पहिले पहिले रुपन्देहीका बासिन्दाले नियमित कपाल काट्ने ठाउँ नभएपछि भारतीय नागरिक (ठाकुर) हरूलाई बोलाएर काम चलाउँथे।
विवाह व्रतबन्ध, मर्दापर्दा पुजाआजामा कपाल काट्नु पर्ने, तर नेपालमा कपाल काट्ने व्यक्ति नभएपछि सीमावर्ती भारतीय बासिन्दा (हजाम) बोलाउनुपर्ने बाध्यता थियो।
हजाम अर्थात् नाई भनिने ठाकुरहरू सामान्यतया दिनभरि गाउँगाउँमा कपाल काट्ने औजार लिएर डुल्थे। जसबाटै चलेको थियो पुरुषहरूको कपाल काट्ने काम।
दिनभरि बाकसमा औजार लिएर कपाल काट्न हिँड्नेहरू पनि आफूलाई आवश्यक पर्दा नपाइने भएपछि एक सय ३ वर्ष भन्दा पहिले रुपन्देहीको केरवानीका एक जमिनदारले भारतीय नागरिक उत्तम नाउलाई ल्याएर आफ्नै जमिनमा बस्न दिए।
उत्तमले आवश्यक पर्दा जमिनदारको परिवारका सदस्यको कपाल काट्ने र अन्य समय गाउँगाउँ डुलेर जीविका चलाइरहे।
उत्तम नाउका छोरा गोले ठाकुर र तिनका छोरा रामविनोद ठाकुरले पनि आफ्नो जीविका बुवा र हजुरबुवाले जस्तै नै चलाए।
अहिले रामविनोदका छोरा मोहन ठाकुरले पनि कपाल काट्ने आफ्नो पेसा छोडेका छैनन्। कपाल काट्नकै लागि नेपाल ल्याइएका उत्तम नाउको चौथो पुस्तासम्म आइपुग्दा उनीहरू नेपाल बस्न थालेको १ सय ३० वर्षभन्दा बढी भएको छ।
यो अवधिमा मुलुकमा धेरै परिवर्तनहरू भए तर उनीहरूको पेसा भने परिवर्तन भएन।
उत्तम नाउका पनाति मोहन ठाकुरलाई आफ्ना हजुरबुवा गोले ठाकुरले गाउँगाउँमा डुलेर कपाल काटे वापत जमिनदारले वार्षिक रूपमा धान, मकै, गहुँ, तेल दिने गरेको सम्झना छ।
मोहन भन्छन्, ‘हजुरबुवा गाउँगाउँमा गएर कपाल काटेको सम्झना छ, हामी पनि कहिलेकाहीसँगै पछि लागेर जान्थ्यौं, चाडपर्वमा जमिनदारहरूले रोटी, मिठो मिठो खानेकुरा दिन्थे हामी खुसी हुन्थ्यौं।’
तर अहिले समय फेरिएको छ। पहिले दिनभरि घरघरमा डुलेर दुई चार रुपैयाँमा कपाल काटिदिने नाउहरूको पेसाले व्यवसायिक रूप लिइसकेको छ।
उत्तम नाउको चौथो पुस्तासम्म आइपुग्दा कपाल काट्नको लागि जमिनदारहरूको घर/घर चहार्नुपर्ने बाध्यता हटेको छ। जमिनदारहरू आफैं नाईको पसल खोज्दै बजारसम्मै पुग्न थालेका छन्।
बसपार्क, सार्वजनिक चोक, हाटबजार तथा मानिसहरूको भीडभीड हुने स्थानमा टुल र ढुंगामा बसेर कपाल र दाह्री काट्नेहरू पनि आरामदायी स्थानको खोजी गर्न थालेपछि हातमा बाकस र कपाल काट्ने औजार लिएर डुल्ने नाईहरूको संख्या नगन्य हुने गरेको छ।
पुरुषहरू मात्र कपाल काट्थे अहिले महिलाहरू समेत कपाल काट्न थालेका छन्। महिलाले महिलाको मात्र कपाल काट्ने र पुरुषले पुरुषको मात्र कपाल काट्ने यो सोचाइ समेत करिब हटिसकेको छ।
रुपन्देहीमा अहिले करिब ६ सय हाराहारी व्यवसायिक रूपमा खोलिएका पुरुष शैलुन छन्। त्यतिकै संख्यामा महिलाका व्यूटिपार्लर खोलिएका छन्। कुनै बेला त्यो भन्दा बढी मात्रामा गाउँगाउँमा डुलेर कपाल काट्नेहरू थिए। पछिल्लो पुस्ता गाउँ डुल्न छोडेको छ।
त्यो मात्र होइन वर्षभरि कपाल काटेर एकै पल्ट अनाज लिने परम्परा बालीघर प्रथा अन्त्य भएको पनि ४० वर्ष बढी भइसक्यो।
मोहन भन्छन्, ‘बालीघरे प्रथा सकियो’ उनले कारण पनि खुलाइदिए, ‘पछिल्लो समय पहाडबाट तराई झर्नेहरूको चाप बढेपछि उनीहरूले अनाजलाई पैसामा रूपान्तरण गरिदिए।’
रूपन्देहीमा ठाकुरहरूको जनसंख्या करिब १० हजार छ। पछिल्लो पुस्तामा आइपुग्दा धेरैले आफ्ना सन्तानलाई कपाल काट्न सिकाउन छोडिसकेका छन्।
पेसा सम्मानित भएन, रोजगारी पाइँदैन भन्ने बुझाइ युवा पुस्तामा छ।
नेपाल प्रहरी र नेपाली सेनामा हरेक तालिम केन्द्र र गणमा एक जना हजामको दरबन्दी रहे पनि सीमितले मात्रै रोजगारी पाउने गरेका छन्, त्यसैमा पनि हजामको दरबन्दी प्रहरी परिचर सरहको हो त्यसकारण पनि यो पेसामा युवाहरू अनिच्छुक छन्, तर आफैं व्यवसाय सञ्चालन गर्न सकियो भने राम्रै आम्दानी हुन्छ’, मोहन भन्छन्।
मोहनका बुवा रामविनोद र उनकी श्रीमती छोरोले धेरै पढोस् र सरकारी अधिकृत बनोस् भन्ने चाहन्थे। त्यसैले उनलाई बुवाले आफूलाई डुलाएजस्तै कपाल काट्न सँगै गाउँ डुलाएनन्। केरवानी माध्यमिक विद्यालयमा भर्ना गरिदिए।
स्नातक पढेका मोहनले बुवाआमाको चाहना पूरा गर्न सकेनन् र समाए जिजु हजुरवुबा उत्तम नाउले नेपाल आएर सुरू गरेको पेसा अर्थात् पुर्ख्यौली पेसा, हजाम अर्थात् नाई। मोहनका भाइलाई पनि यही पुर्ख्यौली पेसा नै उपयुक्त लाग्यो।
केही वर्ष रेडियोमा कार्यक्रम सञ्चालक र पत्रपत्रिकामा स्तम्भ लेखकका रूपमा समेत आफूलाई परिचित बनाएका मोहनले आफ्नो सीपबाट जति ग्राहकलाई चित्त बुझाउन सकेका छन्, उत्ति नै आफू पनि यो पेसाबाट सन्तुष्टि मिलेको बताउँछन्।
‘जागिर खाने सम्भावना भएन अहिले आफैंले व्यवसाय थालेको छु, राम्रै आम्दानी हुन्छ सन्तुष्ट पनि छु,’ मोहन भन्छन्।
मोहनले बुटवलको अमरपथमा सञ्चालन गरेको आफ्नो सैलुनको नाम दिएका छन् निल डेभिड। उनको सैलुनको नामबाटै युवायुवतीहरूको भीड लाग्छ।
‘निल डेभिड अर्थात् निलेन्द्र कटवाल झापाका युवा हुन्। उनले डेभिड भन्ने लण्डन नागरिकसँग लण्डनमै कपाल काट्न सिके। नेपाल फर्केपछि गुरुको नाम जोडेर सैलुन चलाए। डेभिडबाट कपाल काट्न सिकेका निलेन्द्रले नेपाल आएर थुप्रै युवाहरूलाई सिकाए।
उनीसँगै सिकेका चेलाहरूले सैलुनको नाम निल डेभिड भनेर राख्न थालेपछि नेपाल र भारतमा गरी एकसय बढी यसका शाखाहरू फैलिएका छन्। त्यो भन्दा धेरै निल डेभिडका चेलाहरू’, मोहनले पार्लरको नाम निल डेभिड राख्नुको कारण यसरी खुलाए।
फलामे घरेलु औजारबाट ढुंगा र काठको मुढामा बसेर दाह्री र कपाल काट्ने जिजु हजुरबुवाको पेसा परिमार्जित र व्यवसायिक बन्दै अहिले वातानुकूलित कोठामा आइपुगेको छ।
बुटवलको गर्मी, एसी पार्लरको माग बढेको अवस्थामा मोहनले युवायुवतीहरूको त्यो भावनालाई टपक्क टिप्न सके। जसकारण मोहनको सैलुनमा कपाल काट्न र श्रृंगारका लागि पालो कुर्नेहरूको संख्या ठूलै हुन्छ। निलेन्द्र कटवालसँग तालिम लिएका मोहन हेयर कटिङ र श्रृङगारको तालिमको लागि थाइल्याण्डसम्म पुगेका छन्।
एसी पार्लर मात्र होइन मोहनले महिलाहरूको श्रृंगारका सामग्रीको गुणस्तरमा समेत सम्झौता नगर्ने दाबी गर्दै आएका छन्।
‘मैले प्रयोग गर्ने सामग्री ब्राण्डेड हुन्छन् त्यसकारण पनि ग्राहकहरू सन्तुष्ट छन्,’ उनले भने।
विज्ञहरूले श्रृंगारका सामग्री जथाभावी प्रयोग गर्दा महिलाहरू सुन्दर बन्न खोज्दा कुरुप बन्न सक्ने खतरा रहेको बताउँछन्।
‘कम गुणस्तरका श्रृंगारका सामग्रीले महिलाहरूको मुहारमा चाया पोतो, कालोदाग र पिम्पल्स आउने खतरा बढी हुन्छ,’ मोहनले भने।
तीन वर्ष अघि सुरू गरेका मोहनको निल डेभिड सैलुनमा ६ जना कर्मचारी छन्। तीमध्ये ४ जना महिला छन्। जसले पुरुषहरूको समेत कपाल काट्छन् भने २ जना पुरुषले महिलाको श्रृंगार समेत। मोहन आफैं पनि कपाल काट्ने काममा व्यस्त हुन्छन्।