भारत तथा तेस्रो मुलुकबाट वस्तु आयात नियमित भइरहे पनि नेपाली भन्सार विन्दुबाट आउन सकेको छैन।
नेपालका कतिपय भन्सार नाकामा तीन दिनदेखि वस्तु विदेशबाट आएपनि नेपाल छिर्न सकेका छैनन्। भन्सार कार्यालय तथा व्यवसायीहरूका अनुसार नेपालभित्रकै यातायात व्यवस्थित नहुँदा आयात प्रभावित भएको छ।
नेपाल सरकारले लकडाउनको घोषणा गरेको दिनदेखि भन्सारबाट नेपाली समान छुट्न कठिन भइरहेको छ। वीरगञ्जको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार तीन दिनदेखि भन्सार क्रस गरेका छैनन्।
'तीन दिनदेखि हामी त यही ड्युटीमै छौं। तर व्यापारीहरू नै सामान लिन आएका छैनन्। उनीहरूले गाडी चलाउने ड्राइभर नहुँदा समस्या भएको बताएका छन्' श्रेष्ठले भने।
व्यवसायीहरूले ट्रक चलाउने ड्राइभर डराएकाले भन्सारबाट सामान छुटाएर लिन कठिन भइरहेको बताएका छन्।
अधिकांश व्यवसायीका कन्टेनर भन्सार यार्डमै थन्किएका छन्।
जोखिम मोलेर ड्राइभर ट्रक चलाउन तयार भए पनि प्रहरी फिर्ता गरिदिने र पास नदिने समस्याका कारण पनि आपूर्ति अवरूद्ध भएको श्रेष्ठले जानकारी दिए।
वीरगञ्ज भन्सारबाट छुटेका तीन वटा ट्रकलाई १२ गते सिमराबाट फिर्ता पठाइएको थियो। ती ट्रक फेरि वीरगञ्जमै गएर थन्किएका छन्।
त्यस्तै, सामाजिक तथा पारिवारिक दबाबका कारण पनि ड्राइभर तयार नभएको व्यवसायीहरूले जानकारी दिएका छन्।
उनीहरूलाई कतिपय ठाउँमा अभद्र व्यवहार गर्ने तथा कुटपिटसम्म भइरहेको व्यवसायीहरूले बताएका छन्।
त्यस्तै, ढुवानीको क्रममा बाटोमा चिया खाने ठाउँसम्म नपाइने भएकाले निकै कठिन भएको व्यवसायीहरूले बताएका छन्।
काठमाडौं उपत्यकामा डिपार्टमेन्टल स्टोरको चेन भएको सेलवेज/सेल्सबेरीका करिब आधा दर्जन ट्रक भन्सारमै अड्किएका छन्।
ड्राइभर नपाइएका कारणले यहाँ सामान ल्याउन नसकिएको सेलवेजको प्रबन्धक भुवन अधिकारीले जानकरी दिए।
'ट्रक चलाउने चालक नै छैनन् भन्छन्। भए पनि पासमा कडाइ छ। यस्तो अवस्था धेरै दिन रहे हाम्रो पहिलेकै स्टकमात्र विक्री गर्नुपर्छ,' अधिकारीले भने।
भन्सार नाकाबाट ल्याउने मात्र होइन। काठमाडौं भित्रकै आपूर्ति व्यवस्था सञ्चालन गर्न कठिन भइरहेको व्यवसायीहरूले बताएका छन्।
खाद्यान्न उत्पादन तथा वितरणमा काम गरिरहेको निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले ढुवानी सेवा राम्रोसँग नचल्दा कारखानाबाट स्टोरसम्म पुर्याउन गाह्रो भइरहेको बताए।
'एकातिर चालकहरू नै तयार छैनन्। उनीहरूलाई ढुक्क हुने वातावरण बनाउन सकिएको छैन। यदि चालक पाइहाले पनि पास तथा अन्य व्यवस्थाले गाह्रो भइरहेको छ' बगरियाले भने।