पछिल्लो समय नेपालको व्यापार घाटा कम हुँदै गएको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको छ । विदेशबाट हुने आयात कम हुँदै गएको छ। विभागको तथ्याङ्क हेर्दा अहिले देशभित्रै उत्पादन बढेको देखिन्छ ।
व्यापार घाटा कम भयो वा देशभित्रै उत्पादन बढ्न थाल्यो भने पनि हामी सबै उत्पादनमा आत्मनिर्भर भइसकेका हुँदैनौ।
तर, उत्पादकत्व राम्रो भएको वस्तु भने हामी आफै उत्पादन गरेर आत्मनिर्भर हुन सक्छौं।
त्यस्तै सम्भावना पुष्प व्यवसायको पनि देखिन्छ।
नेपालमा पछिल्लो समय निकै फस्टाएको छ पुष्प व्यवसाय।
वर्षभरि नै पुष्पको माग हुने भएपनि मुख्य दुई समयमा यसको माग ह्वात्तै बढ्ने गरेको पुष्प व्यवसायी बताउँछन्।
‘तिहार र प्रणय दिवसको बेलामा नेपालमा फूलको माग ह्वात्तै बढ्छ,’ पुष्प व्यवसायी तथा नेपाल फ्लोरीकल्चर एसोसियसन ‘फ्यान’का सचिव विश्वमणी पोखरेले भने।
तर, यी दुबै समयमा माग हुने फूलको जात भने फरक–फरक छन् ।
तिहारको समयमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुन्छ भने प्रणय दिवसमा विभिन्न प्रकारका गुलाबको माग बढी हुने उनले बताए ।
‘‘तर केही वर्षदेखि भने वर्ष भरिनै फूलको माग बढीरहेको छ’, उनले भने।
गत आर्थिक वर्षमा देशैभरी २ अर्व ४२ करोडको फूलको कारोबार भएको एसोसियनले जानकारी दियो।
त्यो यसअघिको वर्ष (आर्थिक वर्ष २०७४/७५)को तुलनामा १७ करोडले बढी हो।
आर्थिक वर्ष २०७४/७५ मा फूलको मात्रै २ अर्व २५ करोडको कारोबार भएको पोख्रेललको दाबी छ ।
उनले भने, ‘हरेक वर्ष फूलको माग बढ्दो छ, यो वर्ष पनि २ अर्व ६५ करोडको कारोबार हुने अनुमान गरिएको छ।’
फूलको मागसँगै पुष्प खेती पनि बढीरहेको छ।
दुई वर्ष अघि १ सय ४७ हेक्टरमा लगाइएको फूल गत वर्ष १ सय ५३ हेक्टरमा खेती गरीएको सचिव पोखरेलले जानरकारी दिए ।
‘‘यो वर्ष पनि १ सय ५७ हेक्टरम खेती गरिएको छ,’ उनले भने, ‘यो व्यावसायीक रुपमा फूल रोप्नेको तथ्याङ्क हो, व्याक्तिगत रुपमा फूल रोप्नेको संख्या पनि ठुलै छ।’
नेपाल सरकारको तथ्याङ्कमा पनि गत आर्थिक वर्षको अन्तसम्ममा २४ जिल्लामा व्यावसायीक पुष्प खेती भएको देखिन्छ ।
व्यवसायीक खेति पनि विस्तार हुँदै गएको पोखरेलले बताए।
‘‘विदेशबाट फर्केका धेरै जनाले फूल खेतिको बारेमा चासो राखेको भेटेको छु, यसकारण पनि यो व्यवसायप्रति आर्कषण देखिन्छ’उनले भने।
‘हरेक वर्ष फूलको माग बढ्नुले पनि युवाहरु यसप्रती आकर्षित भएका छन्’, उनले थपे।
फूलको माग बढ्दा व्यावसायको विस्तार भएपनि अहिले देशकै उत्पादनले भने माग थेग्न सकेको छैन।
पछिल्ला केही वर्षको तत्थ्याङ्क हेर्दा नेपालमा फूलको आयात पनि बढेको देखिन्छ।
भन्सार विभागको तथ्याङकअनुसार आर्थिक वर्ष २०७२/७३ मा मात्रै ६ लाख ८६ हजार गोटा फूल आयात भएको छ । जसको मूल्य १ करोड ४७ लाख मात्रै थियो।
त्यसलगत्तै आर्थिक वर्ष २०७३/७४ मा आयात झन्डै ५० लाखले बढेर १ करोड ७४ लाखमा पुग्यो ।
त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा नेपालमा ३ करोड ३७ लाख ९९ हजारको फुल आयात भएको छ।
त्यो आयात गत वर्षसम्म आइपुग्दा ७ करोडमा पुगेको छ।
गत वर्षमात्रै नेपालमा ७ करोड ७५ लाख रुपैयाँको १९ लाख ७४ हजार थान फूल आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।
चालु आर्थिक वर्षको दुई महिनामा पनि ९७ लाख ६३ हजारको १ लाख ३१ हजारको फूल आयात भइसकेको छ।
साउन र भदौ फूलको माग नहुने महिना भएकाले आयात कम देखिएको हो।
सरकारी तथ्याङ्कले देखाएको भन्दा बढी फूलको आयात भएको पुष्प व्यवासयीहरु बताउँछन् ।
फ्यानका सचिव पोखरेल अघिल्लो वर्षमात्रै १९ करोडको फूल आयात भएको दाबी गर्छन् ।
आर्थिक वर्ष २०७४/७५ मा नेपालमा विदेशबाट ११ करोडको फूल आयात भएको उनले दाबी गरे।
फूल मात्रै नभएर फूलको बिउ तथा बोट सबैको हिसाब गर्दा हरेक वर्ष हुने कारोबारको १५ प्रतिशत विदेशबाट आयात हुने गरेको उनले बताए।
‘हाम्रोमा पूर्वाधार राम्रो बनाएर फूल खेतीको लागि आवश्यक मल तथा बिउको राम्रो व्यवस्था गर्नसके फूलको उत्पादन बढ्न सक्थ्यो’, उनले भने।
उनले पुष्प व्यवसाय तरकारी खेती गरेजस्तो सजिलो नभएको बताए ।
‘यो खर्चिलो छ। औषतमा १५ लाख रुपैयाँ लगानीबाट सुरु गर्न सकिन्छ । लगानी अनुसारको फाइदा पनि हुन्छ’, उनले भने।
बेला–बेलामा फूलमा लाग्ने रोगका कारण यो व्यवसायलाई असर पर्ने फ्यानका सचिव पोखरेलले बताए।
पछिल्लो समय बढेको प्लास्टिकको फुलको प्रयोगले पनि फूलको व्यवसायलाई असर गरेको उनले गुनासो गरे।
‘फ्रेस फुलमा पानी राख्नु पर्छ स्याहार गर्नुपर्छ,’ उनले भने, ‘त्यसैले मानिसहरु अहिले लामो समय टिक्ने प्लास्टिकको फूलमा आकर्षित हुन थालेका छन् ।’
उनले प्लास्टिकका सामानले वातावरणलाई पनि असर गर्ने हुनाले त्यसलाई निरुत्साहित गर्दै देशकै उत्पादनलाई प्रोत्साहन गर्दा रोजगारीको अवसरदेखि आत्मनिर्भर पनि बन्न सकिने दाबी गरे ।