नेपालमा व्यवसाय गर्ने वातावरण सुधार हुँदै गएको विश्व बैंकको एक अध्ययनले देखाएको छ।
बैंकले प्रत्येक वर्ष प्रकाशित गर्ने 'डुइङ बिजनेस' सूचकमा नेपालले १६ स्थान सुधार गर्दै ९४ औं स्थानमा उक्लिएको हो। अघिल्लो वर्ष नेपाल ११० औं स्थानमा रहेको थियो।
नेपालले यो वर्ष सबभन्दा ठूलो सुधार ऋण प्रवाहमा गरेको विश्व बैंकले जनाएको छ। यसअघि नेपाल ऋण प्रवाहमा ९९ औं स्थानमा थियो भने यो वर्ष त्यसमा सुधार गर्दै ३७ औं स्थानमा उक्लिएको छ। यस्तै, नेपालले अन्तरदेशीय व्यापार तथा ठेक्का सम्झौतामा पनि सुधार गरेको बैंकको अध्ययनले देखाएको छ।
नेपालमा व्यापार, व्यवसाय सुरू गर्न अझै कठिन रहेको अध्ययनले देखाएको छ। व्यवसाय सुरू गर्न व्यहोर्नुपर्नै झन्झटमा सुधार नआएको देखिएको छ।
त्यस्तै, सामाजिक सुरक्षामा अनिवार्य दर्ता प्रक्रिया निकै झन्झटिलो भएको अध्ययनले देखाएको छ।
नेपालमा सम्पत्ति दर्ता तथा हस्तान्तरण प्रक्रिया पनि झन्झटिलो रहेको अध्ययनले देखाएको छ।
नेपालमा लोडसेडिङको अन्त्य भ एपनि उद्योगहरूका लागि विद्युत आपूर्तिमा उल्लेख्य रूपमा सुधार नआएको पनि विश्व बैंकले जनाएकोछ।
नेपाल तालिकामा १६ स्थान माथि उक्लिए पनि सबभन्दा राम्रो आर्थिक सुधार गर्ने २० राष्ट्रमा भने परेको छैन।
यो वर्ष सबभन्दा धेरै सुधार गर्ने राष्ट्रमा साउदी अरब, जोर्डन, टोगो, बहराइन, ताजकिस्तान, पाकिस्तान, कुवेत, चीन, भारत लगायतका देश छन्।
के हामीले डुइङ बिजनेसमा गरेको सुधारले विदेशी लगानी भित्रिन्छ?
पूर्व अर्थसचिव रामेश्वर खनाल यो सूचकमा सुधार देखिने बित्तिकै वैदेशिक लगानी नभित्रिने बताउँछन् ।
‘बंगलादेश डुइङ बिजनेस इन्डेक्समा नेपालभन्दा पछि छ तर लगानी नेपालमा भन्दा बढी बंगलादेशमा गएको छ,’ उनले भने, ‘तर पनि इन्डेक्समा सुधार हुनुले अन्तर्राष्ट्रिय स्तरमा राम्रै संकेत गर्छ।’
उनले नेपालमा पछिल्लो समय भएको कानुनी प्रक्रियामा गरेको सुधारले गर्दा सूचांकमा सुधार आएको बताउँदै पूर्वाधार तथा सम्पत्तिको सुरक्षा आदि विषयमा अझै विदेशी लगानीकर्ताको डर रहेको बताए।
‘नेपालको सोधानान्तर घाटामा राम्रो सुधार नभएकोले यहाँ गरेको लगानी समयमै फिर्ता लौजान पाइँदैन कि भन्ने विदेशी लगानीकर्ताको डर छ, त्यसमा पनि सुधार भए विदेशी लगानीको भित्र्याउन अझै सजिलो हुन्छ,’ उनले भने।
यस्तै, अर्थशास्त्री अरविन्द चौधरी भने वैदेशिक लगानी र 'डुइङ बिजनेस’ सूचांकको बलियो सम्बन्धनै नभएको बताउँछन्।
‘कुनै देशको इन्डेक्स तल भए पनि राम्रो वैदेशिक लगानी आएको छ,’ उनले भने।
उनको विचारमा छिमेकी देशहरूको तुलनामा राम्रो सुधार गर्न सक्यौं भने त्यसले लगानी भित्र्याउन सघाउँछ।
दक्षिण एसियामा हाम्रो छिमेकी मुलुक भारतले तीव्र रफ्तारमा सुधारको प्रक्रियालाई अघि बढाएको छ।
सो अध्ययनका अनुसार दक्षिण एसियामा तीव्र सुधार गर्नेमा भारत सबभन्दा अघि छ।
यसअघि ७७ औं स्थामा रहेको भारत १४ स्थान सुधार गर्दै ६३ औं स्थानमा उक्लेको छ। भुटान पनि नेपालभन्दा अझै अघि नै छ। उसको स्थान भने खस्किएको छ।
यसअघि ८१ औं स्थानमा रहेको भुटान अहिले ८९ औं स्थामा पुगेको छ। यस्तै, श्रीलंकाले पनि एक स्थान सुधार गर्दै १०० औं स्थानबाट ९९ औं स्थानमा पुगेको छ।
१३६ औं स्थानमा रहेको पाकिस्तान पनि १०८ औं स्थानमा पुगेको छ भने बंगलादेश १७६ औं स्थानबाट १६८ औं स्थानमा उक्लिएको छ।
अफगानिस्थान भने १६७ बाट घटेर १७३ औं स्थानमा पुगेको छ।