बुधबार प्रहरीले ठमेलका तीन फेन्सी पसलमा छापा मार्यो। छापा मार्दा प्रहरीसहित उद्योग विभागका केही कर्मचारी पनि थिए।
महानगरीय प्रहरी परिसरले छापा मार्दासम्म पसलेलाई के भइरहेको छ भन्ने जानकारी नै थिएन। पछि थाहा पाउँदा पसलमा राखिएको सामानमा आधिकारिक कम्पनीको अनुमतिबिना ट्रेडमार्क राखेको भेटियो। अर्थात्, आधिकारीक कम्पनीको अनुमतिबिना नक्कली लोगो बनाएर सामान बेचिएको थियो।
गत २९ जेठमा नै अमेरिकी कम्पनी ‘द नर्थ फेस’ले आफ्नो सामानको नक्कली प्रति उत्पादन गरेर बिक्री गरेको दाबी गर्दै तीन पसलविरुद्ध उद्योग विभागमा उजुरी हालेको थियो। अधिवक्ता गौरीशकृष्ण खरेलले ‘द नर्थ फेस’को तर्फबाट उद्योग विभागमा उजुरी दर्ता गराएका थिए।
नर्थ फेसले उधिवक्ता खरेललाई उक्त कामको लागि अख्तियारी दिएको थियो। नर्थ फेसका प्रतिनिधि नेपाल आएर यसको अध्ययन गरिरहेका थिए। उजुरी परेपछि आफ्नो कम्पनीको ट्रेडमार्क दाबी गर्दै नर्थ फेसले आगामी दिनमा प्रयोग नगर्न नेपालको राष्ट्रिय छापामा सार्वजनिक सूचना समेत निकालेको थियो। त्यतिबेलासम्म उद्योग विभागले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर त्यसको जानकारी गरायो।
जिप्रकाले महानगरीय प्रहरी परिसरको सहयोगमा उद्योग विभागका प्रतिनिधिसहित बुधबार उजुरी परेका तीनै पसलमा छापा मारेको थियो। कम्पनीले तीन पसलविरुद्ध किटान गरेरै विभागमा उजुरी दर्ता गरेको थियो।
बुधबार ठमेलको द माउन्टेन्ड वेयर, नेपाल प्लाजामा रहेको वर्ल्ड कालापत्थर आउटडोर कलेक्सन र ग्यालेक्सी ट्रेकिङ स्टोरमा प्रहरीले छापा मारेको हो। नर्थ फेसले दाबी गरेको जस्तै उक्त पसलबाट प्रहरीले नर्थ फेसको नक्कली लोगो प्रयोग भएका विभिन्न सामान फेला परेको छ।
प्रहरीले द माउन्टेन वेयरबाट ९ थान मोटो ज्याकेट, ८ थान सिलिकन, ३ थान सपसेल, ३ थान स्लिपिङ ब्याग र अन्य विभिन्न ब्याग ३ थान, गोरेटेक्स ज्याकेट ५ थान, बच्चाको भेष्ट ७ थान तथा जुत्ता ३ जोर जफत गरेको हो।
यस्तै, नेपाल प्लाजामा रहेको वर्ल्ड कालापत्थर आउटडोर कलेक्सनबाट २५ थान ज्याकेट, सर्ट २१ थान तथा टाउजर १५ थान जफत गरेको छ। ग्यालेक्सी ट्रेकिङ स्टोरबाट ज्याकेट १५ थान, स्लिपिङ ब्याग १ थान, अन्य ब्याग ६ थान तथा टाउजर १० र अन्य जुत्ता, मोजा र पन्जा १र१ थान जफत गरेको छ।
नेपालमा पेटेन्ड डिजाइन र ट्रेडमार्क ऐन २०२२ मा आधिकारिक कम्पनीको अनुमतिबिना ट्रेडमार्क प्रयोग गर्न नपाइने प्रष्ट उल्लेख छ।
उक्त ऐनको दफा १८ ९ख० मा विभागमा दर्ता नगराई कुनै ट्रेडमार्क पनि रजिष्टर्ड ट्रेडमार्कको रुपमा प्रयोग गर्न नपाइने उल्लेख छ। द नर्थ फेसले आफ्नो ट्रेडमार्क २०५६ सालमा नै आफ्नो नाममा दर्ता गराएको थियो। त्यसपछि पनि पटक–पटक आफ्नो लोगो डिजाइन परिवर्तन गर्दा विभागमा पनि जानकारी गराएको देखिन्छ।
विभागका अनुसार अहिलेसम्म द नर्थ फेसले २०६२ तथा २०६३ मा समेत ट्रेडमार्क अपडेट गराएको छ। आफ्नो ट्रेडमार्क हुदाँहुदै कम्पनीको स्वीकृति नलिई वस्तु उत्पादन गरेपछि कम्पनीले ऐनको दफा १९ बमोजिम विमागमा उजुरी गरेको थियो।
नेपालमा नर्थ फेसको एक मात्र आधिकारिक बिक्रेता पनि छ। तर, सक्कली नर्थ फेसको सामानको मूल्य बजारमा पाइने नक्कली नर्थफेससँग तुलना नै गर्न नमिल्ने हुन्छ। जानकारहरू नर्थफेसको सक्कली ज्याकेटको न्यूनतम् मूल्य १७ हजार रहेको बताउँछन्।
हेर्दा त्यस्तै देखिने ज्याकेट भने २÷३ हजारमानै बजारमा पाइन्छ। त्यसैले पनि नर्थ फेसको ब्रान्ड बेचेर काठमाडौंमा नै धेरै कपडा बनाउने कम्पनी चलेका छन्। पर्यटन सिजनको मुखैमा प्रहरीले छापा मारे पनि ठमेलका व्यापारीहरूमा त्रास सिर्जना भएको छ।
ठमेलका एक व्यापारी भन्छन्, ‘सेप्टेम्बरबाट सिजन सुरू हुन्छ, त्यसका लागि धेरै व्यापारीले सामान तयार गरिसके, अब प्रहरीले छापा पार्ने डरले पसल बन्द गरेर बस्नुपर्ने भएको छ।’
सन् २०२० मा सरकारले मनाउन लागेको भ्रमण वर्षका लागि सामान तयारी गरिरहेका व्यपारीहरुलाई समेत यसले समस्या पारेको उनले बताए। ‘अब नबनाउने कुरा भयो,’ उनले भने, ‘ठमेलमा अर्बौं रुपैयाँ बराबरका कपडामा नक्कली लोगो प्रयोग गरेर उत्पादन भइसकेको छ। त्यो लोगो अब उप्काउन मिल्दैन। त्यसैले व्यापारीहरु अब के गर्ने भन्ने चिन्तामा छन्।’
तर, विभाग भने उत्पादन भएको सामान बिक्री गर्न दिने तर आगामी दिनमा उत्पादन गर्न निरुत्साहित गर्ने पक्षमा देखिन्छ। उद्योग विभागका कानुन उपसचिव टंकबहादुर महत भन्छन्, ‘व्यापारीहरू आफैंले आफ्नो नाममा लोगो दर्ता गरेर सामान बनाउन्, कानुनी रुपमा अनुमतिबिना अरुको लोगो प्रयोग गरेर सामान बनाउन मिल्दैन। अहिले उत्पादन भएको भइहाल्यो अब यसलाई निरुत्साहित गर्नुपर्छ।’
नर्थ फेसले थप १५ पसल तथा कपडा बनाउने कारखानामा उजुरी गर्ने तयारी गरिरहेको बुझिएको छ। ‘नर्थ फेस अहिले नै सबै पसल बन्द गरेर कारबाही गर्ने पक्षमा छैन’ उद्योग विभागका एक कर्मचारीले भने, ‘तर अरु थप त्यस्तो सामान उत्पादन नहोस् भन्ने पक्षमा छ।’
ट्रेडमार्क चोरीका विषयमा विभागमा यसअघि पनि विभिन्न उजुरी परेका थिए। यसअघि जिक्सर घडी, क्यसियो कम्पनीको क्यालकुलेटर, कस्मेटिक सामान उत्पादन हुने विभिन्न कम्पनीमाथि विभागमा उजुरी परेको थियो।
आर्थिक वर्ष २०७५÷७६ मा मात्रै पेटेन्ड राइट सम्बन्धीमात्रै ३ सय १६ उजुरी परेको विभागले जनाएको छ। यसअघिका उजुरीसहित गत वर्ष मात्रै विभागले २ सय ७७ उजुरीको फैसला समेत गरेको छ। अझै पनि विभागसँग ५ सय ३४ उजुरी फैसला हुनै बाँकी छन्।
कसरी लिने नयाँ कम्पनीले पेटेन्ड राइट ?
पेटेन्ड डिजाइन र ट्रेडमार्क ऐन २०२२ अनुसार कम्पनीको ट्रेडमार्क लिन सकिन्छ। कुनै पनि कम्पनीले आफूले उत्पादन गरेको सामानको ट्रेडमार्क लिन विभागमा गएर निवेदन दिनुपर्छ। निवेदन दिएपछि विभागले उक्त नामको कम्पनीमाथि अरु कसैको दाबी विरोध भए समय दिन्छ।
कानुनी रुपमा समय नतोके पनि सामान्यतया निवेदन स्वीकृत हुन डेढ वर्षसम्म लाग्न सक्छ। त्यसपछि ५ हजार रुपैयाँ दस्तुर तिरेर आफूले दर्ता गरेको पेटेन्डको प्रमाणपत्र लिन पाइछ। त्यसपछि हरेक ७/७ वर्षमा ३५ सयका दस्तुर तिरेर पेटेन्ट नवीकरण गर्नुपर्छ।
पेटेन्ड चोरेर चलाउनेलाई के सजाय हुन्छ ?
पेटेन्ड चोरी गरी प्रयोग गरेको प्रमाणित भए विभागले कानुनअनुसार कारबाही गर्छ। पेटेन्ड डिजाइन र ट्रेडमार्क ऐन २०२२ अनुसार कुनै पनि कम्पनीको स्वीकृति नलिई लोगो मात्रै उसको बनाएर वस्तु उत्पादन गरेमा बढीमा एक लाखसम्म जरिवाना गर्ने व्यवस्था छ।
केही महिनाअघि मात्रै पनि क्यासियोको लोगो प्रयोग गरी नक्कली सामान बिक्री गरेको उजुरी परेपछि बिक्रीकर्तालाई विभागले ३० हजार जरिवाना गरेको थियो। तर, बिक्रीकर्ता वा उत्पादकले आफूले नक्कली सामान उत्पादन नगरेको दाबी गर्दै उच्च अदालतमा मुद्दा पुनरावेदन गर्न पाउँछ।
नर्थ फेसको विषयमा भने उजुरी परेको तीन पसलबाट सामान जफत गरी अनुसन्धान गरिरहेको विभागले बताएको छ। ‘हामीले हिजो सामान जफत गरेर ल्याएका छौं,’ उपसचिव महतले भने, ‘उनीहरू दोषी प्रमाणित भएर कानुनअनुसार कारबाही हुन्छ।’