केही महिनादेखी बजारमा बोइलर कुखुराको उचित मूल्य लागत भन्दा कम पाउन थालेपछि पर्सा जिल्लाका २ सय ५० बढी पोल्ट्री फार्महरु बन्द भएका छन्।
संचालनमा रहेका केही फार्महरुमध्ये पनि अधिकांश बन्द हुने अवस्थामा पुगिसकेको छ।
कुखुरा व्यवसायी संघ पर्साकाअनुसार अघिल्लो वर्षसम्म बोइलर कुखुराको फार्म करिब पाँच सय वटा थिए।
बजारमा जीउँदो कुखुराको भाउ लागेको लागत भन्दा कम रहेकाले आधा भन्दा बढी पोल्ट्री फार्महरु बन्द भइसकेको संघका अध्यक्ष मुन्ना चौरसीयाले बताए।
‘दाना र चल्ला दुबैको भाउ निरन्तर बढी रहेको छ। तर कुखुराको भाउ घट्दै गइरहेको छ। यसकारण घाटा थेग्न नसकेर कुखुरापालक, व्यवसायीहरु फार्म बन्द गर्न बाध्य छन्’, अध्यक्ष चौरसीयाले भने।
‘अघिलो वर्षसम्म झण्डै ५ सयको हाराहारीमा रहेका फार्म राम्रै चलेका थिए’ उनले भने ‘तर गत साउन यता आधा भन्दा बढी फार्म बन्द भइसकेका छन्, जेनतेन चलिरहेका पनि घाटा थेग्न नसकेर बन्द हुने अवस्थामा पुगेका छन्।’
चार वर्ष पहिले कुखुराको भाउ प्रति केजी १४० रुपैयाँ थियो। अहिले घटेर केजीको १२५ मा झरेको छ। तर, दानाको भाउ चार वर्षअघि बोरा (५० केजी) को २२ सय ५० थियो। अहिले बढेर ३२ सय ५० रुपैयाँ पुगिसकेको छ। चल्लाको भाउ पनि ४० रुपैयाँबाट बढेर ८० रुपैयाँ पुगेको छ।
गत असोजदेखि मात्रै ८ लाख रुपैयाँ घाटा व्यहोरेको दुखेसो पोख्दै उनले भने ‘एक हजार कुखुरा पाल्दा कम्तीमा दुई लाख घाटा खानु परेको छ।एक केजीको जीउँदो कुखुरा उत्पदानमा चल्ला, दाना किन्दा, औषधी उपचारको कुल लागत १८० रुपैयाँ लाग्छ। तर, बजारमा ज्यूँदो कुखुराको बिक्री दर केजीको १५५ रुपैयाँ मात्रै छ। १० दिन पहिले १२० रुपैयाँमा समेत बेचियो।’
‘दानाको भाउ प्रत्येक महिना बोरामा सय रुपैयाँको दरले बढीरहेको छ। तर, कुखुराको भाउ घट्टै गइरहेको छ। किसानले कति दिनसम्म घाटा खाएर बस्ने?’ उनले प्रश्न गरे।
पर्सा जिल्लाको विन्दवासीनी गापा ४ मधवलमा रहेको डिके पोल्ट्री फार्मका संचालक क्षिलाल साह मोदीले ७ हजार गोटा कुखुरा पाल्नसक्ने क्षमताको ६ वटा खोर चार वर्ष पहिले बनाएका थिए।गत वर्ष ९ लाखभन्दा बढी घाटा भएपछि उनले हाल एउटा खोरमा मात्रै १ हजार चल्ला हालेका छन्।
‘बजारमा बेच्दा एउटा कुखुरामा ६० देखी ७० रुपैयाँसम्म घाटा खानुपर्यो’ उनले भने,‘६ महिनायता मात्रै ९ लाखसम्म घाटा सहेको छु, त्यसैले ४ वटा खोर खाली राखे’ उनले दुखेसो पोखे, ‘अहिले १ हजार मात्रै चल्ला हालेको छु, लागत पनि नउठ्ने हो कि भन्ने डर लागेको छ’
फार्ममा २७ लाख लगानी गरिसकेका उनले पुरै बन्द गर्दा लगानी खेर जाने भएकाले जेनतेन पेशालाई निरन्तरता दिन बाध्य भएको मोदीले बताए।
कालिकामाई गाउँपालिकाको मुडली, भेडिहारीमा पनि दर्जनभन्दा बढी कुखुरा फार्म बन्द छन्। धोबिनी गाउँपालिकाको गुलरियामा १० मध्ये २ र भिखमपुर पिपरामा ६ मध्ये ४ वटा मात्र फार्म संचालनमा छन्।
पर्साकै सतवरियाका कुखुरापालक किसान श्यामबाबू साहले दाना र चल्लाको मूल्यवृद्धि तर ज्यूँदो कुखुरा पुरानै रेटमा बिक्री गर्दा घाटा भएकाले फार्म नै बन्द गरेको उनले बताए।
सतवरिया गाँउमा मात्रै १० भन्दा बढी कुखुरा फार्म थिए। अहिले ती सबै बन्द छन्।
ग्रामीण कुखुरा व्यवसायी संघका अध्यक्ष बालकृष्ण श्रेष्ठ लागत मूल्यअनुसारको मुनाफा हुनुको सट्टा उल्टै घाटा हुन थालेपछि कुखुरापालक किसान र व्यवसायीले पोल्टी फार्महरू बन्द गरेको बताउँछन् ।
सबभन्दा ठूलो समस्या खुल्ला सीमाका कारण भारतबाट अवैध रुपमा भित्रिरहेको भारतीय कुखुराका कारण पनि बजारमा नेपाली कुखुराले भाउ पाउन नसकेको अध्यक्ष श्रेष्ठले दाबी गरे।
‘भारतबाट चल्ला, कुखुरा आयातमा प्रतिबन्ध छ, तर खुला सीमाको कारण अवैध रुपमा भारतबाट कुखुरा भित्रिरहेको छ।’ उनले भने।
पर्सा कुखुरा व्यवसायी संघका अध्यक्ष चौरसीयाले कृषि कर्जामा सरकारले अनुदान दिने घोषणा गरेको भएपनि प्रकृया नै झण्झटिलो भएकाले त्यसको लाभ लिन नसकिएको गुनासो गरे।
‘सरकारले जीउँदो कुखुराको बजार भाउ तोकिदिए पनि धेरै राहत हुन्थ्यो, उनले भने,‘यसका लागि हामी मन्त्रालयसम्म धायौं तर आश्वासन मात्रै पायौं, अब पनि सरकारले भाउ तोकेन भने पोल्ट्री व्यवसाय धराशायी हुने निश्चित छ।’