साउनको अन्तिम हप्ता उद्योग विभागले छापा मारेपछि एकाएक तरङ्गित भएको ठमेलका व्यवसायीको मनको डर अझै मेटिएको छैन।
तर, त्यसले व्यपारीहरुलाई गतिलो पाठ भने सिकाएको छ। आँखा खोलिदिएको छ।
अहिले व्यवसायी अरुको लोगो प्रयोग गरेर अर्थात् अर्कैको ट्रेडमार्क प्रयोग गरेर सामान उत्पादन गर्ने भन्दा आफैंले कसरी ट्रेडमार्क दर्ता गर्ने भन्ने चासो देखाउन थालेको उद्योग विभागले जानकारी दिएको छ।
‘अहिले व्यवसायीहरू ट्रेडमार्क के हो? कसरी दर्ता गर्ने भन्दै प्रक्रिया सोध्न आउनुहुन्छ,’ विभागका कानुन उपसचिव टंकबहादुर महतले भने, ‘नर्थफेसको उजुरीले उहाँहरूलाई ट्रेडमार्क बारेमा उत्सुक बनाइदिएको छ।’
अमेरिकी कम्पनी द नर्थ फेसले आफ्नो अनुमतिबिना कम्पनीको लोगो प्रयोगगरी वस्तु उत्पादन गरेको भन्दै उद्योग विभागमा जेठमा उजुरी दर्ता गरेको थियो।
विभागमा नर्थ फेसले तीन पसलको नामनै किटान गरेर उजुरी दिए पनि ठमेलका अधिकांश पसलमा त्यसरीनै अरुको ट्रेडमार्क प्रयोग गरिएका सामान विक्री भइरहेका थिए।
विभागले अरु पसलमा पनि छापा मार्ने डरले व्यवसायीहरूले बजारनै बन्द गरेर बसे।
सरकारले आगामी वर्ष भिजिट नेपाल २०२० मनाउने घोषणा गरेको छ। सो समयमा धेरै पर्यटक आउने आशाले व्यवसायीहरूले उत्पादन बढाएर राखेका छन्। उत्पादन भएका सामान बेच्न नदिए व्यवसायीको अर्बौं रूपैयाँ डुब्छ।
व्यवसायीको समस्या देखेर नर्थ फेसले नेपालमा चाड पर्व सुरू हुन लागेकोले ३ महिनासम्मको लागि उत्पादन भइसकेका सामान विक्री गर्न समय दिएको छ। त्यसपछि पनि लोगो चोरी गरी बेचेको भेटिए कम्पनीले पुन: मुद्दा दर्ता गर्ने बताएपछि व्यापारीले ट्रेडमार्क दर्ता गर्न थालेको ठमेलका व्यापारी नारायण श्रेष्ठले बताए।
नर्थ फेसले उजुरी गरेपछि व्यवसायीको आँखा खुलेको उनी बताउँछन्। उनका अनुसार उनका अनुसार केही व्यवसायीले थाहा पाएर अर्काको लोगो प्रयोग गरेर सामान उत्पादन गर्दै आएका थिए भने केहीले थाहा नपाएरै प्रयोग गर्थे। एक्कासी ट्रेडमार्कको विषयमा उजुरी परेपछिआफ्नै ट्रेडमार्क लिने विषयमा ठमेलका व्यवसायी विच छलफल भएको छ। पुराना उत्पादन नर्थफेसकै लोगोमा बेचेर नयाँ उत्पादनका लागि ट्रेडमार्क लिन व्यवसायीहरू विभाग धाउन थालेका छन्।
‘ ट्रेडमार्कको विषयमा हामीले चासो दिएकै थिएनौं। जब विभागले ट्रेडमार्क चोरेको भनेर पसल छापा मार्यो, त्यसपछि व्यवसायीहरू ट्रेडमार्कको विषयमा बुझ्न विभाग धाउन थालेका छन्’, उनले सतोपाटीसँग भने।
कतिपय व्यवसायीले थाहा नपाएरै अरुको ट्रेडमार्क भएको सामान उत्पादन गरिरहेको उनी बताउँछन्।
उनका अनुसार उनले २५ वर्ष अघि आफ्नो छुट्टै कम्पनी खोलेर सामान बनाएका थिए, तर बजारमा नर्थफेसकै माग बढी देखेपछि नर्थफेस नै राखेर उत्पादन सुरू गरे।
नर्थ फेसले छोटो समयको लागि केही सहज बनाइदिएपनि त्यो दिर्घकालिन समाधान नभएको बुझेर नै व्यवसायीहरु आफ्नो उत्पादनको ट्रेडमार्क आफैंले लिने चासो देखाउन थालेको विभागको बुझाइ छ।
ठमेलका एक व्यवसायीका अनुसार नर्थफेसका प्रतिनिधि र ठमेलका व्यवसायीबीच एउटा समिति गठन गर्ने छलफल भएको छ। समितिले ट्रेडमार्क चोरी गरे नगरेको भन्ने अनुगमन गर्नुका साथै कारबाही समेत गर्छ।
‘अहिले उद्योग विभाग, नर्थफेसको प्रतिनिधि र ठमेलका व्यवसायीबीचमा एउटा समिति बनाउने कुरा भएको छ,’ एक व्यवसायीलले सेतोपाटीसँग भने, ‘त्यो समितिले ट्रेडमार्क चोरी गरे नगरेको अनुगमन गर्छ र प्रयोग गरेको पाइएमा कारबाही गर्छ।’
व्यवसायीले विभाग र नर्थ फेसलाई ट्रेडमार्कको आवश्यकता, फाइदाबारे जानकारीमूलक तालिम दिन प्रस्ताव गरेका छन्। व्यवसायीको प्रस्तावमा विभाग र कम्पनी दुवैले सहमति जनाएको व्यवसायीले जानकारी दिए।
व्यवसायीहरुले नर्थ फेसको उजुरी पछि अब नर्थ फेस मात्रै होइन कुनै पनि विदेशी कम्पनीको लोगो प्रयोग गरेर सामान उत्पादन नगर्ने बताएका छन्। नेपालमा उत्पादन रोकेपछि चीनबाट आउने सामान रोक लगाउन पनि सरकार लाग्नुपर्ने व्यवसायीले बताए।