सरकारले लकडाउन घोषणा गर्नुभन्दा अगाडि नै पदमार्ग बन्द गर्यो। कोरोना भाइरस रोकथामका लागि भन्दै सरकारले अकस्मात पदमार्ग बन्द गरेपछि आएका पर्यटक पनि गन्तव्यमा पुग्न पाएनन्। कोही बाटोबाटै फर्किए, कोहीले नेपाल घुम्ने योजना नै रद्द गरे।
कोरोना भाइरस रोकथामका लागि भएको लकडाउनले पर्यटन व्यवसाय सबैभन्दा धेरै मर्कामा परेको अर्थविद्हरु बताउँछन्। यो सिजन नेपालको पर्यटक सिजन भएको र नेपाल भ्रमण वर्षको उच्च प्रचार भएकाले पनि यस क्षेत्रमा ठूलो क्षति पुगेको उनीहरुको तर्क छ।
२० लाख पर्यटक भित्र्याउने महत्वकांक्षा सहित ‘नेपाल भ्रमण वर्ष २०२०’को सरकारी तयारी देखेर पदमार्गका पर्यटन व्यवसायी पनि हौसिए। ‘पोखरा क्यानोनिङ’का संचालक राम गुरुङले मर्दी पदमार्गको फरेष्ट क्याम्प (कोकार) मा हतार– हतार ‘होटल कोकार’ बनाए। झण्डै १ करोड लगानीमा होटल संचालनमा ल्याउनासाथ पदमार्ग बन्द भयो, नेपाल भ्रमण वर्ष २०२० रद्द भयो।
पर्यटकका पोर्टर भएर २०११ देखि लागेका तिर्थ गुरुङ झण्डै ८ वर्ष गाइड बने। पर्यटकको चाप र बस्ने, खाने ठाउँको अभाव देखेका उनले पनि मर्दी पदमार्गको हाइक्याम्प (३५५० मि.) मा यही वर्ष होटल खोले। कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरेसँगै होटलका काम अधुरो रह्यो। यही पर्यटन सिजनबाटै होटल चलाउने उनको धोको पनि अधुरै रह्यो।
पदमार्गका होटल, पर्यटकका पोर्टर र गाइडलाई अहिले धेरै समस्या परेको उनले बताए। ‘लकडाउन नभएको भए म होटलकै काममा व्यस्त हुन्थेँ’, तिर्थले सेतोपाटीलाई भने, ‘वर्षको ६ महिना मात्र काम पाउने पर्यटन क्षेत्रका मजदुर झनै धेरै समस्यामा परे।’
अन्नपूर्ण श्रृङ्खलामा रहेका पदमार्गमध्ये मर्दी हिमाल पदमार्ग छोटो समयमै धेरै चर्चा पाएको पदमार्ग हो। यो पदमार्गमा ३ देखि ५ दिनमा माछापुच्छ्रे हिमालको अगाडि रहेको मर्दी हिमाल बेसक्याम्प (४५०० मि.) उचाईमा छोटो समयमै पुग्न सकिन्छ।
पदमार्गमा रहेका रङ्गीचङ्गी लालिगुराँसका जंगल र पदमार्गबाट देखिने दृष्यले पदयात्रीलाई लोभ्याएको पर्यटन व्यवसायी बताउँछन्।
पोखरादेखि अष्ट्रेलियन क्याम्प, धम्पुस, कालिमाटी, सिदिङ, लान्दु्रक लगायतका बाटो भएर मर्दी पदयात्रामा जान सकिन्छ। झण्डै १० वर्ष अघिसम्म यस पदमार्गमा जाने पर्यटक होटलमा बास बस्न पाउँथेनन्। उनीहरु पदमार्गमा रहेका भेंडा, भैंसीको गोठमा बास बस्नुपर्थ्यो।
फरेष्ट क्याम्पस्थित मर्दी गेष्ट हाउसका ७१ वर्षीय होमबहादुर क्षेत्रीका अनुसार त्यतिबेला पर्यटक गोठमै बस्न पाउँदा पनि खुसी हुन्थे। क्षेत्री गोठमा भैंसी पालेर बस्थे। पछि उनले ‘टि हाउस’ खोले।
पर्यटक बढ्दै गएपछि विस्तारै होटलहरु खुल्न थाले। अहिले फरेष्ट क्याम्पमा मात्र निर्माणाधीन ५ वटा र चलिरहेका ७ वटा गरी १२ वटा होटल छन्। जहाँ दिनमा झण्डै ३ सय पर्यटक राख्न सक्ने क्षमता छ। तर यतिका क्षमता भएपनि पर्यटकको चाप भने सिजनमा दैनिक ५ सय बढी पुग्छ।
गत वर्ष मात्र क्षेत्रीले नेपाली पर्यटकलाई गोठमा सुताएको सम्झिए। ‘होटलमा कोठा पाएनन्, भैंसी गोठमा लगेर सुताएँ,' क्षेत्रीले भने, ‘विहान खुसी भएर उनीहरुले चकलेट दिएर गए।’
सिजनमै लकडाउन भएपछि अहिले पदमार्ग सुनसान बनेका छन्। ‘सरकारले लकडाउन गरेको पहिले पहिले थाहा थिएन’, वृद्ध पर्यटन व्यवसायी क्षेत्रीले भने, ‘होटलमा सामान ल्याएर राखेको सडेर जाने भयो।’ पर्यटकका लागि भनेर उनले २ दिनअघि मात्र सामान लगेका थिए।
‘लेक–लेकका होटललाई गाह्रो भयो’ क्षेत्रीले भने, ‘सरकारलाई पनि घाटा छ, हामीलाई पनि घाटा छ, सरकारले हेरिदिन्छ कि भन्ने आशा छ।’ पदमार्गका व्यवसाय वर्षको २ पटक मात्र चल्ने भएकाले पनि उनीहरु धेरै मर्कामा छन्।
मुख्य सिजनमै पदमार्ग बन्द हुँदा बढी समस्या आएको मर्दी पदमार्गकै रेष्टक्याम्पस्थित होटल रेष्ट क्याम्पका संचालक सन्तोष गुरुङले बताए। ‘मेरो होटलमा जम्मा ३० जनाको क्षमता छ’, सन्तोषले भने, ‘डाइनिङ टेवल समेत गरेर पोहोर ४०, ४५ जना राख्नुपर्थ्यो, अहिले शून्य छ।’
एउटा सिजनमा मात्र आफ्नो होटलमा १५–१६ लाखको कारोबार हुने गरेको उनले बताए। लकडाउनका कारण यस सिजन जस्तो सुनसान त अफसिजनमा पनि नभएको उनको अनुभव छ।
माछापुच्छ्रे ८ कालिमाटीस्थित पर्यटन व्यवसायी शिवप्रसाद भण्डारीको होटल मर्दी हिमाल इको भिलेजमा सरकारले लकडाउन घोषणा गर्दा ४ जना विदेशी पर्यटक थिए। कोरोना संक्रमण फैलनुअघि नै आएकाले उनीहरु त्यहाँ केही दिन बसेपछि पर्यटक प्रहरीसँगको समन्वयमा पोखरा झरे। चार जना मध्ये २ जना ८ दिन र २ जना १० दिन कालिमाटीमै बसेका थिए।
भण्डारीले कालिमाटीमा १ करोड ५० लाख लगानीमा होटल खोलेका थिए। सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० बाट हौसिएर उनले मर्दी पदमार्गकै डोडखर्कमा ६० लाख लगानी गरेर अर्को होटल पनि खोलेका थिए। ‘अहिले होटलको काम पनि रोकिएको छ, पर्यटक नआउने भएपछि के गर्नु,’ उनले भने।
गोठालोबाटै पर्यटन व्यवसायी बनेका अर्का व्यक्ति हुन् भक्तबहादुर गुरुङ। होटल फरेष्ट क्याम्पका संचालक भक्त गोठालो हुँदा नै पर्यटक आउन थालेका थिए। पर्यटकलाई सुविधा दिन भनेर उनले गोठ नजिकै चौरमा ‘क्याम्पिङ साइट’ चलाए। पर्यटकलाई चिया बेचे।
त्यतिबेला पानीको व्यवस्था थिएन। डेढ घण्टा उकालो– ओरालो हिँडेर पानी ल्याउनुपथ्र्यो। पर्यटक बढ्दै गएपछि होटल खोलेको उनले बताए। अहिले मर्दी पदमार्गमा मात्र ४३ वटा होटल छन्। केही नयाँ बन्दैछन्। दश वर्ष यता मात्र मर्दी पदमार्गमा होटल खुल्न थालेको उनले सुनाए ।
पदमार्गका होटल व्यवसायीले बैंक र सहकारीबाट ऋण लिएर होटल खोलेको बताएका छन्। ऋणको व्याजमा सहुलियत दिएर राहत दिन माग गरेका छन्। व्यवसायी राम गुरुङले नेपाल भ्रमण वर्षका लागि निजी क्षेत्रले गरेको लगानी खेर जाने अवस्था आएको बताउँछन्।
‘अब पर्यटन क्षेत्र तङ्ग्रिन कति वर्ष लाग्ने हो, हामीलाई सरकारले राहत दिनुपर्छ,’ गुरुङले भने, ‘पदमार्ग जोगाउन पदमार्गका व्यवसायीलाई पनि जोगाउन पर्छ।’
ट्रेकिङ एजेन्सी एसोसिएन अफ नेपाल (टान)का पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलले पर्यटन सिजनमै लकडाउन गर्नुपरेकाले अन्यत्र भन्दा धेरै क्षेति पर्यटन क्षेत्रमा भएको बताउँछन्। ‘यो लकडाउन असार साउनमा भएको भए पर्यटन क्षेत्रमा त्यति क्षति हुन्थेन,’ उनले भने, ‘चैत वैशाखमा परेकाले धेरै क्षेति बेहोर्नुपर्यो।’
सरकारले बजेट ल्याउँदा पर्यटन क्षेत्रलाई विशेष राहत पुग्नेगरी प्याकेज ल्याउन आफूहरुले माग गरेको उनले बताए। उनका अनुसार, पोखरामा मात्र अहिले १ सय ६७ वटा ट्रेकिङ एजेन्सी छन् भने पर्यटक गाइड र पोर्टरका रुपमा १ हजार ५ सय जनाले लाइसेन्स लिएका छन्।