सपिङ कम्प्लेक्स सहित यसअघि निर्माण गरेको लुम्बिनी बस टर्मिनल भवनमा सामाजिक विकास मन्त्रालय रहेपछि बुटवल उपमहानगरपालिकाले अर्को सपिङ कम्प्लेक्सको निर्माण शुरु गरेको छ।
उपमहानगरपालिकाले एकवर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको भवन निर्माणको आइतबार शिलान्यास भएको हो। झण्डै आठ करोड रुपैयाँको लागतमा निर्माण हुने उक्त भवन तीन तलाको हुने छ।
बढ्दो सहरीकरणका कारण खाली जग्गाको अभाव भइरहँदा उपमहानगरपालिकाले बहुतले भवन निर्माणमा जोड दिएको छ। प्रमुख शिवराज सुवेदीका अनुसार लुम्बिनी बस टर्मिनल परिसरमा निर्माण हुन लागेको ‘बहुउद्देश्यीय भवनमा’ पार्किङ सहितको अत्याधुनिक सपिङ कम्प्लेक्स बन्ने छ।
बुटवललाई आर्थिक कारोबारको केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने र बुटवलका लागि दिगो आयस्रोतको आधार बन्न सक्नेगरी बहुउद्देश्यीय भवनको उपयोग हुने उपमहानगरपालिकाको दावी छ।
निर्माण कम्पनी प्रेम सुनिल समिर जेभीका प्रोप्राराईटर नारायण पोख्रेलले निर्माण कार्य तोकेको समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए। बस टर्मिनल परिसरमा बन्ने यो अत्याधुनिक भवन नगर विकास कोषसँगको विशेष सहकार्यमा निर्माण हुन लागेको हो। यसका लागि बुटवल र कोषका बीचमा गत फागुनमा सम्झौता भएको थियो।
निर्माण कम्पनीले भने करिब आठ करोड रुपैयाँमै निर्माण गर्न सक्ने भन्दै ठेक्का सम्झौतामा हस्ताक्षर गरेर काम सुरु गरिसकेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए।
०७७ साउनमा निर्माण सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको सहरी पूर्वाधार विकास महाशाखा प्रमुख वरिष्ठ अधिकृत इन्जिनियर सुमन श्रेष्ठले बताए। बुटवलमा पार्किङको अभाव बढ्दै गइरहेका बेला बुटवल उपमहानगरले पार्किङसहितको अत्याधुनिक सपिङ कप्लेक्स निर्माण गर्न लागेको हो।
तीन तलाको भवनमा पार्किङ बाहेक विभिन्न साइजका ६८ वटा व्यवसायिक सटरहरु निर्माण हुने छन् । भुइँतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७÷२७ वटा सटर बन्नेछन्।