कृष्ण, गुड मर्निङ!
मेरो कम्पनीले कोराना भाइरसका कारण यात्रामा प्रतिबन्ध लगाएको छ। यसका लागि क्षमा प्रार्थी छु। अब हामी तत्काल अमेरिका फर्कनु पर्ने भयो। यसले हामीलाई निराश बनाएको छ। हाम्रो लागि तपाईले खर्च गर्नुभएको छ भने हामीलाई जानकारी गराउनुस्। तपाईंले पहिले नै खर्च गर्नुभएको छ भने हामी त्यसलाई बेर्होनेछौं।
पोखराको इथिकल ट्रेकिङ एजेन्सीका कृष्ण आचार्यलाई अमेरिकी टोलीले लेखेको इमले हो यो।
भारत हुँदै १० दिनको नेपाल भ्रमण गर्ने अमेरिकी टोली भारतसम्म त आइपुग्यो। तर नेपाल आउन पाएनन्। अमेरिकास्थित उनको कम्पनीले तुरुन्त फर्कन भनेपछि ७ जनाको यो टोलीले पूर्वनिर्धारित भ्रमण रद्ध गरे। मार्च ३ मा नेपाल आएर मर्दी हिमाल पदयात्रामा जाने उनीहरूको योजना थियो। अमेरिकाले आफ्ना नागरिकलाई विदेश भ्रमण नगर्न सुझाव दिएपछि उनीहरूको टोलीले भ्रमण रद्ध गरेको आचार्य बताउँछन्।
फ्रान्सबाट नेपाल भ्रमण गर्न बुकिङ गरेको एउटा फ्रान्सेली टोलीले गत बिहीबारमात्र भ्रमण रद्ध गरे। उनीहरू पुनहिल पदयात्रा जाने गरी बुकिङ गरेका थिए। युरोपबाट धेरै पर्यटक आउने मध्ये फ्रान्सेली र जर्मनीका धेरै थिए। सरकारले पछिल्लो पटक जर्मन र फ्रान्सका नागरिकलाई अराइभल भिसा नदिने निर्णय गरेको छ। यसअघि ७ वटा देशका नागरिकलाई भिसा नदिने निर्णय गरिसकेको थियो। यस निर्णयले अब उक्त देशका पर्यटक आउन नपाउने निश्चित छ।
विदेशी पर्यटकले भरिने पोखरा र आसपासका पदमार्ग अहिले सुनसान छन्। अंग्रेजी महिना मार्च, अप्रिल र मे पर्यटकीय सिजन हुन्। सिजनको पिक समयमै पर्यटक नआउँदा पर्यटन व्यवसायी मर्कामा परेका छन्। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानका पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलले कोरना भाइरसका कारण पर्यटन क्षेत्रमा ९० प्रतिशत गिरावट आएको बताउँछन्।
‘पर्यटक नआउँदा व्यवसाय छैन,’ उनी भन्छन्,‘व्यवसायीलाई बैंकको किस्ता बुझाउन मात्र होइन, राज्यले पाउने राजश्वमा पनि गिरावट आउँछ।’
पर्यटकले मार्च महिनाको मात्र होइन, अप्रिल र मे महिनाको बुकिङ पनि रद्ध गर्न थालेको इथिकल ट्रेकका आचार्य बताउँछन्। विदेशीले धमाधम बुकिङ रद्ध गर्दा कतिपय व्यवसायीलाई व्यवसाय टिकाउनै मुस्किल परेको छ। नेपालको पर्यटन क्षेत्र सिजनमा मात्र आधारित भएकाले पनि यस्तो अवस्था देखिएको हो।
मर्दी पदमार्ग स्थित ३ हजार ६०० मिटर उचाईमा अवस्थित होटल ट्रेकर्स प्याराडाइजका सञ्चालक सुदीप गौतम गत वर्षको यही समय भ्याइनभ्याई हुन्थ्यो। होटलमा कोठा भरिएर पनि पर्यटक राख्ने ठाउँ नपाउँदा डाइनिङ टेबलमा समेत पर्यटकलाई सुताउनुपर्ने बाध्यता हुन्थ्यो। तर यस वर्ष उनी पोखरामै घुमिराखेका छन्।
‘पदमार्गमा पर्यटक छैनन्,’ गौतमले भने ,‘हाइक्याम्पमा यस वर्ष निकै गाह्रो छ।’ सरकारले कलेजका विद्यार्थी र सरकारी कर्मचारीलाई घुम्न लगाएर भए पनि पर्यटन क्षेत्रको शुन्यता चिर्नु पर्ने उनको धारणा छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप क्षेत्रमा गत वर्ष १ लाख ८१ हजार ७६३ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए। त्यसको तुलनामा यस वर्षको सुरूवात राम्रो देखिएको थियो। अघिल्लो वर्षको तुलनामा यस वर्षको पहिलो पर्यटकीय सिजन असोज, कात्तिक र मंसिरमा धेरै पर्यटक आएका थिए।
कोरना भाइरसको त्रास विश्वव्यापी बनेपछि अन्नपूर्ण क्षेत्रमा पनि पर्यटकको आगमनमा गिरावट आएको छ। गत वर्षको माघ महिनामा ७ हजार ५१ जना आएका थिए भने यस वर्षको माघमा ३ हजार ४४० जनाले मात्र अन्नपूर्ण क्षेत्र भ्रमण गरेको एक्याप पोखराका सूचना अधिकारी ऋषि बरालले जानकारी दिए।
उनका अनुसार, माघको तुलनामा फागुन, चैत र वैशाखमा धेरै पर्यटक आउनु पर्ने हो। किनकी यो तिन महिना पर्यटन सिजन हो। तर माघको तुलनामा फागुनमा कम पर्यटक आएका छन्।
नेपालको पर्यटन क्षेत्र सिजनमा मात्र आधारित भएकाले पनि समस्यामा परेको हो। नेपालमा १२ महिना नै भ्रमण गर्नका लागि उपयुक्त भएको सन्देश विश्व पर्यटन बजारमा पुर्याउन नसकेका कारण वर्षको ६ महिनामात्र पर्यटक आउने गर्छन्।
‘१२ महिना पर्यटक आउने हो भने सिजनको भर पर्नु पर्दैन,’ टान पश्चिमाञ्चल अध्यक्ष भुजेल भन्छन्, ‘कोरना भाइरसजस्तो महामारीले एउटा सिजनमा अप्ठ्यारो पर्दा सिङ्गो पर्यटन क्षेत्र नै अस्तव्यस्त हुन पर्दैन।’