६ महिनासम्म होटल बन्द गर्ने गरीगरेको निर्णयप्रति सरकारले असहमति जनाएपछि होटल संघ नेपाल (हान)ले भयावह अवस्था आउने चेतावनी दिएको छ।
आइतबार हानले ६ महिना होटल व्यवसाय बन्द गरी श्रमिकहरुलाई १२ प्रतिशत तलब दिने र त्यसमा असहमति जनाए कामदार नै कटौती गर्ने निर्णय गरेको थियो।
हानको उक्त निर्णयप्रति असहमित जनाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हानसँग सोमबार छलफल गरेको हो। छलफलमा हानका पदाधिकारीहरुले व्यवसायी र श्रमिक दुबै पक्षका कुराहरु सम्बोधन नभए भयावह अवस्था सिर्जना हुने चेतावनी दिए।
विश्वका धेरै होटल र पर्यटन व्यवसाय बन्द हुँदा कर्मचारी कटौती भइरहे पनि नेपालमा त्यो अवस्था सिर्जना हुन नदिन उचित निर्णय हुनुपर्ने हानले बताएको छ। अहिलेको समस्यालाई सबैले इमानदारीपूर्वक सम्बोधन गर्नुपर्ने हानका कानूनी सल्लाहकार गान्धि पण्डितले बताए।
होटल व्यवसायीहरुको समस्यामा आँखा चिम्लेर बसे अन्य क्षेत्रमा पनि आगो सल्किन सक्ने चेतावनी उनले दिए।
‘समस्यालाई सबैले इमानदारपूर्वक सम्बोधन गरेमा ठूलो समस्या हुँदैन तर आँखा चिम्लेर बस्यो भने भयावह अवस्था आउन सक्छ’ उनले भने ‘यो समस्या होटल व्यवसायीको मात्रै होइन अन्य क्षेत्रमा पनि सल्किन सक्छ। यसलाई समयमै सरकार र सम्बन्धित पक्षले ध्यान दिनुपर्छ।’
सोमबार हानका पदाधिकारी र सरकारी पक्षबीच ८, १० महिनासम्म होटल व्यवसाय बन्द भए के गर्न सकिन्छ भन्ने विषयमा गम्भिर छलफल भएको उनले बताए।
लामो समय होटल व्यवसाय बन्द हुने अवस्थामा सरकारले गर्न सक्ने सहयोगका विषयमा पनि छलफल भएको उनको भनाइ छ। व्यवसायी र श्रमिक दुबै पक्षलाई राहत पुग्नेगरी सहमतिमा पुग्न सकिने संकेत आजको छलफलबाट मिलेको उनले बताए।
‘‘समस्या होटल सञ्चालकहरुको मात्रै होइन, श्रमिक, व्यवसायी र राज्यको पनि हो, भोलि बेरोजगारीको अवस्था आउन सक्छ’ उनले भने।
अर्को बैठक बैशाख २९ गते बस्ने भएको छ। हानले आइतबार आगामी असोज मसान्तसम्म होटल व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो।
पूर्ण रुपमा होटल बन्द हुने अवस्थामा कामदारलाई १२ दशमलव ५ प्रतिशत मात्रै तलब दिने तर कामदारले त्यसमा असहमति जनाए आंशिक वा पूर्ण रुपमा कटौतीको प्रकृया सुरु गर्ने निर्णय पनि गरेको थियो। कोभिड—१९ को असर अहिले होटल व्यवसायमा पनि परेको छ।