नेपाल होटल व्यवसायी महासंघको केन्द्रीय महाधिवेशन सुर्खेतको वीरेन्द्रनगरमा हुँदै छ।
शुक्रबार र शनिबार सुर्खेतको वीरेन्द्रनगरमा महासंघको तेस्रो चुनावी महाधिवेशन हुँदैछ। महाधिवेशनमा देशभरका ८० हजार होटल व्यवसायीको प्रतिनिधित्व गर्दै १५ सयभन्दा बढी होटल व्यवसायी सुर्खेत आएका छन्।
महासंघको अधिवेशनका लागि सबै व्यवस्थापनको तयारी पूरा भएको होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतले जानकारी दिए। ‘हाम्रो तर्फबाट सबै तयारी भइसकेको छ, यहाँ आउने पाहुना तथा प्रतिनिधीलाई स्वागत गर्न तयार छौं’ उनले भने।
होटल व्यवसायी महासंघका अध्यक्ष अमृत भुजेलले महाधिवेशनको तयारी पूरा भएको बताउँदै सुरक्षादेखि सबै बन्दोवस्त मिलाइएको जानकारी दिए। ‘सरकारले नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरेको छ, हामी व्यवसायी पनि उक्त कार्यक्रमलाई सघाइरहेका छौं,’ भुजेलले भने।
महाधिवेशन सम्पन्न गर्न झण्डै एक करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। महाधिवेशनको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गर्ने जनाइएको छ। महाधिवेशननका लागि लाग्ने खर्च व्यवसायीले नै जम्मा गरेको भुजेलले बताए।
महाधिवेशनका क्रममा कर्णाली प्रदेशको पर्यटकीय सम्भावनाका बारेमा प्रदेश सरकार र होटल व्यवसायीबीच अन्तक्र्रिया हुने होटल व्यवसायी संघ सुर्खेतका सचिव जनक सिंह ठकुरीले जानकारी दिए। उनका अनुसार प्रदेश सरकारका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढा सहभागी हुनेछन्।
चुनावी महाधिवेशनले नेपाल भ्रमण वर्ष २०२० लाई पनि सहयोग पुग्ने अपेक्षा राखिएको अध्यक्ष रावतले बताए। महाधिवेशनले कर्णालीमा पनि राम्रो होटल छन् भन्ने सन्देश देशव्यापी रुपमा जाने अपेक्षा गरिएको उनले बताए।
सुर्खेतमा हुन लागेको तेस्रो महाधिवेशनले होटल व्यवसायी महासंघको नयाँ नेतृत्व समेत चयन गर्नेछ।
पाहुनालाई अर्गानिक खाना
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुन लागेको होटल व्यवसायी महासंघको केन्द्रीय महाधिवेशनमा आउने पाहुनालाई अर्गानिक खाना खुवाईने होटल व्यवसायी संघ सुर्खेतले जनाएको छ।
‘देशैभरका १५ सय ५० भन्दा बढी व्यवसायी पाहुना बनेर सुर्खेत आउने क्रम सुरु भएको छ,’ होटल व्यवसायी संघ सुर्खेतका पूर्व अध्यक्ष तर्क शाहीले भने, ‘हरेक होटलमा सकेसम्म कर्णालीकै खाना खुवाउने तयारी गरेका छौं, सकेसम्म अर्गानिक उत्पादन नै खुवाउने छौं।’