भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म पाइपलाइनमार्फत डिजेल आउन थालेको छ। नेपालमा अधिकांश आयोजनाको काम लम्बिँदै गएका बेला तोकिएको अवधिभन्दा अघि नै सम्पन्न भएको यस आयोजना गतिलो उदाहरण समेत बनेको छ।
करिब २० वर्ष भन्दा अघिदेखि नै नेपाल र भारतबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको चर्चा चल्न थालेको जानकारहरु बताउँछन् । तर, सन् २००४ मा भने पेट्रोलियम पाइपलाइनको लागि पहिलो पटक सम्झौता भएको थियो।
तत्कालीन आपूर्तिमन्त्री ईश्वर पोखरेलको कार्यकालमा निगमका तत्कालीन कार्यकारी अध्यक्ष डा उपेन्द्र कोइरालाले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताको मोडालिटीको विषयमा भने भारतीय पक्षले आनाकानी गर्यो। मोडालिटीमै अल्झिदा आयोजनाको काम १० वर्ष अल्झियो।
सन् २०१५ अगस्ट २४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष पहलमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले परियोजनाको समझदारीपत्रमा हस्ताक्षर गरे।
त्यसपछि पनि अगाडि बढ्न नसकेको काममा हालका प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नै तत्परता देखाए। २०७३ चैत्र २४ मा पाइपलाइनको औपचारिक शिलन्यास भयो।
जतिबेला दुवै देशमा हालकै प्रधानमन्त्रीले पहिलो कार्यकाल सम्हालेका थिए। अहिलेजस्तै विद्युतीय माध्यमबाट प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बटन थिचेरै पाइपलाइन निर्माणको शुभारम्भ गरे।
३० महिनामा सक्ने गरी निर्माण थालिएको आयोजना झण्डै आधा समय अगाडि नै अर्थात १८ महिनामै सकिएको नेपाल आयल निगमले जनाएको छ। अब पाइपलाइनबाट तेल आउन थालेपछि मुलुक र उपभोक्तालाई के फाइदा हुन्छ त?
हाल ट्याङ्करमार्फत आउने तेल भारतको रक्सौल र बरौनीबाट आयात भइरहेको छ। बरौनीबाट काठमाडौं सम्मको दुरी ४ सय किलोमिटर छ। लामो दुरीमा ट्याङकरबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा इन्धनको चोरी, सवारी दुर्घटना, सवारी जाम, पेट्रोलको गुणस्तर आदी समस्या देखिएका थिए।
यस्ता समस्या समाधान गर्नका लागि पनि पेट्रोलियम पाइपलाइन बनाउनु परेको बताउँछन् नायब कार्यकारी निर्देशक सुशिल भट्टराई। ‘यी समस्या समाधानको लागि सबैभन्दा उत्तम विकल्प नै पाइपलाइन थियो,’ उनले भने।
अब पाइपलाइनबाट तेल आउने भएपछि बाटोमा हुने चोरी र मिसावट समस्याको धेरै हदसम्म समाधान हुने आयल निगमको दावी छ। अहिले डिजेलको कुल मागमा आधा मात्रै पाइपलाइनबाट आउन थालेको छ। बाँकी आधा पहिलेजसरी ट्याङ्करबाटै आउने हो।
अर्थात पाइपलाइनबाट औसतमा दैनिक ३ हजार र ट्याङ्करबाट दैनिक ३ हजार किलोलिटर डिजल नेपाल आउँछ। पाइपलाइनबाट आएको तेलले ढुवानी खर्च घट्छ। अर्थात अमलेखगन्जसम्म डिजल बोक्ने ट्याङ्करवापतको ढुवानीमा आधा रकम जोगिन्छ।
निगमका प्रवक्ता विरेन्द्र गोइतले भने, ‘ढुवानी भाडा बचत हुन्छ, त्यसबाट उपभोक्तालाई नै फाइदा पुग्ने हो।’ निगमले बरौनीदेखि काठमाडौं सम्मको ढुवानी खर्चको रुपमा प्रतिलिटर ३ रुपैयाँ ४८ पैसा खर्च जोड्ने गरेको छ।
अब अमलेखगन्जबाटै काठमाडौं तेल ल्याउन पाइने भएपछि यो लागत घट्ने गोइतको तर्क छ। पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा वार्षिक १ अर्ब ७५ करोड बचत हुने भट्टराईकाे अनुमान छ।
भट्टराइले भने ‘पाइपलाइनले ढुवानीमा खर्च कम गरिदिएको छ, यसको फाइदा एनओसीले मात्रै होइन, उपभोक्ताले पनि पाउनुपर्छ त्यसैले सुरुआती चरणमै हामीले पेट्रोलियम पदार्थको मूल्य पनि घटाइसक्यौँ।’
निगमले पेट्रोलियम पाइपलाइनको उद्घाटनकै दिन डिजेल, मट्टितेल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको थियो। भविस्यमा यसले अझै मूल्य घटाउन सहयोग पुग्ने जानकार बताउँछन्।
यस्तै पाइप लाइनबाट तेल ल्याउँदा प्रदुषण पनि नियन्त्रण हुने छ। दैनिक रुपमा हजारौं ट्याङकर ओहोर दोहोर गर्दा वातावरणमा हुने प्रदुषण पाइपलाइनको प्रयोगसँगै घट्ने निगमले जनाएको छ।
अर्कोतर्फ तेल भित्र्याउने ट्याङ्करलाई नै हाल्नुपर्ने इन्धन जोगिन जान्छ। नेपालको आयात व्यापारमा इन्धनको हिस्सा सबैभन्दा उच्च छ। पाइपलाइनले केही हदसम्म सघाउ पुग्ने अनुमान छ। यस्तै, मिसावट हुने समस्या हल भई पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको गुणस्तरमा पनि सुनिश्चितता हुने निगमको दाबी छ।
पाइपलाइनले गर्दा आयातमा लाग्ने समय पनि बचत हुने छ। ट्याङकरमार्फत इन्धन ढुवानी गर्दा लामो दूरी ट्राफिक जाम, भन्सार जाँच पास लगायतका कारणले लामो सयम लाग्ने गरेकोमा अब यो समस्या पनि समाधान हुनेछ। निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पाइपलाइनले पेट्रोलियम पदार्थको आपुर्ति सहज हुने बताए। ‘नाकामा अवरोध हुँदा पेट्रोलियम पदार्थको आयात नै अवरुद्ध हुने अवस्थाको अन्त्य भयो,’ उनले भने।
यस्तै, आइओसीका कार्यकारी निर्देशक जेपी सिन्हाले पाइपलाइनको उद्घाटन कार्यक्रममा बोल्दै ट्याङकरबाट गरिने ढुवानी भन्दा पाइपलाइन सुरक्षित रहेको बताए।
‘यो सुरक्षित मात्रै होइन, वातावरण प्रदुषणको हिसाबले पनि राम्रो हुन्छ,’ सिन्हाले थपे, ‘भारतमा पेट्रोल लिन जाँदा जति ट्याङकरको जाम हुन्थ्यो अब त्यो जामको समस्या पनि समाधान हुनेछ।’ यसले ट्याङ्करबाट हुन सक्ने दुर्घटना न्यूनीकरणमा समेत टेवा पुग्ने छ।