै च्यानलको प्रसारण बन्द हुने पनि उनले दाबी गरे।
'नेपाली च्यानल मात्र देखाएर केबल व्यवसाय चल्दैन,' उनले भने, 'टेलिभिजन सेवाप्रदायकहरू धरापमा पर्नेछन्।'
अमेरिका, युरोप, सिंगापुर लगायत देशमा विज्ञापनरहित कार्यक्रम प्रसारण गर्दै आएका भारतीय च्यानलले नेपालका लागि त्यही सेवा दिँदैन भन्नु तर्कसंगत देखिन्न। भारत आफैंले पनि 'क्लिन फिड' सेवा लागू गरेको छ। यो भनेको हामीले पैसा तिर्न सक्छौं कि सक्दैनौं भन्ने मात्र हो।
केबल व्यवसायीहरूले भारतीय वा विदेशी च्यानल किन्दा विज्ञापनरहित किन्ने भए बढी शुल्क तिर्नुपर्छ। यसबाट उपभोक्ताले केबलवालालाई तिर्ने शुल्क पनि अहिलेभन्दा महँगो हुनेछ। तर, यो भनेको व्यवसायीहरूले तर्साएजस्तो ठूलो कुरा होइन।
पराजुलीले भनेजस्तै अहिले पाँच सय रूपैयाँमा हेर्न पाइरहेका च्यानललाई त्यसपछि दुई हजार तिर्नुपर्ने भयो भने उपभोक्ताले आफूलाई चाहिने-चाहिने च्यानल मात्र लिनेछन्।
अहिले केबलको ग्राहक बनेका सबैजसोको घरमा डेढ सयभन्दा बढी च्यानल आउँछ, जसमध्ये केही त नि:शुल्कै हुन्छ। नि:शुल्क च्यानलको कुरै भएन। पैसा तिर्नुपर्ने भएपछि उपभोक्ताले ती सबै च्यानल थुपारेर किन बस्नु! मेरो घरमा त डेढ सय च्यानल आउँछ भनेर दंग पर्नुबाहेक हामीमध्ये कतिले ती सबै हेरेका छौं। ती सबै च्यानल चहार्ने समय पनि कहाँ छ र?
यो नीति लागू भएपछि उपभोक्ताले केबल कम्पनीसँग च्यानलको 'मेनु' माग्नेछन्। आफूलाई चाहिने वा आफूले पैसा तिर्नसक्ने च्यानलको दर हेरेर त्यसको मात्र ग्राहक बन्नेछन्।
उदाहरणका लागि, सिरियल हेर्न मन पराउनेले सोनी, जिटिभी र स्टार प्लसको ग्राहक बनेर अरू धेरै च्यानल कटाए भयो। संगीतमा रूचि भएकाले त्यस्तै खालका दर्जन च्यानलमध्ये एउटा-दुइटा मात्र लिए भयो।
यसले उपभोक्तालाई छनौटको अधिकार दिनेछ। मान्छे आफ्नो आवश्यकता र गोजी हेरेर च्यानलको ग्राहक बन्नेछन्। जसको क्षमता छ, ऊ दुई हजार तिरेर सबै च्यानल लिन्छ, क्षमता नहुनेले पाँच सय वा हजारमा आउने च्यानल मात्र हेर्छ।
सरकारले यो नीति लागू गर्ने हो भने केबल व्यवसायीहरू आफैं पाँच सय, हजार वा दुई हजारका अलग-अलग प्याकेजको 'रेट-कार्ड' बोकेर उपभोक्ताका घर-घर धाउन थाल्नेछन्।
विज्ञापन एसोसिएसनका अध्यक्ष रिजाल यो नीतिले उपभोक्तामाथि च्यानलको अनावश्यक भार अन्त्य हुने बताउँछन्।
'सबै उपभोक्तालाई सबै च्यानल चाहिँदैन। केबल व्यवसायीहरूले भनेजस्तो शुल्क महँगिए पनि उपभोक्ताले चाहिने चाहिने च्यानल मात्र राखेर थोरै पैसामै सेवा लिन सक्छन्। छनौट गरिएका च्यानल मात्र लिँदा मूल्य नबढ्न सक्छ,' उनले भने।
यति मात्र होइन, यो नीति लागू हुँदा भारतीय च्यानल बन्दै हुने अवस्था पनि नआउने उनी बताउँछन्। त्यस्तो अवस्था आएछ भने पनि त्यसलाई समस्या ठान्न नहुने उनको भनाइ छ।
'पहिलो कुरा त अहिलेभन्दा महँगोमा बेच्न पाइने 'क्लिन फिड' कार्यक्रम दिन्नौं भनेर भारतीय च्यानलहरूले भन्दै भन्दैनन्। त्यो त उनीहरूकै लागि घाटाको कुरा भयो,' उनले भने, 'कार्यक्रम रोकेछन् भने पनि के ठूलो कुरा भयो र? ती च्यानल विस्तारै हाम्रो बजारबाट विस्थापित हुनेछन्। स्वदेशी कार्यक्रम हेर्ने चलन बढ्नेछ।'
त्यसो त सम्बन्धित च्यानलका एपहरूमा पनि ती कार्यक्रम हेर्न नपाइने होइन। तर, यसरी भिडियो चल्ने एपहरू सबै नेपालीको पहुँच र शुल्कका हिसाबले सहज छैन। यस्तोमा घर बसेर दिनभर सबै च्यानल हेर्नेहरूलाई केही समस्या हुन सक्छ, जुन क्षणिक मात्र हो।