भदौ २३ बाट सरकारले संचालन गरेको एकीकृत सुपथ मूल्य पसलमा ४ हजार ३ सयको सामान किन्दा १ सय ३० रुपैयाँ छुट पाइन्छ।
चाडपर्वलाई लक्षित गरेर खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी, दुग्ध विकास संस्थान र साल्ट ट्रेडिङको छुट्टा छुटै सामानलाई सरकारले विशेष छुट सहित एकै ठाउँबाट बेच्ने व्यवस्था गरेको हो।
सरकारले चाडपर्वमा बढी माग हुने नुन, चिनी, तेल, चामल जस्ता अति आवस्यक सामानलाई विशेष छुट दिएर सुपथ मूल्य पसलबाट बिक्रीवितरण गर्दै आएको छ। २०६९ सालदेखि संचालनमा ल्याउन थालिएको यस्तो पसल अहिले उपत्यकाका विभिन्न ७ ठाउँमा संचालन भइरहेको छ।
छठ पर्वसम्म चल्ने यस्ता पसल दसैं विदाको पाँच दिन र तिहारमा तीन दिन बाहेक शनिबार पनि खुल्ला हुने साल्ट ट्रेडिङले जनाएको छ। दैनिक प्रयोग हुने चिनीमा दुई केजीमा १० रुपैयाँ छुट दिइएको छ।
बजारमा दुई केजी चिनीको मूल्य १ सय ५४ रुपैयाँ पर्ने गरेकोमा चिनी साल्ट ट्रेडिङले १० रुपैयाँ छुट दिएर १ सय ४४ रुपैयाँमा बेचिरहेको छ। ट्रेडिङले एक किलो चिनी भने बिक्री नहुने जनाएको छ।
‘हामीले एक जनालाई कम्तीमा २ केजी र बढीमा ६ केजीसम्म चिनी दिन्छौँ’ साल्ट ट्रेडिङ सिंहदरबार स्टलका इन्चार्ज श्रीजन रेग्मीले भने।
यस्तै नुनको मूल्य प्रतिकेजी २ रुपैयाँ सस्तो छ। बजारमा २० रुपैयाँ पर्ने नुन सुपथ मूल्य पसलमा १८ रुपैयाँमा पाइन्छ। साल्ट ट्रेडिङले मैदा तथा पिठोमा प्रतिकेजी ५ रुपैयाँ तथा विभिन्न ब्रान्डका चामलमा १० देखि २५ रुपैयाँसम्म छुट दिएको छ।
सुपथ मूल्य पसलमा चिउरा तथा विभिन्न प्रकारका दाल तथा गेडागुडी पनि उपलब्ध छन्। सबै दाल तथा गेडागुडीमा बजारमाभन्दा ५ रुपैयाँ छुट उपलब्ध रहेको साल्ट ट्रेडिङले जनाएको छ।
यसपटक देखि आफै तोरीको तेल उत्पादन गरेर बेच्न थालेको साल्ट टे«डिङले प्रतिलिटर ५ रुपैयाँ छुटमा बेचिरहेको छ। यस्तै, बेसार, जिरा लगायतका मसला सामानमा पनि प्रतिकेजी ५ रुपैयाँ छुट छ। ट्रेडिङले विभिन्न ब्रान्डका चियामा पनि प्रतिकेजी ५ रुपैयाँ छुट दिएको छ।
यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्यमा विभिन्न खाद्य बस्तु बिक्री गरिरहेको छ। कर्णालीको सिमी र फापर प्रतिकेजी १० रुपैयाँ छुट दिएर क्रमश १२० र ७० रुपैयाँ मूल्य निर्धारण गरेको छ।
यस्तै, विभिन्न ब्रान्डका चामलमा भने प्रतिकेजी ५ रुपैयाँ छुट दिने बताएको छ। कम्पनीले बिक्रीको लागि इन्डक्सन चुलो पनि राखेको छ। ४ हजार मूल्य निर्धारया गरिएको इन्डक्सन चुलोमा भने छुट दिइएको छैन।
सुपथ मूल्य पसलमा दुग्ध विकास संस्थानले पनि आफ्नो उत्पादन बेचिरहेको छ। संस्थाले चाडपर्वको लागि पनिरमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ भने ध्यूमा ५० रुपैयाँ छुटमा दिएर विक्री गरिरहेको छ।
यो वर्ष उपत्यकाका विभिन्न ७ स्थानमा सरकारले एकीकृत सुपथ मूल्य पसल संचालन गरेको छ। दसैँ तिहार तथा छठ पर्व नजिकिदै गर्दा उपभोक्ताको माग बढी हुने उपभोग्य बस्तु सुपथ मूल्यमै दिन यस्तो पसलको व्यवस्था गरिएको सरकारको दावी छ। यसले बाहिरी बजारमा हुन सक्ने कालाबजारी र कृत्रिम अभाव समेत नियन्त्रणमा सघाउ पुग्ने सरकारी अधिकारीहरु बताउँछन्।
अघिल्लो वर्ष जस्तो सरकारले सुपथ मूल्य पसल सिंहदरबारसँगै पाटन, कालिमाटी, कोटेश्वर, जाउलाखेल, भक्तपुर, सतुङगल र बनेपा गरी सात स्थानमा संचालन गरिरहेको छ। यो बाहेक पनि चिनी र नुन सहितको घुम्ति सेवा पनि संचालन गरिरहेको साल्ट ट्रेडिङले जनाएको छ।
सुपथ मूल्य पसलमा सबैभन्दा बढी चिनीको माग हुने सिंहदरबार साखाका इन्चार्ज श्रीजन रेग्मी बताउँछन्। ‘दैनिक चिनीको मात्रै ६ सय केजी सम्म माग हुन्छ,’ उनले भने, ‘नुन पनि प्राय किनिरहेका हुन्छन्, नुन दैनिक २ सय केजीसम्म बिक्री हुन्छ ।’
झोला भने आफै ल्याउनु पर्ने
सरकारले संचालन गरेको सुपथ मूल्य पसलमा आउने ग्राहकलाई झोला भने आफै ल्याउनु पर्ने साल्ट ट्रेडिङले जनाएको छ । ‘हामीसँग झोला छैन,’ सिंहदरबार स्टलका इन्चार्ज रेग्मीले भने, ‘पसलमा सामान किन्न आउने सबैले झोला आफै ल्याउनुपर्छ, यहाँबाट दिइँदैन।’