युट्युबमा देखाइएको सीपलाई पछ्याउँदै रुपन्देही तिलोत्तमाकी सन्ध्या पौडेल उद्यमी बनेकी छन्। मोति र पोतेको माला बनाउन युट्युबमा देखाइएको सीप हेरेर अहिले उनले राम्रो आम्दानी गरेकी छन्।
युट्युब र सामाजिक सञ्जाललाई सही रुपमा सदुपयोग गर्न सकियो भने घरमै बसेर पनि तालिम सेन्टरमा गएजस्तै सीप सिक्न सकिँदो रहेछ भन्ने सन्ध्या गतिलो उदाहरण हुन्।
साथीसंगीहरुले स्वीटर बुनेको देख्दा सन्ध्यालाई पनि स्वीटर बुन्ने इच्छा जाग्थ्यो। उनले स्वीटर बुन्न भन्दै धागो र काटा किनेर पनि ल्याइन्। बुन्न खोजिन् मेलो अगाडि सरेन, तलबाट बुन्न सुरु गर्थिन् माथि आईसकेपछि हातका काखी, बाहुला, गला निकाल्न सकिनन्। यो तीन चारवर्ष अगाडिको कुरा हो।
एकदिन मोबाईलमा युट्युब चलाउँदै थिइन् स्वीटर कसरी बुन्ने भनेर सिकाईएको भिडियो भेटिन्। केही बेर हेरिन् र त्यही अनुसार बुन्न थालेपनि त्यो सीप टिप्प सकिनन्।
युट्युबमा स्वीटर बुन्ने अरु तरिका खोज्दै थिईन् मोति र पोतेको माला बनाएको भिडियो भेटिन्। स्वीटर बुन्ने सीप खोज्दै युट्युब छिरेकी सन्ध्यालाई मोति र पोतेको माला बनाउन सिकाएको भिडियोले बढी आकर्षित गर्यो।
बिहान छोरीलाई स्कुल पठाएपछि घरधन्दाको काम सकाएर उनी दैनिक युट्युबलाई पछ्याउन थालिन्। पोतेबाट माला, टप, औंठी, झुम्का लगायतका गरगहना बनाएको हेर्दा आफुले पनि यस्तै बनाउन सक्छु जस्तो लाग्यो। बजारबाट पोते, धागो र सियो लिएर प्रयास गरिन्, सामान्य डिजाइनका माला बनाउन सहजै भयो।
श्रीमान् वैदेशिक रोजगारीमा छन्। छोरी स्कुल गएपछि टेलिभिजनमा सिरियल हेरेर र फेसबुक चलाएर दिन बिताउनु भन्दा युट्युबबाटै सिप सिकेर आर्थिक उपार्जनमा लागेको उनी बताउँछिन्। ‘यस्तो सीप सिकाउने भिडियो युट्युबमा खोज्दै जाँदा भेटियो’ उनले भनिन्।
सुरुका केही महिना युट्युबबाटै हेरेर माला, कानको झुम्का, टप, औंठी लगायत गरगहनाको डिजाइन बनाउने गरेपनि अहिले आफैले डिजाइन निकाल्ने गरेकी छन्।
‘दुई तीन महिना त काठमाडौं गएर पनि सिकेँ, मालाको लागि पोते, मोती, धागो पत्थर कहाँ पाइन्छ तयारी मालाको बजार कस्तो छ, कहाँ कसरी विक्री गर्न सकिन्छ भन्ने बुझेपछि घरमै लिएर बनाउन शुरु गरेँ’ उनले भनिन्।
अहिले उनले आफैले फरक फरक डिजाइनमा घरमै तयार गर्छिन्। कसैले डिजाइन पठायो भनेपनि त्यही अनुसारको गहना तयार गरिदिन्छिन्। ‘एउटै तरिकाले उनेको पोते पनि फरक फरक डिजाइनमा बनाउन सकिन्छ, बीचबीचमा कस्तो मोती, पत्थर राख्ने भन्नेमा पनि डिजाइन भर पर्छ’ उनी भन्छिन्।
उनले धागोमा उनेको पोतेलाई स्वीटर बुन्ने कुरुसले बुनेर आकर्षक माला तयार गरेकी छन्। ‘हेर्दा आकर्षक, लगाउँदा हलुका हुन्छ, धागो र पोतेको कलर फरकफरक बनायो भने झनै राम्रो देखिन्छ’ उनले भनिन्।
घरपरिवारको रेखदेख गर्दै घरमै बसेर युट्युब हेरेर शुरु गरेको प्रयासले अहिले उद्यमी बनेकोमा उनी खुसी छिन्। ‘अब महिनाको १२/१५ हजारको जागिर खोज्न बाहिर जानु पर्दैन, साँझ विहान घरको काम गरेर दिउसो घरमै बसेर ४/५ घण्टा काम गर्न सक्यो भने १२/१५ हजार सजिलै कमाउने गरेकी छु’ उनले भनिन् ।
प्रविधिको सदुपयोग गरी युट्युबबाट सीप सिकेजस्तै उनले माला विक्रीका लागि पनि प्रविधिको प्रयोग गर्छिन्। ‘एकदुई दिन लगाएर फरक फरक डिजाइनका माला, टप, औंठी तयार गर्छु, तयार भएपछि फोटो खिचेर फेसबुक पेजमा राख्छु त्यही हेरेर अर्डर आउँछ’ उनले भनिन्। फरक फरक डिजाइन र रङमा तयार गरिएका पोते र मोतीका गरगहनाले उनीसँग फेसबुकमा जोडिएका जो कोहीलाई पनि लोभ्याउँछ।
उनले तयार गरेका पोते धेरैजसो नेपालभित्र भन्दा बाहिर अर्डर हुने गरेको छ। भारत, जापान, कोरिया अस्ट्रेलिया, अमेरिका सम्म उनले आफ्ना उत्पादनलाई कुरियर गरेरै पठाउने गरेकी छन्। ‘विदेशमा पोते किन्न पनि नपाइने, पाइएपनि महँगो पर्ने, आफैले तयार गर्न त धेरै समय लाग्ने नै भयो त्यही भएर होला बाहिरी देशबाट फेसबुक म्यासेन्जरबाटै धेरैले अर्डर गर्नुहुन्छ, अर्डर गरेपछि कुरियर गरेर सामान पठाउँछु पैसा पनि ईसेवाबाट पठाउने गर्नुहुन्छ’ उनले भनिन्।
सन्ध्या पोते हाउसमा एउटा तयारी पोते मालाको एक सयदेखि तीन हजार रुपैयाँसम्म पर्छ। गुणस्तर र तयार गर्दा लागेको परिश्रमको आधारमा मूल्य तय गर्ने गरेको उनले बताइन्। पछिल्लो समय सुनको मूल्य महँगिएसँगै पोतेको मालाको प्रयोग बढेको छ।
अरु समय भन्दा चाडपर्व, विवाहका लगन भएका महिनाहरुमा पोतेको माग धेरै हुने भएकोले यी महिनाहरु काम गर्न भ्याईनभ्याई हुने गरेको उनी बताउँछिन्।
भर्खरै सकिएको तीजको एक महिनाको अवधिमा ७० हजार भन्दा बढीको पोते विक्री गरेको सन्ध्या बताउँछिन्। ‘तीज सकिएपछि धेरै अर्डर आउँदैन होला भन्ने लागेको थियो तर दसैं तिहारको लागि पनि अर्डर आईरहेको छ, पोतेका यस्ता मालालाई कुनै सिजन चाहिने रहेनछ।’
स्वदेश र विदेशबाट अर्डर बढ्न थालेपछि पोते बुन्ने एक कामदार पनि राखेकी छन्। फेसबुक पेजबाटै अर्डर धेरै आउन थालेपछि पोते हाउसलाई व्यवस्थित व्यवसायकै रुपमा अगाडि बढाउने उनको सोच छ। ‘अहिलेसम्म त घरबाटै चलिरहेको छ, अब प्रशिक्षण केन्द्रको रुपमा दर्ता गरेरै तालिम दिने र विक्री वितरण पनि गर्ने सोच छ’ उनले योजना सुनाइन्।