रौतहटको गरुडा नगरपालिका २ स्थित जयनगरमा श्रीपञ्चमीको अवसर पारेर फर्निचर मेला सुरू भएको छ।
मेलामा जिल्लाभरिका फर्निचर उद्योगमा बनाइएका सामानहरु बिक्रीका लागि राखिएको छ। मेलामा सर्वसाधरणको भीड लागेको छ। मेला दुई सातासम्म लाग्ने छ।
विभिन्न जातका काठबाट बनाइएका पलङ, दराज, कुर्ची, टेबल तथा फलामका कृषि औजार समेत मेलामा राखिएको छ। प्रत्येक वर्ष श्रीपञ्चमीको अवसर पारेर लाग्ने मेलामा सर्वसाधारणको समेत आकर्षण बढेको छ। फर्निचरका सामानमा ३० प्रतिशतसम्म छुट दिइने मेला व्यवस्थापन समितिले जनाएको छ।
जयनगर फर्निचर मेला व्यवस्थापन समितिका अध्यक्ष धीरेन्द्रप्रसाद यादवले विगत १२ वर्षदेखि जयनगरमा फर्निचर मेला लाग्दै आएको बताए।
‘अहिले मेलामा राखिएका विभिन्न डिजाइनका काठका फर्निचर हेर्न र खरिद गर्न ठूलो भीड लाग्ने गरेको छ,’ उनले भने ‘स्थानीयस्तरमा उत्पादन भएका समान विक्री गर्न पाउँदा व्यापारी पनि खुसी छन्।’ मेलामा दुई करोड भन्दा बढीको कारोबार हुने अध्यक्ष यादवको अनुमान छ।
मेलामा रौतहट लगायत बारा, पर्सा र सर्लाहीका लोहार जातिले फर्निचरका समान बनाएर ल्याउँछन्। ति सामान काठमाडौं, पोखरा, भरतपुर, जनकपुर, विराटनगर र भारतका सहरसम्म जाने गरेको छ।
यही बेला शिवनगर मन्दिरमा ठूलो मेला लाग्ने गर्छ। सो मेला हेर्न आउनेहरु पनि फर्निचर मेलामा अवलोकनका लागि जाने गर्छन्। मन्दिर र फर्निचर मेला लाग्ने स्थानको दुरी नजिकै छ।
मेलामा २ सय बढी व्यापारीहरू सहभागी छन्।