नेपालको ठूलो आर्थिक साझेदार राष्ट्र को होला ? हामी सहजै अनुमान गर्न सक्छौं भारत। त्यसपछिको चीन। आर्थिक सुचकहरु नहेरी हामी यी दुई मुलुकलाई नेपालको सबैभन्दा नजिकका आर्थिक साझेदार राष्ट्र भन्न सकिन्छ ।
तर, तेस्रो ठूलो साझेदार कुन होला ? त्यसलाई भने भारत र चीन जस्तो फ्याट्टै भन्न सकिँदैन । किनकी विश्वका अन्य देशहरुले नेपालका विभिन्न क्षेत्रमा जोडिएर आफ्ना आफ्नै ढङ्गले काम गरिरहेका छन् ।
हामीले यहाँ मुख्य चार सूचकलाई आधार मानेर नेपालको तेस्रो आर्थिक साझेदार राष्ट्र खोजी गरेका छौ।
हामीले व्यापारलाई एउटा सूचकका रुपमा लिएका छौ। अर्थतन्त्रको साझेदारी वस्तुको व्यापारसँग मात्रै जोडिदैन । यो बाहेक सेवा क्षेत्रपनि अर्थतन्त्रको अर्काे साझेदार हो । सेवा क्षेत्रको रुपमा हामीले पर्यटनलाई लिएका छौ । सूचकमा प्रत्यक्ष बैदेशिक लगानी तथा रेमिट्यान्सलाई पनि समेटेका छौ।
बैदेशिक व्यापार
चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले १२ खर्ब ५६ अर्बभन्दा बढीको व्यापार भएको छ । जसमा विभिन्न १ सय ५५ भन्दा बढी देशबाट ११ खर्ब ७८ अर्बको आयात र ७८ अर्बको निर्यात गरेको छ ।
पछिल्लो पाँच वर्षको तथ्याङक हेर्दा नेपालमा भारतसँग मात्रै ३४ खर्ब ४१ अर्बको व्यापार गरेको छ । यसमा ठुलो हिस्सा आयात र नगन्य रुपमा निर्यात पर्छ । सोही अवधिमा चीनसँग व्यापारको अवस्था पनि उस्तै छ । पाँच वर्षमा नेपाल चीनबीचमा ६ खर्ब ८४ अर्बको व्यापार भएको भन्सार विभागको तथ्यांक छ ।
नेपालले पछिल्लो पाँच वर्षमा अमेरिका सँग ८८ अर्बको व्यापार गरेको छ । अमेरिका व्यापारमा नेपालको चौथो ठूलो साझेदार हो।
अमेरिकाको व्यापारको प्रकृति भने अरु देशको भन्दा फरक छ । अरु देशमा बढ्दै गएको व्यापार घाटा अमेरिकासँग त्यति फराकिलो छैन, कुनै वर्ष त नेपाल अमेरिकाको व्यापार नाफामा छ ।
चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले अमेरिका बाट ९ अर्ब ९२ करोडको बस्तु आयात गरेको छ भने ८ अर्ब ८४ करोडको बस्तु निर्यात गरेको छ ।
यस्तै गत आर्थिक वर्ष ९ अर्ब ८९ करोडको सामान नेपाले अमेरिका बाट भित्राएको थियो । सोही अवधिमा ९ अर्ब १६ करोडको सामान अमेरिका निर्यात गरेको छ । आर्थिक वर्ष २०७३÷७४ र २०७२÷७३ मा नेपालको अमेरिका सँग ४९ करोड र ६१ करोड व्यापार नाफामा थियो ।
अन्य देशमा आयतको तुलनामा नगन्य निर्यात भएको अवस्थामा अमेरिकासँगको व्यापार भने सन्तोषजनक छ । यसले गर्दा नेपाल अमेरिकाको व्यापार विस्तार गर्दा फाइदा भइरहेको छ ।
पर्यटन
गत वर्षमात्रै नेपालले सबैभन्दा बढी पर्यटन भित्रयाएको रेकर्ड राख्यो । नेपालमा करिब १२ लाख पर्यटकले नेपालको भ्रमण गरेको तथ्याङक नेपाल पर्यटन बोर्डको छ । यो वर्षको पहिलो पाँच महिनामा २७ प्रतिशतले पर्यटक बढेको बताइएको छ । त्यसमा पनि भारतबाट स्थलमार्ग हुदै नेपाल आउने पर्यटकको सँख्यामा भने सधै शंका हुन्छ ।
पछिल्लो समय चिनियाँ पर्यटकको आगमन पनि बढीरहेको छ ।
पछिल्लो पाँच वर्षको तथ्याङकमा सबैभन्दा बढी ६ लाख ८९ हजार ४२२ भारतीयले नेपालको भ्रमण गरेका छन् । सोही समयमा ५ लाख ५३ हजार ६५ जना चिनियाँ र ३ लाख १७ हजार ९३ अमेरिकन नागरिकले नेपालको भ्रमण गरेको तथ्याङ पर्यटन बोडसँग छ । पर्यटनका दृष्टिले नेपालको आर्थिक साझेदारमा भारत र चीन पछि अमेरिका छ।
सन् २०१८ मा पर्यटन बाट मात्रै ७० अर्ब ३१ करोड भन्दा बढी आम्दानी भएको नेपालल राष्ट्र बैंकले जनाएको छ। सन् २०१७ मा पर्यटनबाट ६५ अर्ब ८० करोड रुपैयाँ आम्दानी भएको थियो ।
नेपाल भ्रमण गर्न आउने पर्यटकले दैनिक करिब ५० अमेरिकी डलर खर्च गर्ने गरेको पर्यटन बोर्डको तथ्याङक छ । तर, नेपालका पर्यटन क्षेत्रका जानकारहरु भने भारतीय र चिनियाँ पर्यटकको तुलनामा अमेरिकी वा युरोपी पर्यटकले धेरै पैसा खर्च गर्ने बताउछन् ।
बैदेशिक लगानी
नेपालमा सबैभन्दा बढी लगानी भारतको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गरेको दुई वर्षको तथ्याङ्कमा भारतीय लगानी ९ अर्ब ८९ करोडको नेपाल भित्रिएको छ । त्यस्तै सोही अवधिमा चिनियाँ लगानी भारतकै हाराहारीमा ९ अर्ब ३२ करोड छ ।सातौमा अमेरिका पर्छ ।
रेमिट्यान्स
नेपाल राष्ट बैंकका अनुसार सन् २०१७ जुलाईदेखि २०१८ जुन सम्मको तथ्याँकमा नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको थियो । यो एक वर्षमा अमेरिका बाट १ अर्ब २० कारोड अमेरिकी डलर भन्दा बढी रेमिट्यान्स भित्रिएको छ। अमेरिका पछि भने नेपालमा कतारबाट ५१ करोड अमेरिकी डलर र तेस्रोमा मलेसियाबाट ४७ कारोड अमेरिकी रेमिट्यान्स एक वर्षमा भित्रिएको थियो।
चारै सुचकमा पहिलो र दोस्रोमा जस्तो तेस्रोमा पनि कुनै एउटा देश परेको छैन । सिमाना जोडिएको पहिलो र दोस्रो देश पछि हामी औषतका आधारमा नेपालसँग आर्थिक साझेदार राष्ट्र छानेको छौ ।
व्यापारको हिसाबले तेस्रोमा परेको युएइ अन्य कुनै सुचकमा अगाडि आएको छैन । यस्तै नेपालमा तेस्रो धेरै विदेशी लगानी भित्राउने बेलायत पनि अन्य सुचकमा कमजोर देखिएको छ । त्यसो भए नेपालको तेस्रो आर्थिक साझेदार को त ?
व्यापारको हिसाबले चौथोमा रहेको अमेरिका पर्यटनको सूचकमा तेस्रोमा थियो । यस्तै, लगानीमा केही पछाडि रहेपनि रेमिट्यान्स सूचकका आधारमा अमेरिका सबैभन्दा बढी रेमिट्यान्स पठाउने देश हो।
भौगोलिक हिसाबले टाढा मानिए पनि आर्थिक हिसाबले अमेरिका नेपालको तेस्रो आर्थिक साझेदार मुलुक हो ।