माइतीघरबाट बानेश्वर चोक नपुग्दै बाँयापट्टी माइती क्याफे छ। त्यही क्याफेमा माइती नेपाल नामक सामाजिक संस्थाले उद्धार गरेका ९ जना महिला काम गर्छन्।
साढे दुई करोड लगानी गरेर क्याफे खोलिएको हो। जसमध्ये ५२ प्रतिशत माइती नेपाल र ४८ प्रतिशत ‘आफ्नो नेपाल’ नामको संस्थाको छ। आफ्नो नेपाल संस्थामा चारजना सदस्य छन्। उनीहरूले नै क्याफे सञ्चालनको जिम्मा लिएका छन्।
सञ्चालकमध्येका समिर पन्थीले सेतोपाटीसँग भने, ‘माइती क्याफे शोषण र उत्पीडनमा परेका महिलाहरुलाई रोजगारी सिर्जना गर्न खोलिएको क्याफे हो।’
ती मध्येकी एक हुन् पुनम। उनलाई १३ वर्षको उमेरमा माइती नेपालले उद्धार गर्यो। लामो समय उनी माइती नेपालको संरक्षणमा बसिन्। भर्खरैमात्र उनी छुट्टै कोठा लिएर बस्न थालेकी छिन्।
पुनम आफ्नो विगत कोट्याउन चाहँदिनन्। ‘जति कुरा गरें, पहिले नै गरें। अब त्यो सब कुरा गरेर फाइदा हुँदैन,’ उनले भनिन्।
उनले दुःखलाई जितिन्। आफूलाई दुःखले नै बल दिएको उनको भनाइ छ। क्याफे लन्च भएदेखि नै उनले काम थालिन्। उनी क्याफेमा वेटर, बार सबै हेर्छिन्।
पुनमकै साथी मेघमाया पनि क्याफेमा काम गर्छिन्। मेघमाया किचेन हेल्पर हुन्।
मेघमायाको आमाबुवा छैनन्। बुवाआमा बितेपछि उनी माइती नेपालको साहरामा पुगेकी हुन्।
उनी कलेज पनि पढ्छिन्। बिहान कलेज, दिउँसो क्याफे। मेघमायाको दैनिकी यसरी नै बित्छ। उनले मानविकी लिएर पढ्दैछिन्। उनलाई कलामा रूची छ।
पैसा जम्मा गरेर पछि आफ्नै होटल खोल्ने उनको इच्छा छ। त्यसैको लागि उनी अहिलेबाटै थोरथोरै रकम जम्मा गर्छिन्।
पुनम र मेघमायाजस्तै बाँकी ७ जनाको पनि पनि उस्तै कथा र सपना छ। तर दुःखको अंश उनीहरूमा झल्किँदैन। सबै हँसिला, फुर्तिला छन्।
क्याफेको ग्रान्ड ओपनिङ शनिबार भएको छ।