लकडाउनका कारण बन्द रहेका उद्योगहरु अहिले आंशिक रुपमा सञ्चालनमा आउन थालेका छन्।
काठमाडौंको बालाजु औद्योगिक क्षेत्र र ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेका अधिकांश उद्योगहरु आंशिक रुपमा सञ्चालनमा आएका छन्।
सबै कामदार उपस्थित हुन नसक्ने र कच्चा पदार्थको अभाव भएका कारण अझैपनि उद्योग सञ्चालन गर्न समस्या रहेको उद्योगीहरुले बताएका छन्।
लकडाउनका कारण सबै उद्योग बन्द हुँदा अर्थतन्त्रमा असर परेको भन्दै सरकारले गत वैशाख २८ गतेदेखि ४२ प्रकारका उद्योगहरुले एक तिहाई श्रमिक राखेर सञ्चालन गर्न सक्ने निर्णय गरेको थियो। त्यससँगै सरकारले श्रमिक तथा कर्मचारीहरुको आवागमनलाई सहज बनाउन उपत्यका भित्र टाइमकार्ड समेत लागू गर्यो। तरपनि टाढाबाट आउनु पर्ने र उपत्यका बाहिर रहेका श्रमिकहरु उपस्थित नहुँदा उद्योगहरु पूर्ण सञ्चालनमा आउन सकेका छैनन्।
यस्तै उद्योग सञ्चालनका लागि कच्चा पदार्थको अभाव, उत्पादित वस्तुको वितरण एवं ढुवानीमा समस्या आउने गरेको उद्योगीहरुले बताएका छन्। तर पनि उपत्यकाको बालाजु औद्योगिक क्षेत्रमा ८१ वटा र पाटन औद्योगिक क्षेत्रमा ९५ वटा उद्योग सञ्चालनमा आएका छन्।
उद्योग सञ्चालन गरिए पनि कर्मचारीहरु आउन नसक्दा पूर्ण रुपमा सञ्चालन गर्न नसकिएको बालाजु औद्योगिक क्षेत्रमा रहेको पोलिथिन एण्ड प्लाष्टिक उद्योग प्रालिका प्रबन्ध निर्देशक प्रमोद घिमिरेले बताए। उनले लकडाउनमा काम नभएपछि आफ्नो घर गएका श्रमिकहरु आउन नसकेको बताए।
विस्कुट उत्पादन गर्ने कम्पनी नेबिको प्राइभेट लिमिटेडका महाप्रबन्धक केशब भट्टराइले लकडाउन सुरु भएको एक महिनापछि नै आंशिक रुपमा उद्योग सञ्चालन गरिएको बताए। उनले उद्योगको नजिक रहेका श्रमिकलाई बोलाई काम सुरु गरिएको बताए।
अहिले पनि सबै श्रमिकहरु काममा फर्कन नसक्दा पूर्ण रुपमा उद्योग सञ्चालन गर्न नसकिएको भट्टराईले बताए। उनले दैनिक रुपमा श्रमिकको स्वास्थ्य परीक्षण गरी काममा लगाइएको बताए।
निजी क्षेत्रका उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा आउन नसके पनि सरकारी लगानीको दुग्ध विकास संस्थानको ‘काठमाडौं दुग्ध वितरण आयोजना’ भने पूर्ण रुपमा सञ्चालनमा आएको छ। आयोजना प्रमुख तिर्थकुमार महर्जनले लकडाउनमा पनि दूध उत्पादनमा कुनै कमी नआएको बताए।
उद्योगमा काम गर्ने प्राविधिक जनशक्तिको अभाव हुन नदिएको र प्रशासनिक क्षेत्रमा पालैपालो गरी कर्मचारीहरु आउने व्यवस्था मिलाइएको उनले बताए। अहिले पनि दैनिक ७५ देखि ७६ हजार प्याकेट दूध उत्पादन भइराखेको प्रबन्धक महर्जनले बताए।
बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कायम मुकायम क्षेत्र व्यवस्थापक भोजराज विनाडीले औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरुको नियमित अनुगमन गर्ने गरिएको बताए। उनले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुमा कोरोना संक्रमणविरुद्ध सावधानी अपनाइएको बताए।
उनले अहिलेसम्म ८१ वटा उद्योगहरु आंशिक रुपमा सञ्चालन गरिएको बताए। अहिले उद्योगहरुमा सबै श्रमिक आउन सक्ने अवस्था पनि नरहेको र कच्चा पदार्थको समेत अभाव भएकाले पूर्ण रुपमा सञ्चालन गर्न समस्या रहेको बताए। उद्योगमा उत्पादन भएका वस्तुहरुको वितरण तथा ढुवानीका लागि टाइम कार्डका कारण समस्या भएको उनले बताए।
पाटन औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका केही उद्योगरुले भने श्रमिकहरुलाई उद्योगमै बस्ने व्यवस्था मिलाई उद्योग सञ्चालन गरेको पाइएको छ। पूर्ण वुड कभरिङ इन्ड्रस्टिजका सञ्चालक किरण स्थापितले श्रमिकहरुलाई उद्योग मै खाने र बस्ने व्यवस्था मिलाएर आंशिक रुपमा उद्योग सञ्चालन गरिएको बताए।
पाटन औद्योगिक क्षेत्रका प्रशासनिक अधिकृत प्रदीप पराजुलीले लकडाउन कायम हुँदा पनि पाटन औद्योगिक क्षेत्र भित्र सात वटा उद्योगहरु सञ्चालनमा आइरहेको बताए। उनले सरकारले उद्योगहरु सञ्चालन गर्न दिने भनेपछि आइतबार देखि करिब ९५ वटा उद्योगहरु आंशिक रुपमा सञ्चालनमा आएको बताए।
सबै उद्योगहरुमा कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिई सामाजिक दुरी कायम राख्ने र स्वास्थ्य सावधानीका उपायहरु अपनाएर काम गर्न आग्रह गरिएको तथा सोही अनुसार नै उद्योगहरु सञ्चालन भइराखेको उनको भनाइ छ।
सरकारले एक तिहाई कर्मचारी राखेर उद्योग सञ्चालन गर्न भनेपनि अझै केही उद्योगहरु सञ्चालनमा आउन भने सकेका छैनन्। बालाजु औद्योगिक क्षेत्रमा भित्र १ सय ३१ उद्योगहरु छन् भने पाटन औद्योगिक क्षेत्रमा १ सय २१ उद्योगहरु रहेका छन्।