कोरोना भाइरसका कारण संसारभरको पर्यटन करिब ठप्प भएको छ।
अन्य देशजस्तै नेपालमा पनि विदेशी पर्यटक आउनै छाडेका छन्। यात्रु अभाव भएपछि अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान कटौती गर्दै छन्। उडानको संख्या पचास प्रतिशत घटेको छ भने विदेशबाट आउने यात्रु ९० प्रतिशतले कम भएका छन्।
पर्यटक आउने प्रमुख सिजनमै विदेशीको आवागमन घटेपछि सबैभन्दा ठूलो मारमा परेको छ, होटल व्यवसाय।
नेपालको होटल क्षेत्र २०७२ को भूकम्पलगत्तै भन्दा कमजोर अवस्थामा पुगेको व्यवसायीहरूले बताएका छन्।
देशभरका पर्यटकस्तरीय होटल, रिसोर्टहरू सदस्य भएको होटल एसोसियन नेपाल (हान)की अध्यक्ष सिर्जना राणाका अनुसार कमाउने मुख्य सिजनमै कोरोनाका कारण व्यापार चौपट भएको छ।
‘हाम्रा होटलमा उपलब्ध कोठामध्ये १० प्रतिशतमा मात्र पाहुना छन्। यी पहिले नै बुकिङ गरेर नेपाल आइसकेका हुन्। आगामी दिनका लागि भएका सबै बुकिङ क्यान्सिल भएका छन्,’ राणाले भनिन्।
आफ्नो अन्नपूर्ण होटलका १६ प्रतिशत कोठामात्र भरिएको उनले जानकारी दिइन्। सामन्यत: अघिल्ला वर्ष यो सिजनमा ७० प्रतिशत कोठा भरिन्थे।
विदेशी पाहुनाबाहेक स्तरीय होटलका अरू पनि आम्दानीका नियमित स्रोत हुन्छन्। जस्तै, पर्यटकस्तरीय तथा तारे होटलले हलबाट पनि आम्दानी गर्छन्। सभा, समारोह वा अन्य कार्यक्रम हुँदा होटलका हलबाट उनीहरूको नियमित आम्दानी हुन्छ। कोरोनाको जोखिमसँगै सरकारले सबै सभा-समारोह गर्न रोक लगाएपछि आम्दानीका ती स्रोत पनि ठप्प छन्।
‘अवस्था यस्तो आयो कि यसमा हामीले कहिँ-कतै केही भन्ने ठाउँ नै छैन। विदेशी नआउँदा पनि हुन सक्ने केही आम्दानीका स्रोतजस्तै सेमिनार, सभा पनि बन्द भएका छन्। यस्तोमा हाम्रो व्यापारको त कुरै नगरौं,’ उनले भनिन्।
कोरोनाले गर्दा होटल क्षेत्रलाई मासिक १ अर्ब रुपैयाँ बढी नोक्सान हुने राणाको अनुमान छ।
सन् २०२० को सुरूदेखि नै होटल बुकिङमा २० देखि २५ प्रतिशतसम्मको वृद्धिदर थियो। होटल व्यवसायीका अनुसार स्प्रिङ सिजन (चैत, वैशाख, जेठ) का लागि बुकिङ ३० प्रतिशतले बढेको थियो।
‘अहिले बुकिङ रद्द भएर व्यापार चौपट छ,’ राणाले भनिन्।
काठमाडौं, पोखरा, चितवन र लुम्बिनीमा सात वटा होटल भएको काठमाडौं गेष्ट हाउस ग्रुपका प्रबन्ध निर्देशक सुनिल शाक्यले पनि यो वर्ष होटलमा आउने पाहुनाको संख्या ३० प्रतिशतसम्म बढ्ने आश गरेका थिए।
अहिले उनी पर्यटक होइन, रद्द भएका बुकिङको हिसाब गरिरहेका छन्। शाक्यको एउटै होटलमा ७१३ ओटा बुकिङ रद्द भएको छ।
‘लुम्बिनीमा रहेको हाम्रो बुद्धमाया होटलको मात्र ७१३ क्यान्सिलेसन भयो। रुपैयाँमा हेर्ने हो भने यसको भ्यालू २ करोड बढी हुन्छ। पोखरादेखि काठमाडौंसम्मका हाम्रा सातै होटलमा यस्तै ट्रेन्ड छ,’ शाक्यले भने।
विश्वभरि नै त्रास फैलिएको अवस्थामा स्वभाविक मार आफ्नो व्यापारमा परेकाले यसबाट विचलित हुनुभन्दा अहिले सबैले सतर्कतामै केन्द्रित हुनु पर्ने उनको भनाइ छ।
अहिलेकै ट्रेन्ड जारी रहे होटलको बुकिङ शुन्यमा झर्ने व्यवासयीको आँकलन छ।
२०७२ को भूकम्पको बेला पनि पूरै खाली नभएको होटल कोरोनाका कारण खाली हुनसक्ने उनीहरूले ठानेका छन्।
भूकम्पको बेला कति विदेशी राहत दिन नेपाल आउँथे, कति अध्ययन अनुसन्धानका लागि भनेर आउँथे। त्यही भएर भूकम्पपछि पनि होटलहरूले व्यापार पाइरहेका थिए। तर अहिलेको अवस्थामा त्यस्तो छैन।
विस्तारै होटलका किचन बन्द हुने र त्यसको असर बजारको अन्य व्यापारसम्म पुग्नेछ। त्यस्तै व्यवसायी मात्र होइन, मजदुरसम्म पनि प्रभावित हुनेछन्।
व्यवसायीहरूलाई ऋणको किस्ता तिर्न समस्या हुनेछ भने मजदुरले नियमित तलब पाए पनि काम हुँदा पाउने अतिरिक्त कमाइ हुने छैन। होटल क्षेत्रमा धेरै मजदुरले टिप्स तथा सेवाशुल्कबाट पनि मनग्गे आम्दानी गर्थे।
हानकी अध्यक्ष राणाका अनुसार होटल क्षेत्रमा अहिले १ खर्ब बढीको ऋण छ। नेपालका पर्यटकस्तरीय होटलको संख्या ३ हजार ३ सय छ।
यति ठूलो लगानी रहेको क्षेत्र धेरै लामो समयसम्म समस्यामा रह्यो भने त्यसले बैंकिङ क्षेत्रलाई पनि प्रभाव पार्नेछ। होटलमा बैंकहरूको ठूलो ऋण लगानी छ।