भारतसँग सिमा जोडिएका अधिकांश जिल्लाबासीको दैनिकी भारतीय बजारसँग जोडिएको छ। पर्सा,बारा,रौटहटका जिल्लाबासीहरुका लागि जीविका चलाउनेदेखि किनमेलका लागि पहिलो रोजगाइमा भारतीय बजार नै छ। अझै विवाहका मौसम वा चाडपर्व किनमेल गर्न सीमावर्ती नेपाली सिमापार पुगिहाल्छन्।
दसैं, तिहार, छठ, विवाह, सुख सराद सुरु हुन एक साता अगाडि देखी नै किनमेल गर्न भारतीय बजार जाने योजना बन्छ।
सीमापारी रक्सौल, घोडासहान, बैगनिया बजारमा मान्छेको चहलपहल हुँदा सीमावारीका बजार भने सुनसान हुन्छन्। चाड पर्वमा केही चहल पहल देखिएपनि अहिले भने वीरगन्ज कलैया, गौरका व्यापारीहरु ग्राहक कुरेर बसेका छन्।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले सीमावर्ती भारतीय रक्सौल बजारमा केही वर्षयता खुलेका रेडिमेड कपडाका ३ ठूला पसलले अत्यधिक ग्राहक तानेको बताउँछन्।
‘रक्सौल लगायत सिमापारीका बजाहरुमा खुट्टा राख्ने ठाउँ छैन,’ उनले भने, ‘वीरगन्जमा ग्राहक छैनन्। लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, चिनी, दाललगायतका सामग्री रक्सौलमै सस्तो पर्ने भएकाले नेपाली ग्राहक उतै किनमेल गर्न जाने गरेका छन्।’
एकीकृत भन्सार चौकी (आईसीपी) सञ्चालनमा आएपछि रक्सौल र वीरगञ्जको सवारी जाम पनि घटेको छ।
महावीरस्थानमा पसल सञ्चालन गरेका केडिया भन्छन् ‘सवारीसाधन नहुने पनि इ–रिक्सा चढ्छन् र २० रुपैयाँ भाडा तिरेर मितेरी पुलसम्म पुग्छन्। अनि करिब एक किलोमिटर हिँडेर रक्सौल बजारमा किनमेल गरी फर्किन्छन।’
माईस्थानस्थित मेनरोडका इलेक्ट्रोनिक्स सामानका बिक्रेता विक्की अग्रवालले बजारमा चहलपहल नभएको गुनासो गरे।
‘पहिला पहिला पर्वहरु आएसँगै एकसाता अगाडि देखी राम्रो व्यापार हुन्थ्यो,’ उनले भने, ‘कतिपयले बुकिङ पनि गर्थे, अहिले त्यसको १० प्रतिशत पनि व्यापार छैन।’
रक्सौलको चर्चित रेडिमेड कपडा पसल अमरदीपका सञ्चालक विमल रुँगटा आफ्नो पसल नेपाली ग्राहकलेनै भरिने गरेको स्वीकारछन्।
उनको पसलमा काम गर्ने दुई दर्जन भन्दा बढी कामदार फरर नेपाली भाषा बोल्छन्। अमरदीप मात्र होइन रक्सौलका अधिकांश पसलमा नेपाली ग्राहकनै धेरै आउने हुनाले सबै नेपालीनै बोल्छन्।
कतिपय कर्मचारी सरकारी गाडी नै लिएर पारिपट्टि किनमेल गर्न पुग्छन्, केही भन्सार नजिकै रहेको इनर्वा प्रहरी चौकीमा सवारी राखेर रक्सौल जाने गरेका छन्।
भन्सार कार्यालयको मूल गेटबाट रक्सौल बजार हिँड्दै पुगेका नेपाली उपभोक्ता फर्किने बेला हातमा झोला झुन्डयाउँदै लस्करै हिँड्दै आइरहेको भिड सधै देखिन्छ।
किन नेपालीले भारतीय बजार मन पराउँछन् त?
‘रेडिमेड, सर्टिङ, सुटिङका कपडा नेपाल आयात गर्दा भन्सार विन्दुमा मूल्य अभिवृद्धि कर र भन्सार राजस्व गरी करिब ३० देखि ३५ प्रतिशत राजस्व बुझाउनुपर्छ,’ एक ग्रहकले भने, ‘यता भन्दा उता सस्तो भएकाले किनमेल गर्न भारत गइन्छ।’
‘नेपालमा भित्रिने अधिकांश भारतीय कपडा कर छलेर आउने भए पनि व्यापारीले ग्राहकलाई बिक्री गर्दा करसमेत जोड्छन्, एक कपडा व्यवसायी भन्छन ‘त्यही भएर पनि सस्तोका लागि ग्राहक सास्ती खेपेर भए पनि नजिकैको रक्सौल बजार पुग्छन।’
मकवानपुर, बारा, रौतहट,चन्द्रनिगाहपुरदेखि सर्लाहीको हरिवन, नवलपुर, लालबन्दीमा बसोबास गर्ने पनि बिदाको दिन मिलाएर किनमेल गर्न रक्सौल पुगेको भेटिन्छ।
उता सरकारले भने भारतीय खुद्रा बजारमा हुने कारोबार रोक्न नीति बनाएको थियो। सरकारले भन्सार कार्यलयमा ५ हजारभन्दा बढीको सामान ल्याए त्यसको राजस्व बुझाउनुपर्ने बतायो। भन्सार कर्मचारी र सशस्त्र भन्सारले यो प्रणाली कडाइका साथ लागू नगरेकाले भारतीय बजार प्रतिको नेपाली आकर्षण घटेको छैन।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत विमल कुमार साहले हाल अनलाइनमा गइसकेकाले संक्षिप्त प्रज्ञापनपत्र लागू नभएको बताउँछन्।
‘बढी सामान ल्याउनेलाई अनलाइन फारममार्फत राजस्व असुल गर्छौं,’ उनले भने।