विमान निर्माता एयरबसले नेपालमा हेलिकप्टर सञ्चालन सेफ्टीका हिसाबले जोखिमपूर्ण भएको बताएको छ। एयरबसको टोलीले नेपाली हेलिकप्टर अपरेटरको सेफ्टी एसिसमेन्टपछि उक्त निष्कर्ष निकालेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणको आग्रहमा एयरबसले नेपाली हेलिकप्टर सञ्चालकहरुको सेफ्टी अडिट गरेको थियो। उक्त अडिटपछि नेपाल सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियमनको व्यवस्था अझै कडा बनाउन सुझाव दिएको छ।
अपरेशन, इन्जिनियरिङ, इन्भेष्टमेन्टजस्ता क्षेत्रमा नेपाली अपरेटरहरुका कमजोरीरहेको एयरबसले बताएको छ।
एयरबस इन्डियाको टोलीले गरेको उक्त अध्ययनले नेपालमा हेलिकप्टर सेवाको सञ्चालन हचुवाको भरमा भइरहेको निष्कर्ष निकालेको छ। लामो समयदेखि युरोपियन युनियनको कालोसूचीमा परेको नेपालले हेलिकप्टरकै कारण दुर्घटनादरमा न्यूनीकरण नभएपछि एयरबसबाट सेफ्टी एसिसमेन्ट गराएको थियो।
एयरबसको टोलीले मुख्यतया अपरेटरको योग्यतामा प्रश्न उठाएको छ। जसले जति लगानी गरे पनि मालिक हुने र धेरै मालिक हुँदा सेफ्टीमै हस्तक्षेपसम्मको काम हुने गरेको पाइएको हो।
एयरबसले भनेको छ 'नेपाली बजार सानो छ। जतिसुकै अवसर भनेपनि बजारको आकार सानै हो। यस्तोमा धेरै अपरेटर भएमा ब्यापारकै लागि सेफ्टी उलंघन गर्ने चलन बढ्ने छ। त्यतिमात्र होइन। महत्वपूर्ण निकायमा आफ्ना मान्छे भर्ना गर्ने परम्परा झनै डरलाग्दो छ' एयरबसले रिपोर्टमा उल्लेख गरेको छ।
यही कारणले गर्दा अबदेखि नयाँ अपरेटर थप नगर्न एयरबसले सुझाव दिएको छ।
'यति धेरै अपरेटर भए कि त्यसको व्यक्तिगत नियमनमा क्यानलाई समस्या एकातिर भयो। अर्कोतिर तिनीहरु आफै पनि सक्षम भएनन्। त्यसैले तत्काल नेपालमा नयाँ अपरेटर थप गर्नुभन्दा भएकै अपरेटरलाई हेलिकप्टर थपेर सेवा दिन दिए हुन्छ' एयरबसको सुझावमा भनिएको छ।
हाल नेपालमा १० हेलिकप्टर कम्पनी छन्। यी मध्ये ९ कम्पनीले मात्र अहिले सेवा सञ्चालन गरिरहेका छन् भने एउटा सञ्चानलको तयारीमा छ। पछिल्लो समय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लाइसेन्स बाँडिरहेको छ। मन्त्रालयले लाइसेन्स दिएपछि सञ्चालको क्षमता हेर्न नपाइ निमयक नागरिक उड्डयन प्राधिकरण(क्यान)ले एओसी दिंदै आएको छ।
एयरबसले सञ्चालकहरुलाई लगानीको पनि सीमा तोक्नुपर्ने राय दिएको छ। उसले एकजनाले कम्तिमा पनि २० प्रतिशतदेखि माथि लगानी गर्नुपर्ने बताएको छ। १ प्रतिशत लगानी गरेनि सञ्चालक हुने र धेरै सञ्चालक हुँदा अपरेशनमा प्रभावित पार्ने गरेको उसको निष्कर्ष छ।
एयरबसले उक्त अध्ययन प्रतिवेदन क्यान, मन्त्रालयलाई बुझाएको छ। त्यसँगै अपरेटरहरुलाई पनि सँगै राखेर जानकारी गराएको थियो।
सिम्रिक एयरले अडिट गरेन
एयरबसले गरेको यो पटकको अडिटमा सिम्रिक एयर भने परेको छैन। एयरबसले अडिट गरेका अपरेटरहरुको सूचीमा सिम्रिकको नाम उल्लेख छैन।
क्यानले युरोपियन युनिनयको कालोसूचीबाट हट्नका लागि हेलिकप्टर नियमनलाई कडा बनाउने भन्दै एसिसमेन्ट गराउन भनेको थियो।
तर सिम्रिको भने अडिट भएको छैन।
अकाउन्टेबल अफिसर नेपाल नभएकाले उक्त अडिटमा सहभागी हुन नसकिएको तर तिहार पछि हुने सिम्रिकका म्यानेजर प्रेम थापाले जानकारी दिए।